काठमाडौं– राष्ट्रिय प्रसारण लाइन नजोडिएको जुम्लामा आइतबारदेखि नियमित लोडसेडिङ सुरु भएको छ।
नेपाल विद्युत् प्राधिकरण जुम्ला वितरण केन्द्रले विद्युत् अपुग भएको भन्दै ४ माघमा तालिका सार्वजनिक गरेको हो।
जसअनुसार समूह ‘क’ अन्तर्गत दिउँसो १२ बजेदेखि १२ः३० र राति ९ः३० देखि १२ बजेसम्म लोडसेडिङ हुने छ।
समूह ‘क’ मा टुँडिखेल, बाहिनी, महतगाउँ, मिचा र गैरागाउँलाई राखिएको छ।
समूह ‘ख’ मा दिउँसो १२ः३० देखि राति ९ः३० सम्म विद्युत् कटौती हुने जुम्ला वितरण केन्द्रले जनाएको छ। विजयनगर ठूलो, विजयनगर सानो, बोहोरागाउँ र बसपार्क समूह ‘ख’ मा परेका छन्।
वितरण केन्द्रका प्रमुख गौरव पाण्डेले राष्ट्रिय प्रसारण लाइन नजोडिएको र खोलाको पानी कम भएसँगै स्थानीय उत्पादन घटेकोले लाडसेडिङ गर्नुपरेको नेपाल समयलाई जानकारी दिए।
वितरण केन्द्रले हरेक हप्ता समूह परिवर्तन हुने जनाएको छ। त्यस्तै हरेक दिन बिहान २ देखि ५ बजे, ८ देखि १० बजे र दिउँसो ४ देखि ६ बजेसम्म पावरहाउस बन्द रहने जनाइएको छ।