समाचार

विदेश जाँदा ऋणकाे भारी, कृषि उद्यमले बनायो करोडपति

1615720227.jpg

काठमाडाैं- कलंकीको ११ आना जग्गा धितोमा राखेर वैदेशिक रोजगारीका लागि सिंगापुर हान्निँदा धादिङ धुनिबेसी नगरपालिका-५ का युद्धप्रसाद न्यौपानेले  पर्याप्त आम्दानी गर्न सकिने सपना बाेकेका थिए।  

सिंगापुरमा त पुगे तर दुई महिनासम्म पनि काम नपाएपछि उनी तनावमा परे। परिवार छाड्दाकाे पीडा त छँदै थियाे।ऋणकाे ब्याज बढिरहेकाे थियाे। बुझ्दै जाँदा उनले आफू दलालको फन्दामा परेकाे थाहा पाए। अनि पैसा कमाउने सपना चकनाचुर हुन पुग्याे।

दलाललाई १५ लाख रुपैयाँ बुझाएर सिंगापुर पुगेका उनीमाथि ऋणकाे भारी थाेपरिन पुग्याे। स्वदेश फर्किएपछि ऋण तिर्नमै सक्रिय भए। 

उनी भन्छन्, ‘सिंगापुरमा ठक्कर खाएर फर्केपछि घरनजिकै स्टेसनरी पसल राखें। दैनिक एक हजार रूपैयाँ आम्दानी भए पनि ऋणको ब्याज तिर्नै पुगेन। त्यसैले काठमाडाैंको ११ आना जग्गा बेच्न बाध्य भएँ।’

जग्गा बेचेर ऋण तिरेपछि उनी यत्तिकै बसिरहेका थिए। बुवाले काठमाडौंको जग्गा बेचेको भनेर गुनासो गरिरहँदा उनलाई केही गरौं भन्ने उत्साह थपियो। अन्य उपाय त थिएन। त्यसैले उनी फेरि विदेश जान तयार भए। 

साना किसान विकास बैंक र साना किसान कृषि सहकारी संस्थाको सहयोगमा इजरायल गएका न्यौपानेले कृषि क्षेत्रमा काम गर्न थाले। ठूलाठूला व्यावसायिक कृषि फार्म देखेपछि आफ्नो सोच नै बदलिएको उनी बताउँछन्। 

उनी भन्छन्, ‘इजरायलको कृषि फार्म देखेपछि खेतीपाती भनेको पढेका मानिसले नै गर्ने रहेछ भन्ने थाहा पाएँ।’ 

कृषिबाट नै जीवनस्तर उकास्न सकिनेमा उनी ढुक्क भए। गाउँ फर्केपछि कृषि क्षेत्रमा केही काम गर्ने अठोट गरे। 

११ महिना इजरायलमा बस्दा उनले सात लाख रुपैयाँ जति कमाएका थिए। त्यसमा उनले साना किसान कृषि सहकारीबाट १० लाख रुपैयाँ ऋण थपे। १७ लाख रुपैयाँमा १० रोपनी जग्गा किनेर गाउँकाे घरनिजकै टनेल बनाए। 

व्यावसायिक रुपमा गोलभेँडा उत्पादन सुरु भयो। काउली फल्न थाल्यो। काउली र गोलभेँडा बेचेर केही वर्षमै उनले १५ लाख रुपैयाँ आम्दानी गर्न सफल भए। बाख्रा पालन सुरु गरे। अहिले फार्ममा ५० वटा बाख्रा छन्।

१० लाख रुपैयाँ ऋण थपेर २५ रोपनी जग्गा किने। तरकारी बेचेर भएको आम्दानी जग्गा जोड्नमा खर्च गर्दै जाँदा अहिले उनी ७९ रोपनी जग्गाको मालिक मात्र बनेका छैनन् सफल कृषक बनेका छन्। 

उनीसँग अहिले करिब १५ करोड रुपैयाँको हाराहारीमा सम्पत्ति छ। ‘मैले बुबालाई गोलभेँडा बेचेर नै तपाईंले भनेको ठाउँमा भनेजति जग्गा जोडिदिन्छु भनेको छु’, न्यौपानेले भने। 

कृषिकर्मप्रति छैन सम्मान

नेपाली समाजमा कृषि कर्म गर्नेलाई गलत नजरले हरिन्छ। न्यौपाने भन्छन्, 'कुकुर डोर्‍याएर हिँडेको मानिसलाई सबैले सलाम गर्छन् तर खसी डोर्‍याउनेलाई कसैले गन्दैन।' 

बाल्यकालदेखि नै कृषि कर्म गरिबले मात्र गर्ने हो भनेर भ्रम फैलाएको गुनासो उनको छ। उनले भने, ‘हामीलाई शिक्षकले नै भन्ने गरेका छन् पढ्ने भए पढ् नभए हलो जोत्। त्यसैले हामीले कृषि पेसालाई हेप्यौं। सानो ठान्यौं।’ 

कृषि र किसानप्रति सम्मान नभएसम्म नेपाल कृषिमा आत्मनिर्भर हुनै नसक्ने उनले बताए। 

सरकारी लगानी नहुँदा युवा आकर्षण छैन

सरकारले बजेट भाषणमा कृषि क्षेत्रमा लगानी बढाउँछु भन्छ। नेताहरु पनि कृषि विना समुन्नत नेपालको सम्भव छैन भन्छन्।

तर व्यवहारमा त्यस्तो छैन। उनी भन्छन्, 'सरकारले कृषि मैत्री कानुन बनाउन सकेको छैन। विभिन्न बैंकहरुले कृषिका लागि ऋण दिने भने पनि विना धितो पाइँदैन।' 

युवा पुस्ता पनि कृषि क्षेत्रप्रति उत्साहित नदेखिएको उनको भनाइ छ। उनी भन्छन्, 'कृषि सहकारीले कृषिका लागि १० लाख रुपैयाँ दिन्छ। सो रकम लिनेबित्तिकै युवाहरु पल्सर बाइक किन्छन्, केही रकम गेटअपका लागि खर्च गर्छन्। बाँकी पैसाले बारीमा केही तरकारी लगाउँछन्। व्यावसायिक रुपमा खटेर काम गर्र्दैनन्। अनि कहाँबाट उन्नति हुन्छ?'  

प्रोत्साहन अभाव

कृषिमा लाग्ने युवाका लागि कुनै प्रोत्साहन नभएको गुनासो उनको छ। उनको कृषि फार्ममा काठमाडौंबाट  सरकारी अधिकारीहरु निरीक्षण गर्न जान्छन्। न्यौपाने भन्छन्, 'किरा लाग्न सक्छ। सबै नोक्सान भयो भने कसरी ब्युँताउनुहुन्छ भनेर हतोत्साहित बनाएर फर्कन्छन्।'

नेपालस्थित इजरायली राजदूतले भने हौसला दिने गरेको उनले सुनाए। उनी भन्छन्, 'राजदूत घुम्न आएमा केके कमी छ? बिउ चाहिए हामी ल्याइदिन्छाैं भनेर फर्कन्छन्।' 

अध्ययन नगरी लगानी गर्दा घाटा 

नेपालमा पर्याप्त बजार छ तर अध्ययन नगरी कृषि उत्पादनमा लाग्नेले घाटा व्यहोरिहेका छन्। न्यौपाने भन्छन्, 'कुनै पनि वस्तुको उत्पादन गर्दा बजार र पाँचवर्षे रणनीति बनाउनुपर्छ। मेरो बजार यो हो र यी मेरा ग्राहक हुन् भन्ने अध्ययन नगरी लगानी गर्नु हुँदैन।' 

कृषि र खेतीपातीका आधारभूत जानकारी नभई सोचेजति उत्पादन नहुने उनको भनाइ छ।

बिरुवा कसरी रोप्नेदेखि मल कति र कुन समयमा हाल्ने भन्नेबारे राम्रो जानकारी हुनुपर्छ। उनी भन्छन्, 'मैले के गरिरहेको छु? बजार कहाँ हो? ग्राहक को हुन् भन्ने मलाई राम्ररी थाहा छ। उनी भन्छन्, बजारका लागि दुई वर्ष घुम्नुपर्छ, पाँचवर्षे योजना बनाउनुपर्छ। अनिमात्र उत्पादन गर्नुपर्छ।' 

बजारकाे दुःख छैन

न्यौपाने एक दिन भाटभटेनी सुपरमार्केटमा ८०० रुपैयाँ प्रतिकिलोमा रेडपिपर (खुर्सानी) बिक्री हुने गरेको थाहा पाए। नेपालमा त्यसको बिउ पाइँदैन। उनले इजरायलमा बिउ मगाए र आफ्नो बारीमा रोपे। आफूले उत्पादन गरेको रेडपिपर र एल्लो पिपर पाँच सय रुपैयाँ प्रतिकेजी बिक्री गर्ने उद्देश्यले फेसबुकमा फोटो पोस्ट गरे। 

उनी भन्छन्, 'ठमेलका होटल सञ्चालकहरुले फोन गरेर रेडपिपरको अर्डर गर्न थाले। मैले बारीमै लिन आउनुस् भनेँ।' त्यसपछि उनीहरु गाडी लिएर बारीमै पुगे। उनी भन्छन्, 'मैले १५ सय बोटबाट ५ लाख रुपैयाँ आम्दानी गरें।' उनले फेरि पाँच लाख वटा बिउ इजरायलबाट ल्याएका छन्। 

(राष्ट्रिय सहकारी महासंघद्वारा आयोजित राष्ट्रिय युवा गोष्ठीमा व्यक्त अनुभवको सम्पादित अंश।)

सम्बन्धित समाचार

इजरायलमा सिक्दै कमाउँदै, फर्केपछि उद्यम

प्रतिक्रिया दिनुहोस्