जनकपुरधाम– प्रदेश २ मा सोमबार बलिदानी दिवस मनाइएको छ। मधेस आन्दोलन १४ वर्ष पूरा भएको अवसरमा बलिदानी दिवस मनाइएको हो।
प्रदेश सरकारले प्रत्येक वर्ष माघ ५ गते औपचारिक रुपमै बलिदानी दिवस मनाउँदै आएको छ।
यस वर्ष पनि प्रदेश सरकारले जनकपुरधाममा एक कार्यक्रमको आयोजना गरी बलिदानी दिवस मनाएको छ। प्रदेश सरकारले जनकपुरधामस्थित उद्योग वाणिज्य संघको सभाहलमा बलिदानी दिवस मनाएको छ।
मधेस आन्दोलनको अगुवाइ गरेका युवाले जनकचोकस्थित सडकमा बलिदानी दिवस मनाए।
प्रदेश सरकारले आयोजना गरेको बलिदानी दिवसमा सहिद परिवारका सदस्यहरु, जसपाका वरिष्ठ नेता राजजेन्द्र महतो, अनिल झा, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, मन्त्रीहरु जितेन्द्र सोनल, नवलकिशोर साह, रामनरेश राय लगायत सहभागी थिए।
कार्यक्रमको अध्यक्षता पहिलो मधेस आन्दोलनका प्रथम सहिद रमेश महतोको आमाले गरेकी थिइन्।
कार्यक्रममा जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले सहिद परिवारसँग गरिएको वचन पूरा गर्न प्रदेश सरकारलाई आग्रह गरे। उनले सहिदकै बलमा जनताले संघीयता पाएको बताए।
उनले भने, ‘आन्दोलन सफल भएलगत्तै हामीले सहिद परिवारलाई ५० लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थियौं। त्यो अहिलेसम्म हुन सकेको छैन।’ उनले सहिद परिवारलाई प्रदेश सरकारले सहयोग गर्नुपर्ने बताए।
रकम उल्लेख नरहेको कागजमा हस्ताक्षर
प्रदेश सरकारले सोमबार आयोजना गरेको कार्यक्रममा आठै जिल्लाका सहिद परिवारका सदस्यको सहभागिता थियो। कार्यक्रममा सहभागी सदस्यलाई दोसल्ला ओढाएर २५ हजार नगदसहित सम्मान गरिएको थियो।
प्रदेश सरकारले सहिद परिवारका सदस्यलाई आर्थिक सहयोग गरेबापत हस्ताक्षरसमेत गराएको छ। तर हस्ताक्षर गराइएको कागजमा रकम उल्लेख छैन।
रकम नै उल्लेख नरहेको कागजमा हस्ताक्षर गराएर आर्थिक सहयोग गरिनुले भ्रष्टाचार हुन सक्ने तर्फ स्थानीय सशंकित छन्।
‘मधेसी नेता भ्रम सिर्जना गर्नै व्यस्त’
युवाको एक समुहले छुट्टै कार्यक्रम गरी बलिदान दिवस मनाएको छ।
युवाहरुले मुख्यमन्त्री लालबाबु राउत र जसपाका मुख्य नेताहरुको आलोचना गरेका छन्। उनीहरुले प्रदेश सरकार जनताको नभई व्यक्तिवादी, नातावादी, कृपावादी र दलाल व्यवसायी रहेको आरोप लगाए।
प्रदेश सरकारले अन्तिम आन्दोलन बाँकी रहेको भनेर सत्तामा पुग्न जनतालाई भ्रमित पारिरहेको भनाइ उनीहरुको थियो।
मधेस अधिकार संघर्ष समिति (मास) का संयोजक सरोजकुमार मिश्रले जनताको छोराछोरीलाई मधेसको अधिकारको नाम भजाएर आन्दोलनको उपलब्धिलाई नै बेचेको आरोप लगाए।
मासका अर्का नेता सुशील कर्णले प्रदेश सरकारले सहिद, जनता र धार्मिक आस्थामाथि खेलवाड गरिरहेको आरोप लगाए।
नेता दीपककुमार झाले मधेस आन्दोलनका बेला आन्दोलन विरोधी कुरा गर्नेहरु नै अहिले सरकारमा रहेको भन्दै बताए।
उनले भने, ‘पञ्चायत सरकारको समयमा राजाको पक्षमा बोल्नेहरु नै अहिले ठूलो गणतन्त्रवादी र संघीयताका पक्षधर बनेका छन्।’
तत्कालीन मधेसी जनअधिकार फोरम नेपाल धनुषाका उपाध्यक्ष दिनेश पूर्वेले प्रदेश २ सरकारमा आसन रहेका मन्त्रीहरुले जनताको भावनामाथि कुठाराघात गरेको आरोप लगाए।
जसपाका नेतासमेत रहेका अरुण झाले प्रदेश सरकारले आफ्ना नातागोता, जातिवाद र घुस दिनेलाई मात्रै राजनीतिक नियुक्ति दिने गरेको आरोप लगाए।