कला - साहित्य

पाठक हृदयलाई थोरै द्रवित बनायो भने सफल ठान्नेछु : टेकनाथ दहाल

1616805807.jpg

टेकनाथ दहाल दुई दशकदेखि प्राध्यापन पेसामा आबद्ध छन्। २०५४ सालबाट नेपाली साहित्य लेखनमा सक्रिय दहालका यसअघि पुष्पाञ्जलि (कथा सङ्ग्रह), जिम्दो नेपालि भासा : अभियान र अभियन्ता जस्ता कृति प्रकाशित छन्। भाषिक र समालोचना लेखनमा विशेष दखल राख्ने दाहालका विभिन्न पत्रपत्रिकामा थुपै्र कथा प्रकाशित छन्।  ‘विवर्तन’ उनको पहिलो उपन्यास हो। दहालसँग सद्य प्रकाशित विवर्तनबारे नेपाल समयले गरेको कुराकानीः

NLG Insurance
Sampoorna Oil

‘विवर्तन’ उपन्यासको शीर्षक र यसको विषयवस्तुबारे प्रस्ट पारिदिनुस् न। 

‘विवर्तन’ शब्द वेदान्त दर्शन र भर्तृहरिको शब्द दर्शनमा पनि एउटा विशिष्ट अर्थमा व्यक्त भएको छ। वेदान्तले चराचर जगत्लाई अनिर्वचनीय ब्रह्मको विवर्त मान्छ भने भर्तृहरि शब्दब्रह्म नै अर्थ रूपमा विवर्तन भएको मान्यता राख्छन्। विवर्तनको अर्थ हुन्छ– भिन्न स्वरूपमा परिवर्तन हुनु अर्थात् दूध दहीमा परिवर्तन भएजस्तै। दूधबाट दही बन्छ तर एउटै गोरस भए पनि दूध र दहीमा अन्तर छ। त्यसैको लाक्षणिक अर्थमा उपन्यासको शीर्षक राखिएको हो। 

उपन्यासको विषयवस्तु महाभारतमा आधारित छ। जैविक रूपले पाण्डव पाण्डुका छोरा नभए पनि महाभारतप्रति आस्था भएका तमाम पाठक पाण्डवलाई पाण्डुकै नामबाट चिन्छन्। ‘विवर्तन’ मा महाभारतमा व्यासले वर्णन गर्न नभ्याएका कतिपय ससाना सन्दर्भ परिकल्पना गरिएको छ। उपन्यासमा ग्रामीण भेगमा प्रचलित लोकविश्वासले पर्याप्त स्थान पाएको छ। 

पौराणिक विषयमा उपन्यास लेख्ने हुटहुटी कसरी जाग्यो? 

यसलाई एउटा संयोगै भन्नुपर्छ। यसको श्रेय मैले त्रिभुवन विश्वविद्यालय समाजशास्त्र केन्द्रीय विभागका प्राध्यापक डा. विनोद पोख्रेललाई दिने गरेको छु। २०६३ तिर उहाँले नै मलाई एउटा गम्भीर तर मजाक प्रश्न गर्नुभएको थियो। त्यो समय थियो। मैले उपन्यासमा पनि यस विषयमा राम्रै प्रकाश पारेको छु। उहाँसँग भेट नभएको भए सम्भवतः यो उपन्यास जन्मँदैनथ्यो। 

उहाँको प्रश्नपछि मैले उपन्यासका पात्रहरूको खोजी गर्न थालें।  पृथासँग सङ्गत गरें। पाण्डु पढ्दा आफैंले भेटेका धेरै पात्र पाण्डुजस्तै पाएँ। उपन्यासमा प्रयोग भएका सबै पात्रसँग म परिचित छु। मलाई घरिघरि लाग्छ मानिसले मलाई नै देवव्रत पो भन्छन् कि! देवव्रतले त उपन्यासमा जितेको छ। 

व्यास नै प्रवेश नगरेको विषयलाई उजागर गर्न कत्तिको कठिन भयो? 

हैन, सबैभन्दा सजिलो रहेछ। किनभने त्यसमा राम्ररी खेल्न सकिन्छ। मान्नोस् न, कसैले भन्छ– म यसपालि रारा पुगेर आएँ। कुरो यत्ति हो, फुर्सदका बेला त्यो मानिस रारा घुम्न गएछ। काठमाडौंबाट रारा एकै पटकमा त पुगिन्न नि। बसमा गयो होला वा आफ्नै साधन लिएर गयो होला। बाटामा बास बस्यो होला। खाजा–खाना खायो होला। नेपाली भाषाको उद्गमस्थल मानिएको सिँजामा दुई रात बितायो होला। रारा पुगेकै विषयमा एउटा सिङ्गै पुस्तक तयार हुन्छ। तर भन्नेले भनिरहेको हुन्छ– म रारा गएर आएँ। 

हो, यस प्रकारका लेखनमा यस्तो रित्तो स्थानमा मजाले खेल्न पाइँदो रहेछ। भारतीय आख्यानकार अमिश त्रिपाठीका आख्यानभित्र प्रवेश गर्दा लाग्छ– कल्पनाको एउटा यति सुन्दर आख्यानघर पनि बनाउन सकिँदो रहेछ। महाभारतमै पनि वर्णनको बेजोड नमुना छ।

जब हामी महाभारतका पात्रलाई अगाडि राखेर लेख्न थाल्छौं त्यतिखेर हाम्रै वरिपरिका पात्र दिमागमा छिटो आउँछन्। त्यसमा हाम्रो समाज आउँछ नै। त्यसरी आएन भने त्यो लेखन पुनः महाभारत नै बन्छ। 

अहिलेको नारीवादी आन्दोलनले कोखमाथिको अधिकारको कुरा गर्छ। महाभारतमा त त्यो अधिकारको प्रयोग पृथाले नै गरेकी छ। पाण्डु सहयोगी बनेको छ। आज बाबुआमा झगडा परेर अदालत जाने परिस्थिति बन्यो भने बाबुले भन्छ– ‘बच्चा मेरो हो’। आमाले भन्छे– ‘तेरो भन्ने के प्रमाण छ?’ अब हामी आफूलाई चिनाउन डीएनए परीक्षण गर्न त जाँदैनौं। त्यसरी सम्बन्ध परिभाषित गर्न डीएनए परीक्षण गर्नुपर्ने भयो भने सम्बन्ध नामको चिज कहाँ रहला! त्यसैले कतिपय पौराणिक सन्दर्भ हाम्रो जीवनमा दोहोरिरहेका हुन्छन्। 

आज शुकनिको कमी पनि छैन। धृतराष्ट्र, पाण्डु, धर्म, पृथा, माद्री यी सबैलाई एउटा प्रवृत्ति मान्ने हो भने हामीले बाँचेको समाजमा पनि ती पात्र छन्। त्यसैले तिनका बारेमा लेख्न त्यति कठिन छैन।

‘विवर्तन’ महाभारतकै निरन्तरता हो?

महाभारतका रिक्तस्थानमा कल्पना गरेर आख्यानघर निर्माण गरिएकाले महाभारतकै पठनको निरन्तरता जस्तो लाग्छ। पढ्दै जाँदा पाठकलाई बिल्कुल नौलो पनि लाग्न सक्छ। सानो प्वालबाट पसेर मैले भित्र रमणीय गुफा निर्माण गरेको छु र अन्त्यमा पुनः त्यही सानो प्वालबाट बाहिर निस्किएको छु। 

जीवनको एउटा पाटो आनन्द र मनोरञ्जन पनि हो। साहित्यले त्यो आनन्द र मनोरञ्जन प्रदान गर्छ। मम्मटले कान्तासम्मित उपदेश त्यसै भनेका होइनन्। घरमा पत्नीले कुनै कुरामा ‘कन्भिन्स’ गर्दा कस्तो उपाय अपनाउँछिन्? त्यो कम काव्यमय हुन्छ! साहित्य त्यस्तै ‘कन्भिन्स’ हो। रमाइलो रमाइलो मै जीवनको महत्त्वपूर्ण कुरा भनेको छ यो उपन्यासले। 

भाषणमा पनि यस्तो हुन्छ। मञ्चमा भएका प्रायः सबै नेताले एउटै आशयका बोली बोल्छन् तर हामी पहिलो वक्ता बोल्नेबित्तिकै छोडेर हिँड्दैनौं नि। पछिसम्म धैर्यसाथ सुनिरहन्छौं। त्यसैले आनन्द लिन, समाज र पात्रहरूको प्रवृत्ति बुझ्न तथा लेखकको नौलो प्रस्तुति थाहा पाउन उपन्यास पढ्नैपर्छ। 

उपन्यासमा हाम्रै समाजका विशिष्ट पात्र छन्। तिनीहरूको प्रवृत्ति बुझ्न पनि उपन्यासकै पात्र सहयोगी हुन्छन्। मान्छेभित्र एउटा विशाल आध्यात्मिक संसार छ जसले सहीमा मानिसलाई मानिस बनाइरहेछ र त्यो विशिष्ट प्रकारको भएकाले मानिस एकअर्कामा बिल्कुल भिन्न पनि छ। यो भिन्नताको रहस्य उपन्यासमा छ। 

‘विवर्तन’ नारीवादी उपन्यास हो? पश्चिमी नारीवाद र उपन्यासमा वर्णित नारीवादमा के अन्तर छन्? 

उपन्यास पक्कै पनि नारीवादी छ। हामी पुराणमा अयोनिज सन्तानको कुरा पढ्छौं। विज्ञानले त्यसलाई स्विकार्दैन। धेरै प्राणीमा पुरुषको काम बीजाधानमा  सीमित हुन्छ। 

बीजाधान गरेकै भरमा कुनै नारी पुरुषको आर्जित धनदौलत बन्ने र बनाउने प्रक्रिया त ठिक होइन नि। ऊ पहिला मानिस हो र त्यसपछि नारी। पहिले नारी भएर पछि मानिस भएको त होइन। त्यसैले पहिले स्वतन्त्रता बराबरी उपभोग गर्नुपर्छ भन्ने हो। अर्काको इच्छामा अङ्कुश लगायो भने त्यहाँ बराबरीको कुरा बाँकी रहँदैन। 

महत्त्वपूर्ण कुरा हामीले वैयक्तिक स्वतन्त्रतालाई ख्याल गर्नैपर्छ। चाहे नारी होस् वा पुरुष। मानवीयताका नाताले एकले अर्कालाई आवश्यक सहयोग गर्नुपर्छ ता कि उसलाई जीवनदेखि विरक्त नलागोस्।

उपन्यासमा नारीवाद मात्रै पनि छैन। पाण्डुलाई यौनिक अल्पसङ्ख्यकका रूपमा हेर्न सकिन्छ। पृथा, माद्रीले गरेको सहयोग र पाण्डुप्रति उनीहरूका त्यागको सन्दर्भले धेरै कुरा भन्छ। दुःख पाएको मानिसलाई सहारा भएन भने ऊ कसरी बाँच्न सक्छ! पाण्डु स्वपीडक भएर पनि बाँचेको छ र पनि माद्री र पृथाको साथ छुटेको छैन। यहाँ पुरुष पनि स्वतन्त्र छन्। एकअर्काप्रति सहयोगी छन्। उपन्यासमा सहयोगी नारीवाद छ भने आजभोलिको नारीवादचाहिँ विरोध बढी भएको नारीवाद हो।

‘विवर्तन’मा पश्चिमी नारीवादको कुरा उठाइएको छैन। नारी र पुरुषलाई फरक जीवनको पाटोबाट व्याख्या गरिनु हुन्न। दुईमध्ये एक नहुने हो भने संसार कस्तो होला! 

एउटा लोकोक्ति छ– आमा सत्य बाबु विश्वास। आजसम्म कसैले आफूलाई चिनाउन डीएनए परीक्षण त गराएको छैन। पश्चिमी समाजभन्दा हाम्रो समाज निकै मर्यादित छ। 

उपन्यासमा धर्म, वायु, इन्द्र, अश्विनी सबै आएर पृथालाई सहयोग गरेका छन्। तर कुनै आग्रह–पूर्वाग्रह छैन। पृथा र माद्री पाण्डुसँग नगएको भए पनि हुने हो तर गए। पाण्डुलाई पनि जीवनदेखि विरक्ति लागेको छैन। 

साहित्यलेखनमा वादकै आवश्यकता किन? लोकतत्त्वका आधारमा पनि साहित्य सिर्जना हुन सक्दैन र? 

उपन्यासमा ऋषि, सन्न्यासी र वानप्रस्थीको तपस्याको विवरण छ। त्यहाँका पात्र हाम्रै समाजका जस्ता छन्। लोक भनेको पनि समाज हो। समाजबिना मानिसको परिकल्पना गर्न सकिँदैन। उपन्यासका पात्र पनि समाजबिना मानिस एक्लै बस्नै सक्दैन भन्ने अनुभूति गर्छन्। 

कौवाले बिस्टा गरिदियो भने अलच्छिनी लाग्छ भन्छन्। त्यसको विशेष अर्थ छ उपन्यासमा। साँच्चिकै अनिष्ठ नै त भएको छ। पाण्डुको विवाहको वेदी हाम्रो विवाह गर्दा बनाइएको वेदीजस्तै छ। भोजभतेर हाम्रो गाउँघरमा जसरी नै आयोजना गरिएको छ। यसरी उपन्यासले हाम्रै लोकजीवनलाई आत्मसात् गरेको छ। 

अहिले एउटा लहर चलेको छ– इतिहास र मिथकलाई जोडेर लेख्ने। यो शैलीलाई कुनै पश्चिमी वादसँग जोड्नु आवश्यक छैन। महाभारतमा आधारित भएर कालिदासले ‘अभिज्ञान शाकुन्तल’ लेखे। भासले रामकथामा आधारित भएर ‘प्रतिमानाटक’ लेखे। माघले ‘शिशुपाल वध’ महाकाव्य लेखे। 

यी त एकाध उदाहरण मात्रै हुन्। पुराना कथालाई पुनर्लेखन गर्ने प्रचलन संस्कृत साहित्यमा निकै पुरानो छ। यो पनि त्यस्तै प्रकारको लेखन हो। मूलकथाका रिक्त स्थानमा खेलेर कथाको आधारभूत स्वरूपलाई यथावत् राखिएको छ। यो सुदीर्घ परम्पराको निरन्तरता हो। 

यसलाई मनोविज्ञान, प्रकृतवाद, परिष्कारवाद, स्वच्छन्दतावाद आदिसँग पनि जोडेर हेर्न सकिन्छ। वात्स्यायनले समरत विषमरतको कुरा गरेका छन्। फ्रायडीय यौनविज्ञानले पनि त्यस्तै भनेको छ। पूर्व र पश्चिमका ज्ञान आपसमा जोडिएका छन्। त्यसैले मलाई लाग्छ कुनै नयाँ कुरा हुनेबित्तिकै त्यसलाई पश्चिममा चलेको आन्दोलन वा मान्यतासँग जोडिहाल्नु आवश्यक छैन।

यस्तो लेखन कुनै धर्म र सम्प्रदाय विशेषमा केन्द्रित हुन्छन् भन्ने पनि छन्। यसमा तपाईंको धारणा के छ? 

संस्कृत एउटा भाषा मात्रै हो। तर त्यस भाषामा सम्पूर्ण मानवको सार्वभौम सम्पत्ति सुरक्षित छ। आज ती सम्पत्ति कुनै हिन्दीमा त कुनै अङ्ग्रेजीमा रूपान्तरण भइरहेका छन्। संस्कृतका महत्त्वपूर्ण र गहन ग्रन्थ अङ्ग्रेजीमा अनुवाद भएका छन्। 

आजका मानिसले गर्न नसकेका गहन अनुभूति पनि त्यहाँ छ। अब त्यसलाई अलिकति साहित्यमा प्रयोग गर्दा भाषाका नाममा हुर्मत लिने काम राम्रो होइन। त्यही कुरा संस्कृतमा हुँदा एउटा जात र सम्प्रदाय विशेषको हुन्छ भनियो भने अङ्ग्रेजीमा पुग्दा के भयो त? त्यसैले ज्ञान र अनुभव सबै मानिस जातिका लागि महत्त्वपूर्ण र साझा हुन्छन्। 

पुराणबाट विषयवस्तु लिएर लेख्दैमा मौलिक हुँदैन भन्ने पनि होइन। विवर्तनमै महाभारत घटनाभन्दा बढी मेरा कल्पना छन्। अब यसलाई मौलिक भन्ने कि नभन्ने। जहाँ व्यासले चर्चै गरेका छैनन् मैले त्यहाँ कल्पना गरें। जुन घटनाको वर्णन महाभारतमा भएकै छैन, त्यो पनि कल्पना गरें। त्यसलाई कसरी मौलिक होइन भन्न मिल्छ? 

व्यक्तिका प्राकृतिक गुणअनुसारको स्वतन्त्रता कुनै धर्म, जात, भूगोल र समुदायसँग जोडिनु हुन्न। बाँकी रह्यो कुनै सिर्जनामा जातीय र साम्प्रदायिक कुराको। निश्चय नै सर्जकले आफ्नो परिवेश लेख्छ। जहाँ ऊ बाँचेको छ सबैभन्दा पहिले उसको दिमागमा त्यही परिवेश आएको हुन्छ। हामी पश्चिमा लेखकको लेखनमा हाम्रा संस्कार र संस्कृति त पाउँदैनौं नि। त्यहाँ उनीहरूकै वर्चस्व हुन्छ। हामीले पनि आफ्नै कुरा लेख्ने हो। 

उपन्यासमा नेपाली समाज अनुकूल विशेषता केके छन्? 

सबैभन्दा पहिले त राजनीति। पृथाले गरेकी समाख्यानमा नेपाली राजनीतिको विद्रुप पक्षको आभास हुन्छ। हिमाली भेगको जीवनशैली निकै कष्टकर हुन्छ। धर्म भारी बोकेर गुजारा चलाउने हाम्रै समाजको प्रतिनिधि पात्र बन्यो। उसको घरको कथा हाम्रा समाजका विपन्न वर्गका मानिसका जस्तै छन्। 

हस्तिनापुरमा भएको विवाहमा हाम्रै संस्कार र संस्कृति झल्कन्छ। धर्म बसेको एकान्त गुफालाई घरबाट बाहिर दुःख गरेर पढ्न बसेको एउटा बैंसालु विद्यार्थीको कोठासँग तुलना गर्नुभयो भने उसका मनोरचनाको चिरफार गर्न अझै सजिलो होला।

पृथा, माद्री, पाण्डु, धर्म, वायु, इन्द्र सबै हाम्रै समाजका पात्र हुन्। ती पात्रका बारेमा नखोतलिएको मात्रै हो। भूगोलको वर्णनमा पनि नेपालका धेरै स्थान आएको छ। उपन्यासमा महाभारत कम र नेपाली समाजको प्रवृत्ति बढी प्रयोग गरिएको छ। 

‘विवर्तन’ पाठकको मनमनमा रहिरहने आधार के हुन्?

लेखकका लागि यो जटिल प्रश्न हो। साहित्य पठन बौद्धिक विलास र मनको विरेचन विषय हो। साहित्यको रुचि व्यक्तिको स्वभावअनुसार हुन्छ। मलाई जुन कृति मन पर्छ अरूलाई त्यो मन नपर्न सक्छ। 

पाठकले पाठकले कृतिभित्र आफूलाई पायो भने त्यसलाई निकै महत्त्व दिएर पढ्छ, पाएन भने त्यसलाई वास्ता गर्दैन। 

पूर्वीय रससिद्धान्त, रिचर्डसको मूल्यसिद्धान्त वा अरिस्टोटलको विरेचन सिद्धान्तको सार पनि यही हो। कुनै कृतिले पाठकलाई सन्तुष्टि दिनुको अर्थ हो त्यसभित्र पाठक पनि छ, पाठकमा साधारणीकरण भएको छ, पाठकलाई विरेचन भएको छ र पाठकका एषणाको समन भएको छ। विवर्तनले धेरै पाठकलाई विरेचन गर्न सक्यो वा साधारणीकरण भयो वा एषणाको समन गर्न सक्यो भने  मनमनमा रहनेछ। पाठकले खोजीखोजी पढ्नेछन्। 

कस्ता उमेरका पाठकले बढी रुचाउलान्?

मेरो के दाबी छ भने विवर्तनको शृङ्गारिक प्रसङ्गले युवापुस्तालाई आकर्षण गर्र्न सक्छ। वेदान्त योग दर्शनले दर्शनका विद्यार्थीलाई आकर्षण गर्न सक्छ। जीवनमा धर्म, वायु वा इन्द्र बन्नेले आफ्नै कथा ठान्लान्। पृथा र माद्री बनेका छन् जीवनमा तिनले पनि निकै मजा लिएर विवर्तन पढ्लान्। 

देवव्रतको चरित्रले देशभक्तिमा रमाउनेलाई आकर्षित गर्ला। साहित्यानुरागीलाई त वर्णन र शैली तथा भाषाले आकर्षित गर्ला। कतिलाई विचारले आकर्षित गर्न पनि सक्छ। पाठकले आफ्नो स्वभाव र रुचिअनुसार ‘विवर्तन’ पढ्नेछन् भन्नेमा म विश्वस्त छु। 

उपन्यास पढ्दा पाठक हृदयलाई अलिकति पनि द्रवित बनायो भने वा बुद्धिमा अलिकति पनि तर्क जन्माउन सक्यो भने आफू सफल भएको ठान्नेछु। यसले मलाई अझै जिम्मेवार बनाउनेछ हौसला पनि बढाइदिनेछ।

प्रतिक्रिया दिनुहोस्