काठमाडौं– वर्ल्डलिंकले नेपालका १४ ठूला सहरमा इन्टरनेट डाटासेन्टर (आईडीसी) निर्माण गर्ने घोषणा गरेको छ। यी डाटासेन्टर नेपालका हरेक प्रदेशमा कम्तिमा एउटा डाटासेन्टर रहने गरी स्थापना गर्ने निर्णय गरिएको छ।
१४ डाटसेन्टरमध्ये काठमाडौंको डाटासेन्टर सबैभन्दा ठूलो, अन्तर्राष्ट्रिय मान्यता प्राप्त टियर ४ पावर प्रणालीमा डिजाइन भएको तथा टायर ३ प्रमाणीकरणसहितको हुनेछ भने अन्य बाँकी डाटासेन्टरहरु मध्यम र सानो आकारको टायर २ प्रमाणीकरण भएको हुनेछ।
यी डाटा सेन्टरहरू तटस्थ र सहप्रयोग सुविधायुक्त हुनेछन् यसको अर्थ यो सुविधाले वर्ल्डलिंकको पूर्वाधार मात्र व्यस्थापन गर्दैन कि अन्य इन्टरनेट सेवा प्रदायकहरू, टेलिकमहरुलगायत सरकारी, निजी संस्था र सम्पूर्ण देशलाई चाहिने सूचना प्रविधि, दूरसञ्चार पूर्वाधारको व्यवस्थापन गर्नेछ।
आगामी तीन वर्षमा वर्ल्डलिंकले डाटासेन्टर निर्माण गर्न करिब ३ अर्ब लगानी गर्ने छ। यसको उद्देश्य हाम्रो ग्राहकलाई भरपर्दो र गुणस्तरीय इन्टरनेट सेवा दिन साथै डिजिटल नेपाल निर्माण गर्न सहयोग गर्नु हो । यी इन्टरनेट डाटासेन्टरको सुविधाले गर्दा सबै प्रयोगकर्ताहरुले इन्टरनेट सामग्रीहरु छिटो, सस्तो र अधिक विश्वसनीय स्तरको पाउनेछन् ।
सरकारी र निजी संस्थाले उनीहरूको आफ्नो डिजिटल र क्लाउडमा आधारित पूर्वाधार सञ्चालन गर्न एउटा धेरै नै सुरक्षित र भरपर्दो विश्वस्तरीय सुविधा प्राप्त गर्नेछन् ।