संवाद

एमाले फुट्दैन, माधव–झलनाथको राजनीति सकिन्छ : महेश बस्नेत

1616310796.jpg

एमाले केन्द्रीय कमिटीले वरिष्ठ नेता माधवकुमार नेपाललगायत चार नेताहरूसँग स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। औपचारिक रूपमा विभाजन नभए पनि अध्यक्ष एवम् प्रधामन्त्री केपी शर्मा ओली गुट र माधव नेपाल–झलनाथ गुट नेताकार्यकर्ता तानातानमा व्यस्त छन्। पार्टी राजनीतिबारे कार्यकर्ता पनि अन्योलमा छन्। यस्तो अवस्थामा अबको एमाले रणनीति, पार्टी एकता बचाउन भइरहेका पहललगायतका विषयमा एमाले केन्द्रीय कमिटी सदस्य महेश बस्नेतसँग नेपाल समयका लागि बीपी अनमोलले गरेको कुराकानीको सम्पादित अंश : 

एमाले विभाजनकै स्थितिमा पुगेको हो?

एमाले विभाजनको स्थितिमा पुगेको होइन। विभाजनको स्थिति पार गरेर सग्लो एमाले बन्ने ऐतिहासिक अवस्थामा पुगेको छ। अब यसलाई हामीले कसरी उपयोग गर्छौं भन्ने महत्त्वपूर्ण सरोकार हो। माधव कमरेडहरूले राष्ट्रिय कार्यकर्ता भेलाका नाममा गुटगत गतिविधि गर्दै जनसंगठनका समानान्तर कमिटी बनाउने लगायतका काम गर्नुभयो।

त्यसबाट सच्चिएर आउनुभयो भने एमाले मजबुत बनाउने सबैभन्दा महत्त्वपूर्ण अवसर हुनेछ। उहाँहरूले त्यसो गर्नु भएन भने एमाले त फुट्दैन, तर झलनाथ र माधव नेपालको राजनीति सकिनेछ।

उहाँहरू समानान्तर हिसाबले हिँड्ने वातावरण कसरी बन्यो?

मदन भण्डारीको जनताको बहुदलीय जनवादको आलोकमा पाँचौं महाधिवेशनबाट कार्यक्रम तय भयो। छैटौं महाधिवेशनदेखि कार्यनीतिक रूपमा अगाडि बढेर मार्गनिर्देशक सिद्धान्त बन्यो।

आठौं महाधिवेशनमा पार्टीभित्र आन्तरिक जनवादको प्रयोग व्यवस्थित ढंगले गर्नुपर्छ, बहुपदीय संरचना कार्यकर्ताबाट अनुमोदन हुनुपर्छ भन्ने लगायतका विषय प्रस्तुत भएका थिए। त्यहींबाट नेकपा एमाले अगाडि बढेको हो। 

त्यसकै आधारमा पार्टीभित्र गुटगत अभ्यास गरियो। गुटगत गतिविधि गरिरहँदा अराजकता र उच्छृङ्खलता पार्टी जीवनको अंगजस्तो बन्न पुग्यो। हामीले त्यसलाई नियन्त्रण गर्न सकेनौं।  कम्युनिस्ट पार्टीभित्र यो एकदम गलत हो। १५ वर्ष र १२ वर्ष नेतृत्वमा रहेका माधव नेपाल र झलनाथ खनालले गुटको नेतृत्व गरेपछि नियन्त्रण गर्न गाह्रो भयो। 

माधव-झलनाथपक्ष त २०७५ जेठ २ अघि नै फर्किनुपर्छ भनिरहेको छ नि?

यो विरोधाभासपूर्ण छ। उहाँहरू जन्मेको बच्चालाई पेटभित्र हालौं भनिरहनुभएको छ। हामी अब २०७५ जेठ २ गतेको अवस्थामा फर्किन मिल्दैन। नेकपा एकीकरणको प्रक्रियाले वैधानिकता प्राप्त गर्न नसकेको विषयमा सर्वोच्चले आदेश दिएपछि एमाले जीवित हुन पुग्यो। एकीकरण गर्ने हो भने १५ दिनभित्र जाने र नगर्ने हो भने आफ्नो पार्टीलाई अद्यावधिक गर्नुपर्ने आदेशको आशय छ। 

यसै क्रममा प्रधानमन्त्री ओलीले पुष्पकमल दाहाल र माधव नेपाललाई फोन गरेर एकीकरण लगायतका विषयमा गफ गर्न खोज्नुभयो। तर दाहालले गलत हिसाबले मिडियाबाजी गर्नुभयो भने नेपालले कमजोरी ठान्नुभयो। दुवैतर्फबाट लचकता देखाउने काम भएन। 

नेकपा एकीकरणमा सहभागी भएका धेरै साथीहरू एमालेमा हुनुहुन्छ। २३ भन्दा बढी केन्द्रीय सदस्य र १३–१४ जना प्रदेश सांसदहरू पार्टीमा आएको अवस्थामा स्थान दिनुपर्छ। यसमा आपत्ति जनाउनुपर्ने कुरा केही छैन। अब त सबै साथीहरूलाई समेटेर जिल्ला, जनसंगठलगायतका कमिटीलाई अनुमोदन गर्ने, अद्यावधिक गर्ने, जिम्मेवारी दिने विषयमा केन्द्रित हुनुपर्छ। 

माओवादीबाट आएका साथीहरूलाई जिम्मेवारी दिँदा विधि र प्रक्रिया मिच्ने काम भएको होइन? 

विधानले जुनसुकै पार्टीमा रहेका साथीहरूलाई पनि समान मान्यता अथवा समान पदीय हैसियतमा राख्नुपर्छ भनेको छ।

उहाँहरूले अहिले एमाले भएर काम गरिरहनुभएको छ। पद नै छाड्छु भनेर आइसकेपछि उहाँहरूलाई हामीले फरक हिसाबले हेर्न आवश्यक छैन। त्यसैले पद दाउमा राखेर पार्टी प्रवेश गर्नेलाई उच्च सम्मान गर्नुपर्छ। 

यस्तो निर्णय अर्को पक्षलाई औपचारिक जानकारी दिएर पनि गर्न सकिन्थ्यो नि?

उहाँहरूलाई बैठकको खबर भएकै हो। तर, बैठकमा सहभागी हुने भन्दा पनि उहाँहरू के निहुँ पाऊँ र कार्यकर्ता भेला सफल बनाऊँ भन्नेतर्फ लाग्नुभयो। उहाँहरू पार्टी एकतालाई बलियो बनाउने हिसाबले आउने सम्भावना थिएन। उहाँहरू र दाहाल कमरेडको मायापिरती यति मजबुत भइसकेको थियो कि त्यसलाई तोड्ने कुरा धेरै कठिन थियो।

दाहाल कमरेडका सार्वजनिक अभिव्यक्ति पनि त्यस्तै देखिन्छ। उहाँहरूको योजना एमाले कब्जा गर्ने या एमालेबाट ठूलो पंक्ति लिएर गएर माओवादी प्रवेश गर्ने देखिन्छ। औपचारिक जानकारी दिइएन भन्नु बहानाबाजी मात्रै हो।

माधव–झलनाथ समूह दाहालसँग मिल्न खोजेकै कारण तपाईंहरू लचिलो बन्न नखोजेको हो?

उहाँहरूले प्रधानमन्त्रीविरुद्ध हरेक तहमा प्रचार र खण्डन गर्नुभयो। भेला गर्नुहुन्छ। उपलब्ध केन्द्रीय र स्थायी कमिटी बैठक भन्नुहुन्छ। अर्याल होटल भन्नुहुन्छ।

दाहाल कमरेडले विभिन्न ठाउँमा गम्भीर कुरा गर्दा उहाँहरूले खण्डन गर्न आवश्यक ठान्नुभएन। अदालतको फैसलापछाडि माधव नेपालहरूलाई एमालेमा फर्किने–नफर्किने भन्ने द्विविधा थियो। भीम रावलले त सदनमै प्रधानमन्त्री कुन पार्टीको भनेर सोध्नुभयो।

सांसदहरूको ठूलो पंक्ति र कार्यकर्ताले मिल्नपर्छ भनेपछि मात्रै उहाँहरू एमाले हुन आउनुभएको हो। आमकार्यकर्ता पंक्ति पार्टी विभाजित नहोस् भन्ने चाहन्छ। तर माधव कमरेडहरूको बढी साँठगाँठ दाहालतिरै छ।

उहाँहरूका गतिविधि एमालेलाई भन्दा पनि माओवादीलाई फाइदा हुने खालका छन्। मलाई लाग्छ– एमालेको पंक्ति यति सशक्त छ कि उहाँहरूका त्यस्ता हर्कतलाई सचेतना र विवेकपूर्ण हिसाबले हेरिरहेको छ। 

उहाँहरू जबज र मदन भण्डारीको कुरा गरेर एमालेलाई कमजोर बनाउने प्रयत्न गरिरहनुभएको छ। उहाँहरूले उतै सहयोग पुग्ने भूमिका खेल्नुभयो भने पनि सिता यताको खाने र गीता उताको गाउने जस्तो हुन्छ।

तपाईंहरूको चाहना पनि माधव–झलनाथ समूह उतै जाओस् भन्ने हो र?

माधव–झलनाथ माओवादीतिर जानुभयो भने एमालेलाई भन्दा उहाँहरूलाई नै बढी नोक्सान हुन्छ। हाम्रो चाहना त्यस्तो होइन। कम्युनिस्ट पार्टीलाई अनुशासित बनाउन गुटगत भेला र समानान्तर कमिटी नबनाऔं भन्ने हो।

प्रधानमन्त्री ओलीले म सधैंका लागि पार्टीको नेता होइन, निश्चित अवधिपछि छोड्छु भन्नुभएकै छ। एमाले पुनर्जीवित नभएको भए एक कार्यकाल अध्यक्ष र एक कार्यकाल प्रधानमन्त्री भन्ने उहाँको एजेन्डा हो।

अहिले माधव–झलनाथले आउँदो चुनावपछाडि प्रधानमन्त्रीको उम्मेदवार र पार्टी अध्यक्षको उम्मेदवार ओली नै हो भन्ने ठाउँमा पुर्‍याउनुभएको छ। यस्तै एकताबद्ध एमाले बनाऔं र एमालेको मजबुत संगठनलाई जनताका बीचमा लैजाऔं र त्यसकै आधारमा मुलुकमा समृद्ध बनाऔं भन्ने हो।

फागुन २८ को निर्णय बदर हुनुपर्ने उहाँहरूको अडानमा तपाईंहरूको धारणा के हो?

हामी धेरै अगाडि बढिसक्यौं। महाधिवेशन आयोजक कमिटी बनिसकेको छ। अध्यक्ष र महासचिवबाहेक अरू पदाधिकारीको पद कायम नरहने स्थिति छ। केन्द्रीय कमिटीले माधव नेपालसहितका चार नेतासँग स्पष्टीकरण सोधेको छ।

त्यसैले अब २८ गतेको निर्णय बदर हुने स्थिति देखिँदैन। उहाँहरूले आफ्ना कमजोरी स्वीकारेर आत्मालोचना गर्दै पार्टीमा फर्किने बाहेक अर्को विकल्प छैन।

स्पष्टीकरण सोध्ने निर्णय भएपछि उहाँहरू सहजै आउनुहोला त?

उहाँहरूसँग अन्य विकल्प नै छैन। कि सुध्रिएर आउनुपर्‍यो कि त राजनीतिक जीवन नै समाप्त पार्नुपर्‍यो। आमकार्यकर्ता पंक्तिले पनि उहाँहरूलाई पार्टी विभाजित गर्ने कुरामा सहयोग गर्दैनन्। सुध्रिएर आउन दबाब दिन्छन्। राष्ट्रिय कार्यकर्ता भेलामा उहाँहरूका मानिसले दिएको सन्देश पनि त्यही हो।

एकता बचाउन ओली पनि लचिलो बन्नुपर्ने होइन र?

ओलीले आफ्ना कुरा स्पष्ट पारिसक्नुभयो। ‘विगतका कुरा बिर्सिदिएँ, मलाई जहाँबाट पनि हटाउने? धन्न मेरो नागरिकता नै खारेज गरिदिएनछन्। अविश्वासका प्रस्ताव पनि नसकेर नल्याएका हुन्। आमकार्यकर्तामा सरकार र मेरो लोकप्रियता देखेका कारण साथीहरू ब्याक भएका हुन्। म यी सबै कुरा बिर्सन तयार छु।’

ओली यहाँभन्दा कति लचक हुनु? तर, गुटगत गतिविधि, भेला, जनसंगठनको समानान्तर कमिटीचाहिँ उहाँलाई सह्य छैन। 
ओलीले प्रतिशोध साँध्न खोजेको भन्ने माधव–झलनाथको आरोप कति सत्य छ? 

उहाँहरू राजनीतिक विश्लेषणमा विफल हुनुभयो। नेकपामा हुँदा पनि उहाँहरूले केपी ओलीलाई एक्ल्याउने गतिविधि गर्नुभयो। विधानको भावनाअनुुसार पार्टी चलाउन खोज्नुभयो। संसद् विघटन भएर निर्वाचनमा जानु उहाँहरूका निम्ति ठूलो चुनौती बन्यो।

सर्वोच्च अदालतको फैसलापछि उहाँहरूले लड्डु खादै खुसीयाली मनाउनुभयो। कांग्रेस सभापतिलाई प्रधानमन्त्रीको अफर गर्नुभयो। अदालतको २३ गतेको आदेशपछि उहाँहरूमाथि ठूलो प्रहार भयो। यस्तो परिवेशमा राजनीतिक अपरिपक्वता देखिएपछि उहाँहरूमा छटपटाहट देखिएको छ। त्यसैले अहिले त उहाँहरूले नै प्रतिशोध लिइरहनुभएको छ।

राष्ट्रिय कार्यकर्ता भेलामा पनि उहाँहरूले प्रधानमन्त्रीलाई गलाउने, झुकाउने, चुकाउने, बदनाम गराउने, अपहेलित गर्ने हर्कत दोहोर्‍याउनुभयो। भेलामा १७ बुँदे दस्तावेज प्रस्तुत गरेर प्रधानमन्त्रीको बदनाम गराउनुभयो। सार्वजनिक भाषणमा पनि गालीगलौज मात्र गरिरहनुभएको छ। 

यस्तो अवस्थामा एमाले एक भएर अघि बढ्न सक्छ त?

अरू उपाय नै छैन। गुटगत गतिविधिमा संलग्न नेताहरूले आफ्ना कमजोरी स्वीकारेर आत्मालोचित हुँदै पार्टीको मूल प्रवाह र गतिमा हिँड्न सहमत भएपछि समस्या समाधान भइहाल्छ।

व्यवहारतः त्यस्तो देखिएको त छैन नि होइन?

माधव–झलनाथ अहिले सेना भएको सेनापति हुनुहुन्छ। आउनुभएन भने सेनाविहीन सेनापतिमा परिणत हुनुहुनेछ। कृष्णभक्त पोखरेल लगायतका साथीहरूले प्रधानमन्त्रीलाई साथ दिने प्रतिबद्धता गर्नुभयो। अन्य धेरै साथीहरू पार्टीको मूल गतिमा हिँड्नेछन्। अनि उहाँहरू सेनाविहीन सेनापति हुनुहुनेछ। त्यसपछि उहाँहरूसँग पश्चात्तापबाहेक केही बाँकी रहँदैन। 

समानान्तर गतिविधि हुँदै गर्दा आमकार्यकर्ताले एमाले विभाजनकै अवस्थामा पुगेको भनेर बुझ्छन् नि होइन?

समानान्तर गतिविधि गर्नु उहाँहरूको गम्भीर त्रुटि हो। एमालेमा महाधिवेशनबाट निर्वाचित अध्यक्ष र संसदीय दलको नेता नमान्ने, समानान्तर कमिटी बनाउँदै जाने, भेला गर्दै जाने, प्रधानमन्त्रीलाई खरो हिसाबले आरोप लगाउने चरण सकियो। त्यस कारण विभाजनको अवस्थामा पुगेको छैन। उहाँहरू नै मासिने अवस्थामा पुग्दै हुनुहुन्छ।

प्रधानमन्त्रीले बढी नै पेलेर जान खोज्नुभएको हो?

मलाई लाग्छ– ओलीको ठाउँमा माधव नेपाल भए त झन् बढी गर्नुहुन्थ्यो होला। नेकपा हुँदा पनि कारबाही गरिसक्नुभएको थियो। प्रधानमन्त्रीसहित हामी सबैलाई उहाँले धुलोपिलो बनाइसक्नुहुन्थ्यो होला।

प्रधानमन्त्रीले त विधि–पद्धतिलाई अवलम्बन गरौं। स्वीकारौं र आफ्नो कमीकमजोरी आत्मालोचना गरेर आऊ भन्नुभएको छ। उहाँहरूले यसलाई स्वाभाविक हिसाबले नै लिनुपर्छ।

अविश्वासको प्रस्ताव दर्ता भएपछि मत लिँदा एमालेभित्र पनि फ्लोर क्रस हुने सम्भावना कत्तिको देख्नुहुन्छ?

अहिले त्यो अनुमान नगरौं। भइहाल्यो भने फ्लोर क्रस गर्ने साथीहरूको राजनीतिक भविष्यमाथि प्रश्न उठ्छ। उहाँहरूमाथि पार्टीले पनि कडा एक्सन लिन्छ।

तर अहिले माओवादी केन्द्र सबैभन्दा बढी धर्मसंकटमा छ। उसले न अविश्वासको प्रस्ताव ल्याउन सक्छ न विश्वासको मत फिर्ता लिन सक्छ। त्यसैले प्रधानमन्त्री त सुरक्षित नै हुनुहुन्छ।

अर्को कुरा राजनीतिमा अर्काले राजीनामा देला र त्यो ठाउँ आफूले खाउँला भन्ने आस राख्नु  गलत हो। राजनीतिमा लडेर जनताको मन जित्नुपर्छ। प्रधानमन्त्री पनि सांसदहरूको मन जितेर नै हुने हो। त्यसमा पार्टीको संस्कृति बिर्सने साथीहरूको राजनीतिक भविष्य नै समाप्त हुनेछ।

त्यसो हुँदा त प्रधानमन्त्रीले विश्वासको मत लिनुहुन्छ। प्रधानमन्त्रीले नै स्पष्ट रूपमा भन्नुभएको छ– म विश्वासको मत लिन्छु, लिन सकिन भने पनि सत्ताका लागि मरिहत्ते गर्दिनँ। 

चुनावमा जाने अवस्था आयो भने एमालेभित्रको समस्या कसरी समाधान होला?

विधि-पद्धतिअनुसार सञ्चालन भए पार्टी बलियो हुन्छ। भौतिक शरीर एमालेतिर देखिने  तर मनजति अर्कैतिर लैजाँदा एक हुन सकिँदैन। अब एमालेका गतिविधि तीव्र रूपमा अगाडि बढाउनुपर्छ। कमिटीहरू सक्रिय भएर अगाडि बढिसकेका छन्। एमाले नयाँ हिसाबले सशक्त भएर अगाडि बढ्छ। 

प्रतिक्रिया दिनुहोस्
थप समाचार
लेखकबाट थप
ताजा अपडेट