बिहीबार, वैशाख ६, २०८१

बलिउडमा जम्दै नेपाली संगीतकार प्रवेश मल्लिक

एमबीबीएस पढ्न गएको छोरो संगीतमा लाग्छु भन्दै घर फर्किएपछि बुवाले देखाएको आक्रोश प्रवेशले अझै विर्सिएका छैनन्।
 |  शनिबार, माघ १७, २०७७

जयन्त ठाकुर

जयन्त ठाकुर

शनिबार, माघ १७, २०७७

जनकपुरधाम-  मुम्बई अर्थात धेरैका लागि सपनाको सहर। भारतको व्यावसायिक राजधानी मुम्बईमै छ बलिउड फिल्म इण्डस्ट्री जहाँ प्रवेश पाउन विश्वभरबाटै प्रयास भइरहेका हुन्छन्। बलिउडले चाह्यो भने कसैलाई रातारात चर्चा दिलाउन सक्छ, नाम र दाम दुबै दिनसक्छ। अहिलेसम्म बलिउडमा नेपालीले स्थान नबनाएका चाहिँ होइनन्, तर ती नामहरु औंलामा गन्न भ्याइने छन्। 

triton college

पछिल्लो समय बलिउडमा आफ्नो स्थान बनाउँदै गरेका अर्का नेपाली हुन्, जनकपुरका प्रवेश मल्लिक ।

हालै रिलिज भएको सलमान खान प्रोडक्सन निर्मित फिल्म ‘कागज’ मा संगीत दिएपछि उनी चर्चित भएका छन्। ‘कागज’को निर्देशन सतिश कौशिकले गरेका हुन् ।

प्रवेश मल्लिकको संगीत रहेका कागजका गीतमा उदितनारायण झा, अलका याज्ञिक, अरिजित सिंह, ऋचा शर्मा, बप्पी लहरी, दिव्या कुमार, नेहा कक्कड लगायतले आवाज दिएका छन् ।  

‘कागज’पछि प्रवेश फिल्म ‘बनारस भेनिला’ र केही वेब सिरिजको काममा व्यस्त छन् ।

corrent noodles
Metro Mart

बलिउडसम्मको यात्रा

धनुषाको जनकपुरधाम–४ क्याम्पस चौकका स्थायी वासिन्दा प्रवेशले विरासतमै सांगीतिक वातावरण पाए पनि बुवा कामेश्वर मल्लिक छोरालाई डाक्टर वा इन्जिनियर बनाउन चाहन्थे ।

वभनगामा विद्यालय र जनकपुरकै मोनाष्टिक विद्यालयबाट उच्च माध्यमिक तहको पढाइ पूरा गरेका प्रवेश एमबीबीएस अध्ययनका लागि बांग्लादेश गए। तर, संगीतप्रतिको रुचीले उनलाई डाक्टर बन्न सहयोग गरेन। उनी जनकपुर फर्किए। 

एमबीबीएस पढ्न गएको छोरो संगीतमा लाग्छु भन्दै घर फर्किएपछि बुवाले देखाएको आक्रोश प्रवेशले अझै विर्सिएका छैनन्। परिवारबाट उनलाई बांग्लादेश फर्कन दबाब दिइयो तर उनले मानेनन्। र, मैथिली भाषाका गीतकार अशोक दत्तको शरणमा पुगे। 

‘मैले संगीतको औपचारिक शिक्षाको आरम्भ त्यही बेलादेखि सुरु गरेको हुँ,’ प्रवेश भन्छन्। 

त्यसबेला प्रवेशका साथीहरु कृष्णा सिंह, घनश्याम मिश्र, ललित कामत लगायतले गीत लेख्थे। तीनमा संगीत हुन्थ्यो प्रवेशको। जनकपुरमा रहँदा नै प्रवेशको संगीतमा मैथिली भाषाको चर्चित गीत ‘रे छौंडा तोरा बज्जर खसतौ’, ‘मैयाँ भवानी बिन्ती सुनु’, ‘हम्मर धक्क धक्की बढैया’ र नेपाली गीति एल्बम ‘मुटुभरी माया’ बजारमा आइसकेका थिए। यीमध्ये केहीमा प्रवेशकै गायन छ। 

सन् २००० मा उनी संगीतबारे थप अध्ययन गर्न दिल्ली पुगे । सन् २०१३ मा दिल्लीस्थित गन्धर्व विश्वविद्यालयबाट संगीत शिरोमणी (स्नातकोत्तर) उत्तिर्ण भए। 
दिल्लीमा पढ्दा उनी खर्च जुटाउन धार्मिक जागरणमा भजन गाउँथे। प्रत्येक जागरणमा पाएको ५०० रुपैयाँमध्ये एकसय किबोर्ड किन्नका लागि जम्मा गर्थे। ‘पछि बुवाले नै किबोर्ड किनिदिनुभयो, बचत म आफैंले अरु काममा खर्च गर्न पाएँ,’ प्रवेश सुनाउँछन्। 

भारतीय गायक कैलाश खेर (बीचमा) सँग प्रवेश मल्लिक बायाँ । 

दिल्लीमै रहँदा उनी सानिध्य ब्याण्डमा संलग्न भए। सानिध्य  ब्याण्डबाटै प्रवेशले देश विदेशका केही कन्सर्टमा सहभागी हुने अवसर पाए पनि आयको स्थायी स्रोत थिएन। उनले दिल्लीको एउटा स्कुलमा संगीत शिक्षकको काम थाले। 

बलिउडमा स्थान बनाउने सपना बुनिरहेकै बेला उनले बिहे गरे जनकपुरकै अमृतासँग। बिहेपछि अमृतासँगै उनी दिल्ली फर्किए। तर, बलिउडमा प्रवेश पाउन दिल्ली बसेर संभव थिएन । पत्नीले समेत मुम्बई जान प्रेरित गरेपछि उनी त्यतै लागे।

सुरुमा मुम्बई काम पाउन गाह्रो थियो प्रवेशलाई। त्यसबेला बलिउडका स्थापित निर्देशक प्रकाश झा ‘गंगाजल’ को सिक्वेल ‘जय गंगाजल’ बनाउने तयारीमा थिए। यसैबीच प्रवेशको भेट निर्देशक झाको नजिकका सन्तोष मण्डलसँग भयो। 

सन्तोषले प्रवेशलाई निर्देशक झासम्म पु¥याए। झाले प्रवेशलाई तीन दिनभित्र ६ वटा गीतका संगीत बनाउन दिए। प्रवेशको संगीत झालाई मन परेछ। उनको संगीतका ‘डन्का उसका बाजेगा’, ‘सैयाँ धिरे धिरे’ लगायतका गीत हिट भए। त्यसपछि प्रवेशको बलिउड यात्रा सहज भयो। उनले ‘बरेलिकी बर्फी’, ‘जावरिया जोडी’, ‘तानाशाह’, ‘तकलेश्वर’मा पनि कामको अवसर पाए। नेपाली फिल्ममा समेत उनको गीत ‘आइ एम भेरी सरी’ हिट भइरहेको बेला थियो त्यो। 

लकडाउनमा परम्परागत गीतको रिमेक

लकडाउनको बेला सबै काम ठप्प थियो । त्यो समय उनले थुप्रै मैथिली गीतको रिमेक गरे। 

प्रवेशले मैथिलीका कयौँ लोकगीतमा पुनः संगीत भरे। उनले मैथिलीको ‘जट जटिन’, ‘परदेशिया’, ‘जुलुम करे ना’ लगायतका गीतहरु आफ्नै युट्युव च्यानलबाट सार्वजनिक गरेका छन्। 

मैथिली परम्परागत गीत–संगीतलाई अझ व्यापक र स्थापित गराउन नयाँ धुन भरेको उनी बताउँछन्। 

बलिउडमा स्थापित हुने क्रममा रहेका प्रवेशलाई जनकपुरसँग ठूलो लगाव छ। भन्छन् ‘जनकपुरमा संगीत एकेडमी होस् भन्ने मेरो चाहना हो। कुनै दिन जनकपुरधाममै संगीत एकेडमी बनाइ छाड्छु।’

 तस्वीरहरु: प्रवेश मल्लिकको फेसबुकबाट
 

प्रकाशित: Jan 30, 2021| 06:20 शनिबार, माघ १७, २०७७
प्रतिक्रिया दिनुहोस्