काठमाडौं – वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले नेपालमा रहेका सिमसार क्षेत्र अतिक्रमण हुने तथा नासिँदै गएकाले त्यसको संरक्षणमा सबै लाग्नुपर्ने बताएका छन्।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले विश्व सिमसार दिवसका अवसरमा आज आयोजना गरेको कार्यक्रममा मन्त्री आलेले जैविक विविधताको संरक्षणका लागि सबै तह र तप्काबाट सिमसार क्षेत्र जोगाउनुपर्नेमा जोड दिए।
सिमसार क्षेत्र संँगसँंगै चुरे संरक्षण क्षेत्रको पनि दोहन भइरहेकाले चुरे संरक्षणमा ध्यान दिन जरुरी रहेकामा जोड दिँदै उनले सिमसार क्षेत्र तथा तराई चुरे संरक्षणका लागि मन्त्रालयले अहम् भूमिका खेलिरहेको बताए।
सिमसार तथा चुरे क्षेत्रको संरक्षणका लागि मन्त्रालयले थप बजेटको समेत व्यवस्थापन गर्ने तयारी गरेको जानकारी उनले दिए।
कार्यक्रममा वन सचिव डा. विश्वकान्त ओलीले सिमसार क्षेत्रको संरक्षणका लागि मन्त्रालयबाट विभिन्न प्रयास भइरहेको जानकारी दिए।
राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव शरद अधिकारीले सिमसार संँगसँंगै पानीको पनि संरक्षण हुनुपर्ने बताए।
वन तथा भूसंरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काले सिमसार क्षेत्रको संरक्षणका लागि मन्त्रालयबाट थप बजेट विनियोजन गरी कर्मचारी खटिनुपर्ने धारणा राखे। ‘नेपालमा पानीको बढी खपत छ, पानी र सिमसारलाई संँगसंँगै राखेर संरक्षण गर्नु जरुरी देखिन्छ,’ उनले भने।
यस वर्ष ‘पानी, सिमसार र जीवन’ भन्ने मूल नारासहित विश्व सिमसार दिवस आज मनाइँदै छ।
सन् १९९७ देखि रामसार महासन्धिमा हस्ताक्षर भएको दिनलाई आधार मानेर नेपालले हरेक वर्ष फेब्रुअरी २ मा दिवस मनाउँदै आएको छ। सिमसारको विश्वस्तरमै संरक्षण गर्न सन् १९७१ मा जलपक्षीको वासस्थानसम्बन्धी सिमसार (रामसार) महासन्धि भएको थियो।
सो महासन्धिमा १६९ देश सामेल भएका थिए। नेपाल भने औपचारिकरूपमा सन् १९७१ मा महासन्धिको सदस्य बनेको हो। रासस