प्रविधि अर्थ
1614821212.jpg

काठमाडौं– गएको नोभेम्बर ११ मा चिनियाँ कम्पनी अलिबाबा र जेडीडटकमले एक दिनमा नै ११५ अर्ब अमेरिकी डलरबराबरको कारोबार गरे। २४ घण्टामा विश्वभरबाट अलिबाबाले ७४.१ अर्ब अमेरिकी डलर र जेडीडटकमले ४०.१ अर्ब अमेरिकी डलरबराबरको कारोबार गरेका थिए। 

यो कारोबारमा करिब ९० प्रतिशत पेमेन्ट मोबाइलबाट नै गरिएको अमेरिकी मिडिया सिएनबिसिको अनलाइन संस्करणले उल्लेख गरेको छ।

छिमेकी मुलुकमा भारतमा पनि नरेन्द्र मोदी सरकारले सन् २०१६ मा ५ सय र एक हजारका नोटमा प्रतिबन्ध लगाएपछि डिजिटल पेमेन्टले ठूलै फड्को मारेको छ। टाइम्स अफ इन्डियाले रिजर्भ बैंक अफ इन्डियालाई उद्धृत गर्दै लेखेको समाचारअनुसार भारतमा प्रतिदिन १० करोड पटक र ५ लाख करोड रुपैयाँबराबरको डिजिटल कारोबार हुने गरेको छ।  

केही वर्षयता नेपालमा पनि डिजिटल कारोबार बढ्दो क्रममा छ। नेपाल राष्ट्र बैंकका अनुसार प्रतिमहिना औसत २३ खर्ब रुपैयाँबराबरको डिजिटल कारोबार हुने गरेको छ। 

चालू आवको पहिलो महिना (साउन) को तुलनामा आठौं महिना (माघ) मा डिजिटल कारोबार ३३.३४ प्रतिशतले बढोत्तरी भएको छ। साउनमा २१ खर्ब ८९ अर्ब रुपैयाँको डिजिटल कारोबार भएकोमा माघमा २९ खर्ब  १९ अर्ब रुपैयाँ पुगेको छ।

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भुवन कँडेलका अनुसार चाडबाड र त्रैमासको अन्तिममा डिजिटल कारोबार बढी हुन्छ। ‘सरकारले डिजिटल पेमेन्ट सिस्टम आत्मसात् गरेकोले ग्राहकले सरकारलाई त्रैमासिक रुपमा तिर्नुपर्ने राजस्व पनि डिजिटल्ली तिर्ने भएकाले त्रैमासको अन्तिममा बढी कारोबार हुने गरेको हो,’ उनले भने।

चालू आवको सात महिनाको डिजिटल कारोबारको तथ्यांक हेर्ने हो भने साउनमा २१ खर्ब ८९ अर्ब रुपैयाँबराबरको कारोबार भएकोमा असोजमा २५ खर्ब ६३ अर्ब रुपैयाँ पुगेको छ भने पुसमा २९ खर्ब ६९ अर्ब रुपैयाँको कारोबार भएको छ।

‘नेपाल पनि विस्तारै क्यासलेस अर्थतन्त्रतर्फ गइरहेको छ। सरकारले डिजिटल पेमेन्टलाई बढावा दिन विभिन्न पेमेन्ट कम्पनीहरुलाई आफ्नो पेमेन्ट सिस्टममा जोडेको छ। इसेवा, खल्ती, फोनपे, आइएमई पे जस्ता माध्यमबाट सरकारी सेवाको शुल्क तिर्न सकिने व्यवस्था गरिएको छ,’ कार्यकारी निर्देशक कँडेलले भने। 

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ डिजिटल कारोबार बढ्नुको श्रेय कोरोना महामारीलाई दिन्छन्। उनका अनुसार डिजिटल कारोबार वृद्धि हुनु भनेको अनौपचारिक अर्थतन्त्र औपचारिक माध्यममा आउनु हो। श्रेष्ठ भन्छन्, ‘औपचारिक अर्थतन्त्र पारदर्शी हुन्छ र यसले सुशासनमा मद्दत पुग्छ। क्यासलेस अवस्थामा पुगिसकेका युरोपियन मुलुकहरुमा यसैकारण सुशासन छ।’

नेपालमा वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरु सबैले डिजिटल कारोबार गर्ने गरेका छन्। वाणिज्य बैंक २७ वटा, विकास बैंक १९ वटा र फाइनान्स कम्पनी २० वटा छन्।

राष्ट्र बैंकले १०३ वटा कम्पनीलाई डिजिटल पेमेन्टको अनुमति दिएको छ। यी कम्पनीबाट हुने डिजिटल कारोबार पूर्ण रुपमा सुरक्षित हुन नसकेको गुनासो पनि सेवाग्राहीले गर्ने गरेका छन्। राष्ट्र बैंकले पनि यो कुरा स्वीकारेको छ। कारोबारका क्रममा आउने समस्या सुल्झाउदै लैजाने कार्यकारी निर्देशक कँडेल बताउँछन्। आगामी दिनमा राष्ट्र बैंकले डिजिटल पेमेन्टलाई नै मुख्य प्राथमिकतामा राखेर काम गर्दै जाने उनले जानकारी दिए। 

गत वर्ष चैतमा कोरोना महामारीका कारण देशव्यापी लकडाउन भएपछि डिजिटल कारोबार बढ्न थालेको हो। पैसा (नोट) बाट पनि कोरोना भाइरस सर्न सक्ने समाचार सार्वजनिक भएपछि डिजिटल कारोबार सिक्ने र त्यसमा अभ्यस्त हुनेको संख्या बढ्यो।  

राष्ट्र बैंकले पनि बैंक तथा वित्तीय संस्थाहरुलाई डिजिटल कारोबारमा बल गर्न निर्देशन दियो। लकडाउनको समयमा डिजिटल कारोबारलाई बढावा दिएका बैंक तथा वित्तीय संस्थाहरुले लकडाउनपछि पनि त्यसलाई निरन्तरता दिएका कारण अनलाइन ग्राहकको संख्या बढेको हो।

चैत ११ देखि साउन ७ सम्मको लकडाउन अवधिमै अनलाइन कारोबार गर्ने ग्राहकको संख्या ह्वात्तै बढेको देखिन्छ। राष्ट्र बैंकका अनुसार सो अवधिमा करिब ६६ प्रतिशत बैंक तथा वित्तीय संस्थाका ग्राहकले अनलाइन सेवा लिएका थिए। 

चालू आर्थिक वर्षको बजेटमा अर्थमन्न्त्री डा.युवराज खतिवडाले अनौपचारिक अर्थतन्त्रलाई औपचारिक बनाउने एकमात्र माध्यम डिजिटल कारोबार भएको ठहर गर्दै ‘डिजिटल नेपाल’ अभियान घोषणा गरेका थिए। सोही आधारमा राष्ट्र बैंकले डिजिटल बैंकिङलाई प्रवर्द्धन गरेको हो। गभर्नर महाप्रसाद अधिकारी आफैं अहिले क्युआर कोड पेमेन्टलाई बढावा दिन विभिन्न जिल्लामा गइरहेका छन्। पछिल्ला दिनमा तरकारी तथा फलफूल किन्नदेखि टेम्पोको भाडा तिर्न र मन्दिरको भेटी चढाउन समेत क्युआर कोडको प्रयोग हुन थालेको छ।

माघमा भएको डिजिटल कारोबार

आरटिजिएस– १७ खर्ब १ अर्ब 
एटिएम– ६० अर्ब २८ करोड
इलेक्ट्रोनिक चेक क्लियरेन्स– ७ खर्ब २२ अर्ब 
इन्टरबैंक पेमेन्ट सिष्टम (आइपीएस)- २ खर्ब २ अब
कनेट आईपीएस– एक खर्ब ४ अर्ब 
डेबिट कार्ड– ६३ अर्ब ३५ करोड
क्रेडिट कार्ड– १ अर्ब २ करोड 
प्रिपेड कार्ड– १० करोड 
इन्टरनेट बैकिङ– ९ अर्ब २२ करोड
मोबाइल बैकिङ– ३८ अर्ब 
ब्रान्चलेस बैंकिङ– १० अर्ब 
वालेट– ९ अर्ब ९४ करोड 
क्युआर कोड– १ अर्ब ७१ करोड 
पीओएस– ३ अर्ब २६ करोड 
ई–कमर्स– ९३ करोड 

डिजिटल कारोबार कुन महिनामा कति ? 

साउन– २१ खर्ब ८९ अर्ब
भदौ– १५ खर्ब  ५५ अर्ब 
असोज– २५ खब ६३ अर्ब 
कात्तिक– २० खर्ब ५८ खर्ब 
मंसिर– २३ खर्ब ५८ अर्ब 
पुस– २९ खर्ब ६९ अर्ब 
माघ– २९ खर्ब १९ अर्ब 

प्रतिक्रिया दिनुहोस्