समाचार

समाज एउटा एकाइ हो, पुरुष र महिला दुई हाँगा हुन्

तुलसीलक्ष्मी सुवाल, संरक्षणकर्मी

1615185574.jpg
सालक संरक्षणका क्रममा धादिङका स्थानीयसँग कुराकानी गर्दै तुलसीलक्ष्मी सुवाल।

‘दृढइच्छा शक्ति भएमा पुरुष बाधक बन्दैनन्, थप हौसला र सहयोग पाइन्छ।’ यो भनाइ हो, संरक्षणकर्मी तुलसीलक्ष्मी सुवालको। 

लोपोन्मुख जीव सालक संरक्षणमा सक्रिय तुलसी आफ्नो पहिचान स्थापना हुनुमा पुरुषको ठूलो साथ र सहयोग रहेको बताउँछिन्। 

तुलसी भन्छिन्– ‘तपाईंले कुनै काममा दृढ संकल्पित हुनुभयो भने पुरुषबाट सहयोग नपाइने भन्ने हुँदैन। हामीले नयाँ समाज बनाउने हो, छुट्टै दुईटा समाज त बनाउने होइन नि।’

भक्तपुरको ‘चोछें’ टोलमा जन्मिएकी तुलसीलक्ष्मी सुवाललाई ठूलो भएपछि आफ्नो बुवाजस्तै मास्टर बन्ने रहर थियो।

लेखपढमा रुचि राख्ने सुवाल भक्तपुर क्याम्पसबाट आईएस्सी पढिरहँदा मुटुको व्यथाले आमाले संसार छाडिन्। एक बहिनी र दुई भाइकी दिदी तुलसीमाथि जिम्मेवारी थपियो। अनि स्थानीय प्रभात स्कुलमा पढाउन थालिन्।

केही समयपछि तत्कालीन दीपेन्द्र प्रहरी स्कुल साँगामा पढाउन पुगिन्। उनलाई पढाउँदै पढ्ने रहर जाग्यो। १९ वर्षमा प्रहरी स्कुल छिरेकी तुलसीले पाटन क्याम्पसबाट प्राणीशास्त्रमा चारवर्षे स्नातक नगरुन्जेल पढाइरहिन्।

स्नातक पढ्न उनलाई सजिलो थिएन। कक्षामा नियमित हुनैपथ्र्यो। उनले प्राध्यापकहरूसँग आग्रह गरिन्, ‘सर मैले त स्कुलमा पढाउनुपर्छ। क्लास लिन आउन भ्याउँदिनँ तर प्राक्टिकल र फिल्ड वर्कमा चाहिँ आउँछु।’

तुलसीले त्यसो भन्दा प्राणीशास्त्रका प्राध्यापक पारसनाथ आचार्य, खड्ग बस्नेतलागयत अक्कनबक्क भए। किनकि प्राणीशास्त्र पढ्ने विद्यार्थीले यसअघि यस्तो समस्या सुनाएका थिएनन्।

तुलसीले घरको कथाव्यथा सुनाएपछि प्राध्यापकरू पनि सकारात्मक भए। 

त्यसबीचमा विवाह भयो। छोरो जन्मियो। पति तथा सासूससुराले उनको पढाइमा सहयोग गरे। ‘ससुराले सबै बुहारीले पढून् भन्ने चाहनुभएको थियो,’ सुवाल भन्छिन्, ‘उहाँले पढाइको महत्त्व बुझ्नुभएको थियो।’

प्रहरी स्कुलमा एघार–बाह्रको पढाइ सुरु हुने भयो। त्यसपछि तुलसीलाई स्नातकोत्तर पढ्ने दबाब बढ्यो। 

समाजशास्त्रमा स्नातक गर्न त्रिचन्द्रमा भर्ना भइन्। तर उनलाई त्यसले आकर्षित गरेन।

अनि उनी स्कुलबाट दुई वर्ष बेतलबी बिदा लिएर त्रिवि केन्द्रीय प्राणीशास्त्र विभागमा भर्ना भइन्।

‘मलाई तत्कालीन स्कुल प्रिन्सिपल शेषकान्त अर्याल र क्याम्प कमान्डर घनश्याम अर्यालले धेरै सहयोग गर्नुभयो,’ प्रहरी स्कुलकी ‘वेस्ट एन्ड एक्टिभ टिचर’ तुलसीले भनिन्, ‘पछि आउनुभएका प्रिन्सिपल हेमन्तशमशेर राणा र क्याम्प कमान्डर प्रकाश ओझाबाट पनि उत्तिकै हौसला पाएँ।’ उनको पढाइमा घरबाट कहिल्यै अवरोध भोग्नुपरेन।

स्नातकोत्तर सकिएपछि उनले सालकमा अनुसन्धान गर्ने विचार गरिन्। 

सालक संरक्षणका लागि उनी साना स्तनधारी प्राणी संरक्षण तथा अनुसन्धान फाउन्डेसनमा खटिएकी छिन्।

अनुसन्धानका क्रममा धेरै पहाडी जिल्ला भ्रमण गरेकी उनी थुप्रै विदेशी कार्यक्रम र कार्यशालामा पनि सहभागी भइसकेकी छन्।

सालक संरक्षणकर्ताका रूपमा पहिचान बनाइसकेकी तुलसीको आगामी वर्षसम्ममा सालकको विषयमा पीएचएडी पूरा गर्ने योजना छ। 

उनी भन्छिन्, ‘भोलिको बारेमा सोचेर यसो गर्छु भनेर यहाँसम्म आइपुगेकी होइन तर जे गरें राम्रैसँग गर्छु भन्ने सोचले गरें।’

आफ्नो उपलब्धिलाई सामूहिक प्रयासको परिणाम ठान्छिन् उनी। सशस्त्र प्रहरीको इन्जिनियरिङ विभागमा कार्यरत पति मनोज बखुन्छेको साथ उनको सफलताको भर्‍याङ हो।

‘घरभित्र र घरबाहिर पाएको सहयोगलाई मैले नजरअन्दाज गरिनँ,’ तुलसी भन्छिन्, ‘कसैले भन्ने ठाउँ नपाओस् भनेर सधैं गम्भीर भएर काम गरें। त्यही कामले मलाई आज देशविदेशमा चिनाएको छ।’

पीएचडी गर्न जुद्धबहादर गुरुङ र शान्तराज ज्ञवालीले निकै हौसला दिएको उनी बताउँछिन्।

उनी भन्छिन्, ‘समाज एउटा एकाइ हो। पुरुष र महिला त्यसका दुई हाँगा हुन्।’ महिला भनेर साँघुरो पार्ने सोचाइ भत्काउन भने सहज नभएको उनको अनुभव छ। 

प्रतिक्रिया दिनुहोस्