बिहीबार, वैशाख १३, २०८१

कोभिसिल्डलाई नै किन मान्यता ?

कोभिसिल्ड दुईदेखि आठ डिग्री सेन्टिग्रेडमा भण्डारण गर्न सकिन्छ। नेपालमा यस्ताे भण्डारण क्षमताको पूर्वाधार छ। 
 |  सोमबार, माघ ५, २०७७

ज्योति अधिकारी

ज्योति अधिकारी

सोमबार, माघ ५, २०७७

काठमाडौं– नेपालले भारतमा बनेको कोरोनाविरुद्धको कोभिसिल्ड खोपलाई आपत्कालीन प्रयोगको अनुमति दिएको छ। यो खोप भारतमा गत शनिबारदेखि लगाउन थालिएको छ। 

triton college

यद्यपि अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले बनाएको यो खोपलाई विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले मान्यता दिइसकेको छैन। 

कोरोना भाइरसविरुद्ध विभिन्न मुलुकले खोप निर्माण गरेका छन्। तर नेपालले यही खोपलाई किन अनुमति दियो त?

नेपाली स्वास्थ्य अधिकारीहरु कोभिसिल्डले मापदण्ड पूरा गरेकाले त्यसलाई प्रयोग अनुमति दिएको बताउँछन्। यो खोप भारतमा सिरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरिरहेको छ।

औषधि व्यवस्था विभागका सूचना अधिकारी सन्तोष केसीले कोभिसिल्ड प्रयोग अनुमतिका लागि अन्तर्राष्ट्रिय मान्यतालाई आधार बनाइएको बताए। 

corrent noodles
Metro Mart

यस्तै अध्यादेशमार्फत संशोधन गरिएको औषधि ऐनअनुसार पनि उक्त खोपले अनुमति पाएको केसीको भनाइ छ। 

कोभिसिल्डले अनुमति पाउनुको अर्को आधार नेपालको स्वास्थ्य पूर्वाधार हो। विभिन्न देशमा आपत्कालीन प्रयोगमा आएका खोप माइनस २० देखि माइनस ७० डिग्री सेन्टिग्रेडसम्म चिस्यानमा राख्नुपर्ने खालका छन्। 

नेपालमा यति धेरै चिस्यानमा राख्ने पूर्वाधार छैन।  कोभिसिल्ड भने अन्य खोपजस्तै भण्डारण गर्न सकिने स्वास्थ्य अधिकारी बताउँछन्।

कोभिसिल्ड दुई देखि आठ डिग्री सेन्टिग्रेडमा भण्डारण गर्न सकिन्छ। नेपालमा यस्ताे भण्डारण क्षमताको पूर्वाधार छ। 

‘कोभिसिल्ड’ को प्रभावकारिता

कोभिसिल्ड’ ६० देखि ८० प्रतिशतसम्म प्रभावकारी रहेका रिपोेर्ट सार्वजनिक भएका छन्। भारतमा यो खोप लगाएका सयौं मानिसमा साइड इफेक्ट देखिएको छ। 

जनस्वास्थ्य विज्ञ डा. समीरमणि दीक्षित कुनै पनि खोप शतप्रतिशत प्रभावकारी नहुने बताउँछन्। 

खोप लगाइएकामा देखिएको साइड इफेक्टबारे दीक्षित भन्छन्, ‘खोप हजारौं मानिसमा परीक्षण भएपछि बाहिर आएको हो। त्यसैले लाखौं मानिसमा लगाउँदा चार पाँच सयमा समस्या देखिनु नौलो होइन। खोप लगाएका मानिसमा पहिल्यै पनि समस्या भएको हुन सक्छ। यसलाई सामान्य रूपमा लिनुपर्छ।’ 

कोभिसिल्ड भण्डारण, विश्वसनीयता र मूल्यका हिसाबले नेपालका लागि उपयुक्त रहेको उनको भनाइ छ। 

कोभिसिल्डको भण्डारण क्षमता 

नेपालले भण्डारण क्षमताका आधारमा विभिन्न देशले बनाएको खोपलाई तीन तहमा राखेको छ। पहिलो दुईदेखि आठ डिग्री सेल्सियस, दोस्रो माइनस २० र तेस्रो माइनस ७० देखि तलको तापक्रम। 

स्वास्थ्य सेवा विभागका अनुसार नेपालमा दुईदेखि आठ डिग्री तापक्रमका खोप भण्डारण गर्न ११ हजार २५० लिटर क्षमता भएको कोल्ड रुम तयारी अवस्था छ। एउटा कोल्ड रुममा ४२ लाख १४ हजार ५६० डोज भ्याक्सिन भण्डारण गर्न सकिन्छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतम भारतमा चलिरहेको मूल्यका आधारमा नेपालले कोभिसिल्ड खरिद गर्ने बताउँछन्। 

कोभिसिल्डको भारतमा प्रतिडोज २९४ भारतीय रुपैयाँ तोकिएको छ। यस हिसाबले नेपालमा एक डोज खोपको मूल्य ४७० रुपैयाँ पर्छ। 

कहिले आउँछ त खोप? 

प्रवक्ता डा. गौतम कोभिसिल्डले अनुमति पाए पनि ठ्याक्कै यही दिन आउँछ भन्न नसकिने बताउँछन्। 

उनले भने, ‘खोप खरिद गर्ने सबै प्रक्रिया अगाडि बढाइएको छ। सकेसम्म चाँडै आउँछ।’ उनले तीनदेखि पाँच प्रतिशत जनसंख्यालाई पुग्ने खोप एक सातामा आयात हुन सक्ने बताए।

सरकारले भारतसँग नेपाललाई चाहिने खोप मागेको छ। तर भारतबाट कहिले आउँछ भन्ने टुंगो लागिनसकेको स्वास्थ्य सेवा विभाग खोप महाशाखा प्रमुख डा. झलक गौतम बताउँछन्। 

उनी भन्छन्, ‘हामीले भारतसँग नेपालका लागि चाहिनेजति खोप मागेका छौं। भारतबाट आश्वासन पाएका छौं। भारतमा पनि माग धेरै छ। चाहेजति त एकै पटक आउँछ जस्तो लाग्दैन।’

मन्त्रालयका प्रवक्ता डा. गौतम सुरुमा ३० प्रतिशतलाई खोप दिने योजना रहेको बताउँछन्। 

कोभ्याक्सको खोप वैशाखसम्म 

कोभ्याक्सले नेपालका २० प्रतिशत जनसंख्यालाई पुग्ने खोप निःशुल्क उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। तर कोभ्याक्स्ले विश्व स्वास्थ्य संगठनले मान्यता दिएको खोप मात्रै उपलब्ध गराउँछ।  

विभिन्न देशले आपत्कालीन प्रयोगका लागि खोपलाई मान्यता दिए पनि विश्व स्वास्थ्य संगठनले फाइजर बायोनटेकलाई मात्रै प्रयोगको अनुमति दिएको छ। तर फाइजर बायोनटेकको खोप भण्डारणका लागि नेपालमा पूर्वाधार छैन। 

कोभ्याक्सले दिने खोप आगामी चैत÷वैशाखसम्ममा नेपालमा आइपुग्ने बताइएको छ। 

खोप सल्लाहकार समितिका खोपविज्ञ डा. श्यामराज उप्रेतीका अनुसार कोभ्याक्सले मार्च–अप्रिलसम्ममा खोप उपलब्ध गराउन सकिने जनाएको छ। तर कुन खोप पठाउने भन्नेबारे खुलाइएको छैन। सरकारले कोभ्याक्सले खोप पठाउन ढिलाइ गरेमा तीन प्रतिशत जनसंख्यालाई खोप खरिद गरी लगाउने तयारी गरेको छ। 

जी टू जीबाट खरिद 

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार खोप खरिद प्रक्रिया सरकार—सरकारबीच नै हुनेछ। निजी कम्पनीले खरिद गरेमा पनि त्यसमा सरकारकै अधिकार रहने प्रवक्ता गौतम बताउँछन्। 

खोपविज्ञ डा. उप्रेतीका अनुसार भारतबाट खोप उपलब्ध नभएमा अन्य खोप उत्पादक कम्पनीसँग पनि सहकार्य गरेर नेपालमा खोप ल्याइनेछ। 

मापदण्ड पूरा भए अन्य खोपलाई पनि अनुमति दिइने

औषधि व्यवस्था विभागका सूचना अधिकारी सन्तोष केसीका अनुसार चीनको ‘सिनो फर्मा’ ले विकास गरेको खोप र भारतको भारत बायोटेकको ‘कोभ्याक्सिन’ को पनि आयातका लागि निवेदन परेको छ। मापदण्ड पूरा भएमा दुवैलाई अनुमति दिइने केसीले बताए। 

खोप महाशाखाका प्रमुख डा. झलक गौतमका अनुसार अनुमति पाउनेबित्तिकै अन्य खोप पनि आयात गरिनेछ। तर खोप पहिलो डोज जुन दिइएको छ, दोस्रो डोज पनि सोही खोप दिइन्छ।

पहिलो चरणमा कसलाई?

पहिलो चरणमा कोभिड–१९ संक्रमितको प्रत्यक्ष–अप्रत्यक्ष सम्पर्कमा रहने अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, स्वास्थ्य निकायका कर्मचारी, सफाइकर्मी, सुरक्षाकर्मीलगायतलाई खोप लगाइनेछ। 

स्वास्थ्यकर्मीलाई तालिम दिने र ड्राइरन लगायतको तयारी अघि बढिसकेको मन्त्रालयले जनाएको छ। ड्राइरन भनेको कोभिड–१९ विरुद्धको खोप लगाउनु भन्दा पहिलेको अवस्था हो।

खोप महाशाखाका प्रमुख डा. गौतमका अनुसार स्वास्थ्यकर्मीपछि प्राथमिकताको आधारमा ५५ वर्ष कटेका, ४० देखि ५४ वर्षका अन्य रोग ग्रसित व्यक्तिलाई खोप दिइनेछ।

त्यसैगरी ४० देखि ५४ वर्षका स्वस्थ र १६ देखि ३९ वर्षका मानिसले प्राथमिकताका आधारमा खोप पाउनेछन्।

प्रकाशित: Jan 18, 2021| 22:40 सोमबार, माघ ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।