विशेष समाचार
1616218807.jpg
तस्बिरः विकिपिडियाबाट।

भँगेरा मान्छेको नजिकको साथी हो। यसलाई जोगाउनु भनेको आखिरमा मान्छे नै जोगिनु हो।

कुरा गर्छन् कसरी, भँगेरा र भँगेरी

चुरचुर गर्छ भँगेरो, चिरबिर गर्छे भँगेरी

टाप्पटिप्प कनिका, टिपिहालौं नहेरी

चुर्र गर्छु म फेरि, भुर्र उड्नु तँ फेरि

जिल्ल पर्छ बिरालो, हिस्स पर्छ बोहोरी

कति बाठो भँगेरो, कति बाठी भँगेरी।

राष्ट्रकवि माधव घिमिरेको ‘भँगेरा र भँगेरी’ शीर्षकको कवितामा वर्णित चराको चुरचुर र चिरबिर अचेल हराउँदै जान थालेको छ।

सहरी घर होस् वा गाउँले। तराईको मैदान होस् वा पहाडी कन्दरा। विगतमा प्रायः घरमा भँगेरा बस्थे। 

आधुनिकताको विस्तारसँगै चराचुरुङ्गी बस्नलायक घर बन्न छाडे भने घर वरपर पनि चरामैत्री वातावरण हुन छाडेपछि चरा मानव वस्तीबाट टाढा हुन थाले।

‘भँगेरा अरूको जस्तै मेरो पनि बालसखा हो,’ ८३ वर्षीय वनस्पतिविद् डा. तीर्थबहादुर श्रेष्ठ भन्छन्, ‘महाबौद्धको हाम्रो घरको भित्तामा भएका स–साना प्वालमा भँगेराले गुँड बनाउँथ्यो। त्यतिबेला माटोको जोडाइ भएको घरको भित्तामा मात्र होइन चुन, सुर्की, बज्रका लेप लगाइएका घरमा पनि भँगेरा बस्ने प्वाल बनाइन्थे।’

घर बनाउँदा नै ‘चखुँप्वा’ र ‘बखुँप्वा’ भनेर भँगेरा र परेवा बस्न मिल्ने प्वाल बनाइने डा. श्रेष्ठ बताउँछन्। ‘सानो प्वालमा भँगेरा र ठूलो प्वालमा परेवाले गुँड लाउँथ्यो,’ श्रेष्ठ भन्छन्।

नेपालको हिमाल, पहाड तथा तराई तीन भूखण्डमा भँगेरा पाइन्छन्।

घर वरपर हुने भँगेरालाई घरपालुवा (डोमेस्टिक स्प्यारो) र गाउँ तथा काँठ क्षेत्रमा हुने भँगेरालाई रूख भँगेरा (ट्रि स्प्यारो) भनिन्छ।

‘घर भँगेरा तराईदेखि मध्यपहाडी क्षेत्रसम्म पाइन्छ। रूख भँगेरा पहाडमा प्रशस्तै तथा तराईमा केही कम संख्यामा पाइन्छन्,’ चराविद् डा. हेमसागर बराल भन्छन्।

भाले घर भँगेराको शरीरमा गाढा खैरो रंगको प्वाँख हुन्छ। यसको छाती सेतो हुन्छ र चुच्चोमुनि कालो कण्ठ हुन्छ।

विश्वमा हालसम्म ३२ प्रजातिका भँगेरा पाइएको छ। नेपालमा भने पाँच प्रजातिका भँगेरा पाइन्छन्। 

ती घर भँगेरा (हाउस स्प्यारो), रूख भँगेरा (ट्री स्प्यारो), कैलो भँगेरा (रस्सेट स्प्यारो), स्प्यानिस स्प्यारो र पितकण्ठे (पेट्रोनिया) हुन्।

घर भँगेरा १५ र रूख भँगेरा १४ सेन्टिमिटरका हुन्छन्। चार÷पाँच वर्षसम्म बाँच्ने भँगेराको तौल ४० ग्रामसम्म हुन्छ।

घर भँगेराले घर वा मठमन्दिरजस्ता मानवनिर्मित संरचनामा गुँड बनाएर बच्चा कोरल्छ भने अन्य प्रजातिका भँगेराले घरबाहिर गुँड बनाउँछ।

‘बाह्रै महिना अण्डा पार्ने घर भँगेराले घरका सानातिना प्वाल र रूखको टोड्कोमा गुँड बनाउँछ। एकपटकमा चारवटासम्म अन्डा पार्छ र तीन सातासम्ममा अन्डा कोरल्छ। भँगेराले चारवटै बच्चा हुर्काउन वा नहुर्काउन पनि सक्छ,’ बराल बताउँछन्।

भँगेरा मिहिनेती र मायालु चरा हो। भँगेरा हामीले फ्याँकेका कनिका, जुठोपुरो खाएर हुर्कन्छन्। 

सहर बजारमा जुठोपुरो फ्याँक्ने रछ्यान नहुँदा पनि चराले आहारा पाउँदैन। नेपालमा अन्य भँगेराको तुलनामा घर भँगेरा र रूख भँगेरा घटेको बराल बताउँछन्।

रूख भँगेराहरू घर भँगेराभन्दा केही साना र चञ्चल हुन्छन्। भाले प्रजाति र पोथी प्रजातिको रंग उस्तै हुन्छ र सजिलै छ्ट्याउन सकिन्छ। 

घर भँगेरामा भने पोथी सजिलै छुटिन्छ। यसको शरीरमा फुस्रो खरानी रंगको प्वाँख मात्र हुन्छन् भने पखेटातिर केही कालो प्वाँख हुन्छ।

भँगेरा अरू चरा जस्तो टाढाटाढासम्म उड्न सक्दैन। भँगेरा पानी तथा धुले चउरमा खेल्न रमाउँछ।

भँगेरालाई जुम्राले पिर्छ। भँगेराको पखेटाको नरम भाग खान्छ। त्यसैले जुम्राबाट बच्न भँगेरो नुहाउने गर्छ।

‘आजभन्दा ५०–६० वर्षअघि काठमाडौंका प्रायः घरमा भँगेराको ‘कोलानी’ हुन्थ्यो। एउटै घरमा भँगेराका २५–३० परिवार बस्थे,’ डा. श्रेष्ठ भन्छन्, ‘अहिले आधुनिक घर बने। एउटै घरमा मान्छेका २५–३० परिवार बस्छन् तर भँगेरा र परेवालाई ठाउँ छैन।’

किन घटे भँगेरा ?

सहरीकरणले गर्दा भँगेराको वासस्थान नाश हुँदै गए र भँगेरा हराउन थाले। त्यस्तै कृषि क्षेत्रमा कीटनाशक विषादीको अनियन्त्रित र अत्यधिक प्रयोगले गर्दा पनि समग्र चराको संख्यामा कमी आएको विज्ञ बताउँछन्।

‘पहिला जताततै भँगेरा हुन्थे। घर, चौतारो, बजार, चउरमा छ्यासछ्यास्ती भँगेरा देखिन्थ्यो। 

तिनीहरू अनाज, कीरा फट्याङग्रा, गड्यौंला खाएर जीविका धान्थे। अब अहिले सहरबजार विस्तार हुँदा तिनले खानेकुरा पनि पाएनन्, बस्ने ठाउँ पनि पाएनन्,’ चरा अवलोकनमा लागेका टेक घर्ती मगर भन्छन्।

भँगेराको संख्या र वितरण खुम्चिए पनि खतराको सूचीमा भने परिसकेको छैन। तर पनि भँगेराहरूले उपभोग गर्दै आएको भूगोलको व्यापक परिवर्तन हुँदा उनीहरूले ठूलो चुनौती सामना गरिरहेका छन्।

आफू वरपरको पशुपक्षी स्वस्थ हुनु भनेको त्यहाँको वातावरण र पर्यावरण स्वच्छ छ भन्ने सूचक हो। 

‘सहरवस्तीबाट भँगेरा हराउनु भनेको त्यो वस्तीको वातावरण र पर्यावरण ठीक छैन भन्ने संकेत हो,’ डा. श्रेष्ठ भन्छन्।

भँगेरा धेरै हुँदा बाली खाएर सखाप पार्ला कि भन्ने डर भने हुन्छ।

चीनका चार शत्रु

चीनमा माउत्सेतुंगको पालामा भँगेरा, उपियाँ, मुसा र लामखुट्टेलाई चार शत्रु किटान गरी तिनलाई सफाया गर्ने अभियान चलाइयो।

‘तर त्यसपछि धानकीरा, फट्याङग्रा, सलहको बिगबिगी बढ्यो। कीटनाशकको अधिक प्रयोग भयो र अन्नतः सन् १९५९ देखि तीन वर्ष अनिकाल नै लाग्यो,’ डा. श्रेष्ठ बताउँछन्, ‘भँगेराले कीराफट्याङग्रा नियन्त्रण गरेर लगाएको गुणको बेवास्ता गर्दा अनिकाल भोग्नु प¥यो।’

संरक्षण गर्न भँगेरा दिवस

भँगेरा दिवस मनाउन थालिएको धेरै भएको छैन। 

यस दिवसको विधिवत् सुरुआत १० वर्षअघि भारतको नासिकबाट भएको हो। नासिकका संरक्षणकर्मी मोहम्मद दिलावर र उनी आबद्ध संस्था ‘नेचर फरएभर सोसाइटी’ले भँगेरा संरक्षण गर्न २०, मार्च २०१० देखि मनाउन थालेका हुन्।

नेपालमा पनि मच्छेगाउँमा भँगेरा दिवसको उपलक्ष्यमा सचेतना कार्यक्रम आयोजना गरिएको छ। 

कार्यक्रमका आयोजकमध्येका एक भँगेरा अभियन्ता धुव्र बस्नेतले नयाँ बन्ने घरमा भँगेरा बस्न मिल्ने प्वाल बनाएर संरक्षणमा ध्यान दिनु पर्ने बताए।

‘प्रकृति सबै प्राणीको वासस्थान हो। मान्छेले आफ्नो स्वार्थ मात्र नहेरी सहअस्तित्वलाई स्वीकार गरेर सबै प्राणी जोगाउनेतर्फ पाइला चाल्नु पर्छ,’ बस्नेतले भने, ‘भँगेरा मान्छेको नजिकको साथी हो। यसलाई जोगाउनु भनेको आखिरमा मान्छे नै जोगिनु हो।’

प्रतिक्रिया दिनुहोस्