समाचार

हनुमानढोका संग्रहालयमा गरगहना प्रदर्शनी उद्घाटन

1615730941.jpg

काठमाडौं- हनुमानढोका दरबार संग्रहालयमा ऐतिहासिक गरगहनाको प्रदर्शनीको उद्घाटन गरिएको छ। प्रदर्शनीको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री भानुभक्त ढकालले गरेका हुन्।

उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री ढकालले इतिहासमा धनी नभएका कतिपय मुलुकहरुले ऐतिहासिक सम्पदाहरुको अभावमा नयाँ निर्माण गरीकन ऐतिहासिकताको झल्को दिने सम्पदा निर्माण गरेको बताउँदै हाम्रो सन्दर्भमा ऐतिहासिक सम्पदाको अभाव नभएको हुँदा तीनको संरक्षण गर्नुपर्ने बताए।

‘कुनै पनि सांस्कृतिक सम्पदा पुर्खाको सम्मान स्वरुप चीरकालसम्म रहिरहन्छ,’ मन्त्री ढकालले भने, ‘यहाँ प्रदर्शित गरगहनाले पनि हाम्रो इतिहासको विरासत के थियो भन्ने बुझ्न बुझाउन आधार दिन्छ।’

संग्रहालयमा ‘परम्परागत गहना तथा संस्कारका सामग्री’ खण्डमा ती ऐतिहासिक गहना तथा शाहकालीन समयमा पूजाआजामा प्रयोग हुने सामग्रीको प्रदर्शन गरिएको छ।

कार्यक्रममा बोल्दै हनुमानढोका संग्रहालय तथा हेरचाह अड्डाका प्रमुख सन्दीप खनालले सो गहना २०६८ सालमा हनुमान ढोका दरबार क्षेत्रभित्रको न्हुच्छे चोक र फरासखाना बीचमा रहेको एउटा जीर्ण भवन भत्कँदा पाइएको सेफमा भेटिएको बताए। प्रदर्शनीमा गणतन्त्र स्थापित भएपछि शाहकालीन समयमा पूजाआजामा प्रयोग हुने सरसामान पनि राखिएका खनालले बताए।

‘धार्मिक एवं सांस्कृतिक कार्यमा प्रयोग गरिने देवदेवीका मूर्तिहरु, सुन, चाँदी तथा तामाका गरगहनाहरु, सुन चाँदीका सिक्काहरु, अत्यन्त दुर्लभ इष्ट इण्डिया कम्पनीले जारी गरेका सिक्का तत्कालीन समयको नापतौलको सामग्रीहरु, राज्यभिषेकमा हात्तीको शीरमा राखिने चाँदीको कलश, भगवान कृष्णलाई चढाउने सुन तथा चाँदीको बहुमूल्य मुकुटहरु रहेका छन्,’ खनालले बताए।

प्रदर्शनीमा मंगल कार्यमा प्रयोग गरिने चाँदीको ठेकी, पेरुङगोसहतिको भार, पेटारो, चाँदीको भाँडाकुँडा, देवतालाई चढाइने विभिन्न प्रकारका सुन चाँदीका मालाहरु रहेको खनालले बताए।

प्रदर्शित गहनामध्ये गलाको हार र कानको कुण्डल श्री ५ रणबहादुर शाहकी बडामहारानी राजराजेश्वरीले आफू सती जाने बेलामा वायु देवता र आकाश देवतालाई चढाएकी हुन्।

‘रानी राजराजेश्वरीले सती जानुअघि आकाश देवातालाई कुण्डल र वायु देवतालाई हार चढाएको बुझिन्छ,’ सो गहानाको लिपि अध्ययन गरेका लिपिविज्ञ श्यामसुन्दर राजवंशीले भने, ‘लिपि सानो अक्षरमा देवनागरीमा लेखिएको छ भने चढाइएको हार र कुण्डल वास्तविक आकारको छ। गहनामा लिपि र मिति पनि भएकाले महत्वपूर्ण छन्।’

सो गहना सती प्रथाबारेको पहिलो ठोस प्रमाण भएको पुरातत्वविद्हरु बताउँछन्।

‘यसअघि सती प्रथाबारे ठोस प्रमाण भेटिएको थिएन,’ पुरातत्व विभागका पूर्वमहानिर्देशक तथा अन्वेषक विष्णुराज कार्की भन्छन्, ‘यी गहना सती प्रथाबारे आधिकारिक रुपमा बुझ्न सघाउने ठोस प्रमाण हुन्।’
प्रदर्शनीमा पूजाथाली, कचौरा, तुलसीपत्रको माला तथा विभिन्न देवालयमा जात्रा, पर्वमा प्रयोग हुने भाँडाकुँडालगायतका सामग्री छन्। प्रायः सामग्री चाँदी तथा सुनका छन्।

‘विफर महामारी हुँदा शीतलादेवी माईलाई चढाइएको सामग्री पनि छन्,’ राजवंशीले भने, ‘महोत्तरीतिरको रथबाराह लक्ष्मीनारायण महादेवलाई चढाइएको गहना पनि रहेछन्।’

संग्रहमा भगवान राम तथा भगवान कृष्णलाई चढाइएको खराउ पनि छन्।
‘ती खराउ सप्तरीबाट आएको बुझिन्छ,’ कार्की भन्छन्, ‘यसले उबेलमा काठमाडौं र तराईबीच हुने सम्पर्कसम्बन्धको पुष्टि गर्दछ।’

गहनाहरु विस १९०३ देखि १९९० सम्मको भएको पुरातत्वविद् कार्कीले बताए। प्रदर्शनीमा १५ सय वर्षअघिको लिच्छिविकालीन सिक्का पनि छ। सो सिक्का २०७२ को भूकम्पले भत्किएको काष्ठमण्डप पुनःनिर्माण गर्दा जगमा भेटिएको थियो।

‘सिक्कामा जिष्णुगुप्तस्य लेखिएको छ,’ राजवंशी भन्छन्, ‘एकातिर बज्र र अर्कोतिर घोडा अंकित छ। मुद्रा इतिहास अध्ययनमा यो महत्वपूर्ण प्रमाण हो।’

प्रदर्शनीले नयाँ पुस्तामा पुरानो गहनाको बारेमा सूचना तथा जानकारी प्रसार हुने धारणा बागमती प्रदेशका प्रदेशसभा सदस्य विराजभक्त श्रेष्ठले व्यक्त गरे।

‘ऐतिहासिक गरगहनालाई सन्दुकभित्र सुरक्षित राख्नुभन्दा सार्वजनिक प्रदर्शनी गर्नु उत्तम हो,’ श्रेष्ठले भने, ‘यसले नयाँ पुस्तामा इतिहासको ज्ञान प्रसार हुन मद्दत मिल्छ।’

हामीले इतिहासबाट सिकेर अघि बढ्नुपर्ने धारणा राख्दै श्रेष्ठले हाम्रो समाजमा कलालाई कलाको रुपमा मात्र नलिएर ध्यान वा सिद्धीको रुपमा पनि लिइने हुँदा सानासाना कलाकृतिमा पनि एकदमै धेरै बिस्तृत वर्णन हुने बताए। ‘यी गहना तथा ऐतिहासिक वस्तुको प्रदर्शनीले हाम्रो ती गौरव गाथा प्रसार गर्न मद्दत मिल्छ।’

२०७६ चैतदेखि कोरोना महामारीका कारण बन्द संग्रहालय गत मंसिर ३ गतेदेखि आंशिक रुपमा सञ्चालनमा छ। हाल संग्रहालयमा दैनिक १०० हाराहारीमा आगन्तुक आइरहेका छन्।

बि.सं. १९४२ मा औपचारिक रुपमा नारायणहिटी सर्नुअघिको राजदरबार हनुमानढोकामै थियो। विभिन्न कालखण्डमा निर्माण तथा पुनर्निर्माण भएको हनुमानढोका दरबार लिच्छिविकालदेखिकै भवन हो।

२०७२ को भूकम्पमा हनुमान ढोका दरबार क्षेत्रको ७० भन्दा बढी सम्पदामध्ये  ११ वटाबाहेक अन्य सम्पदा पूर्ण वा आंशिक रुपमा क्षतिग्रस्त भए। केहीको पुनःनिर्माण सकिएको छ भने केही सम्पन्न हुने क्रममा छन्।

आन्तरिक तथा बाह्य पर्यटकको मुख्य अवलोकन केन्द्र हनुमान ढोका दरबार क्षेत्र युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत छ।

प्रतिक्रिया दिनुहोस्