बिहीबार, वैशाख १३, २०८१

ओहो ! त्यो ३५ मिनेट सात सकेन्ड...!

प्रतिभा हरेक व्यक्तिमा हुन्छ। अवसर पाएमा त्यसलाई जसले पनि तिखार्न सक्छ। साथमा हुनुपर्छ, निरन्तरको लगाव, कडा परिश्रम र धैर्य। एक न एक दिन मानिस सफलताको शिखरमा पुगेरै छाड्छ।
 |  शनिबार, माघ ३, २०७७

विनय सापकोटा

विनय सापकोटा

शनिबार, माघ ३, २०७७

काठमाडौं– ओहो ! त्यो ३५ मिनेट सात सकेन्ड...! मेरो दौडको अनुभव शब्दमा व्यक्त गर्नै सक्दिनँ। 

triton college

बाल्यकालमा मलाई रनिङभन्दा त पढ्नै सजिलो लाग्थ्यो। तर परीक्षामा पास भए पुगिहाल्यो। रनिङमा त फस्ट हुनुपर्छ।

दस हजार मिटर यात्रामा लम्किएपछि मेरो ध्यान जान्थ्यो– साथीहरुतर्फ। उनीहरुलाई क्या मज्जा छ, बाहिर घुमिरहेका छन्, रमाइरहेका छन्।

अनि बिहे गरेका र बच्चासमेत पाइसकेका साथी सम्झन पुग्थें। फेरि सोच्थें– उनीहरू दौडिन पाएनन्, त्यसैले म दौडिनुपर्छ।

हो, जो एकदमै ट्यालेन्ट छन् तर अवसर पाएका छैनन्। उत्कृष्ट भएर पनि गुमनाम छन्। उनीहरूका लागि दौडनुपर्छ। मैले यही संकल्प लिएँ। ती गुमनाम ट्यालेन्टको ऊर्जा आफूभित्र रहेको महसुस गरें। म दौडिइरहें।

corrent noodles
Metro Mart

गुरुले भने– ‘आँट गर।’ मैले आफैंसँग बाचा गरेकी थिएँ– म थाकौंला, तर मैले सक्दो गरें भने इतिहासले सम्झनेछ। 

दिमागमा पलमै हजारौं विचार आए– सबै अभ्यास सम्झिएँ। मैले नेपालको प्रतिनिधित्व गरिरहेकी छु। त्यतिबेला मलाई जित्नैपर्छ भन्नेचाहिँ लागेको थिएन। सकेजत्ति गर्नुपर्छ भन्नेमा चाहिँ दृढ थिएँ।

अन्तिम राउन्ड बाँकी हुँदासम्म पनि फस्ट हुन्छु होला भन्ने सोचेकी थिइनँ। त्यस्तो बेला दिमागमा कोही अघि छ भने त्यसलाई जितेर फस्ट हुन्छु भन्ने आउँछ। तर सबै पछि हुँदा पछाडिबाट कसैले जित्ने पो हो कि! भन्ने डर मनमा आउँदो रहेछ। 

दौड सकिँदा पनि ‘बेस्ट’ भएँ भन्ने सोचेकी थिएँ। ‘आई वाज थ्यांकफुल टू माइसेल्फ।’ गौरवको अनुभव भयो। अनि अघि बढेर स्क्रिनमा हेर्दा शीर्षस्थानमा मेरै नाम देखेपछि चाहिँ जितेछु भनेर रोमाञ्चित भएँ।

मैले त्यही त हो सबैभन्दा ठूलो उपलब्धि हसिल गरेको– सागको गोल्ड मेडल। 

धाविका सन्तोषी श्रेष्ठले ३५ मिनेट सात सकेन्ड दौडँदा प्राप्त गरेको उपलब्धिको कथा हो यो। उनले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा महिला एथलेटिक्समा पहिलो स्वर्ण जितेकी थिइन्।

उनको अनुभव सुन्दा जिज्ञासा उत्पन्न हुन्छ, ढुंगा पुज्ने कि मूर्ति बनाएर पुज्ने? सन्तोषी भन्छिन्, ‘मूर्ति बनाएको ढुंगामा सबैको आकर्षण हुन्छ। धजाले बेरेर रङ चढाएको ढुंगामा मानिस त्यति आकर्षित हुँदैन।’

उनका अनुसार मूर्तिमा आकर्षण हुनु भनेको मेहनतको फलमा लोभिनु हो। जसले मेहनत गर्छ उसले सफलता पाउँछ। 

त्यो स्वर्ण पदकले देशको गौरव मात्र बढाएन, सन्तोषीको पनि उचाइ चुलियो।

तस्विरः दिनेश श्रेष्ठ

रंगशालासँग साइनो 

रंगशालाको मैदान एक वर्षपछि हेर्दा कस्तो लाग्छ? उनी भन्छिन्, ‘प्यारो। मलाई पहिल्यैदेखि रंगशालासँग एट्याचमेन्ट छ। सुरुमा प्रवेश गर्दा अजिबकै लाग्थ्यो।’

हुन त उनलाई हरेक सडक उत्तिकै प्यारो लाग्छ। रंगशालातर्फ लाग्दा जंगी अड्डाबाट अघि लागेपछिको ओरालोमै उनको मुटुको धडकन बढ्छ। उनी भन्छिन्, ‘अभ्यासमै आउँदा पनि ढुकढुक हुन्छ अनौठो गरी।’

भूकम्पले भत्किएको अवस्थामा पनि उनलाई रंगशालासँग उत्तिकै प्रेम थियो। सन्तोषी भन्छिन्, ‘अहिले रङ र बनावट फेरिए पनि मलाई यहाँको भाइब्स उस्तै लाग्छ।’

रंगशालाको बी ब्लकमा बसेर कुराकानी गरिरहँदा उनले भनिन्, ‘साग उद्घाटन यहीं बसेर हेरेकी थिएँ। ओलम्पिक टर्च बालेको, सांस्कृतिक कार्यक्रम र अन्य गतिविधि। मेरो प्रतिस्पर्धा पर्सिपल्ट थियो। मलाई खुब खुसी लागिरहेको थियो। म भित्रैदेखि हाँसेकी थिएँ।’

किन त? उनी भन्छिन्, ‘खै! अर्कै कुरा महसुस भइरहेको थियो। दीपक विष्ट लगायतका अग्रजहरुले टर्च बालिरहनुभएको थियो। उहाँहरूको नामले रंगशाला गुञ्जिरहेको थियो।’

विष्टको नाम पटकपटक आइरहेको थियो। उनले सोचिन्, ‘हामी खेलाडी, हाम्रो पनि नाम यसरी नै आए कस्तो हुन्थ्यो होला?’

अनि उनको सोचाइ अर्कोतिर मोडियो, ‘कामले त नाम आएको हो नि। मैल पनि गर्न सकें भने त्यस्तै भइहाल्छ।’

त्यतिबेला उनी आफ्नै धुनमा थिइन्। भन्छिन्, ‘म भित्रभित्रै अर्कै संसारमा हराइरहेकी थिएँ।’ उद्घाटन समारोहको उल्लासले पनि उनलाई दौडमा सहयोग पुग्यो। 
‘एक वर्षपछि यहाँ आउँदा मैदान खाली देखिए पनि दिमागमा त्यही आकृति आउँछ’, उनले भनिन्।

दौडसँगको साइनो

विद्यालयमा भएका प्रतियोगितामा उनले व्यावसायिक तालिममा नगईकनै पदक जित्थिन्। अरू खेलाडी क्लबमा अभ्यास गरेर पनि शीर्ष तीनमा पर्दैनथे। उनी घरमा एक्लै अभ्यास गर्थिन्। 

अभिभावकले ‘त्यसै त यस्तो राम्रो कुदिरा’छ्यौ तालिम गरे कस्तो हुन्छ होला?’ भनेपछि उनलाई हौसला मिल्थ्यो। अनि दौडले उनको दिमाग अल्झाइरह्यो। भन्छिन्, ‘त्यहाँबाट बाहिर जानै सकिनँ।’ 

सन्तोषी कक्षा ६ मा पढ्दा सहभागी भएको पहिलो दौडमा प्रथम भएकी थिइन्। त्यसपछि उनलाई दौडप्रति रुचि जाग्दै गयो।

खेलमा लाग्दा उपलब्धिबारे कहिल्यै नसोचेको उनी बताउँछिन्। उनले भनिन्, ‘सागमा स्वर्ण आउला र अवार्ड पाइएला भनेर सोचेकै थिइनँ। नआउला भन्ने पनि थिएन।’

अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेका खेलाडी देख्दा लाग्थ्यो, ‘अहो ! कस्तो खत्रा! म पनि यस्तै हुन पाए?!’ 

ती खेलाडीसँग आफूलाई दाँजेर हेर्थिन्। मनमा प्रश्न उठ्थ्यो– ‘मैले त्यसका लागि के गरिरहेको छु? स्वअभ्यासले मात्र कसरी जित्न सकिएला र?’

उनले हिम्मत हारिनन्, दह्रो अठोट लिएर दौडमा लागिरहिन्।  आत्मविश्वास बढ्दै गयो। 

सुरुमा रंगशाला प्रवेश गर्दा कोही बोलिदिए पनि फुरुंग पर्थिन् सन्तोषी। केही जान्ने इच्छा हुन्थ्यो। अनि कहाँबाट कुद्न सुरु गर्ने र कति कुद्ने भन्ने दोधारमा पर्थिन् उनी।

बिस्तारै अभ्यासमा व्यस्त हुन थालिन्। नेपाल प्रहरीको विभागीय खेलाडीसँग अभ्यास अघि बढिरह्यो। त्यो क्रम आजसम्म पनि उस्तै छ।

 

तलब आउने काम छाडेर किन खेलमा?

सुरुसुरुमा उनलाई धेरैले खेलकुदमा नलाग्न सल्लाह दिन्थे। अर्को साथीको उदाहरण दिँदै प्रश्न गर्थे, ‘ऊ तिमीभन्दा माथि भयो तर तिमी पछि पर्‍यौ भने के गर्छ्यौ?’

महिनैपिच्छे तलब आउने काम छोडेर र एकेडेमिक क्षेत्र छोडेर खेलमा लाग्दा सबैले आश्चर्य व्यक्त गरेका थिए।

उनी भन्छिन्, ‘मसँग ज्ञान भए पचास/साठी वर्षको हुँदा पनि जहाँसुकै काम गर्न सक्छु। तर मसँग बल छ र कौशल छ भनेर साठी वर्षमा दौडिन त सकिन्न नि!’

सागपछि उनले नयाँ सुझाव पाइन्– ‘यति सफलता हात पारिहाल्यौ फेरि किन कुद्ने? अब आफ्ना लागि केही गर।’ केहीले उनलाई अझै अघि बढ्न सल्लाह दिए।

बहादुरीका कथा सुनाउन पाइयोस् 

जागिर नखाएकोमा सन्तोषीकी आमालाई दुःखेसो रहेछ। भन्ने गर्छिन्, ‘मैले पनि जागिर खाको भए पेन्सन पकाइसक्थें। म तेरो उमेरमा भएको भए के के गर्थें हुँला।’

उनलाई पनि एकपटक यस्तै अनुभव भयो। ‘म २० वर्षकी थिएँ,  बाल्यकालको याद आयो। त्यसअघि त्यस्तो हुन्थेन। अनि लाग्यो ठूलो हुँदै जाँदा विगत्को याद आउने रहेछ।’

एकपटक आमाले टीभीमा नृत्य हेर्दै भनिन्, ‘म पनि तेरो उमेरको भएको भए त्यसरी नै नाच्थें।’ उनलाई त्यही कुराले आजसम्म पनि छुन्छ। सबै काम उमेर हुँदा नै गर्ने त हो। उमेर गएपछि कसको के लाग्छ र?

उनी भन्छिन्, ‘मैले त्यस्तो भन्न नपरोस्। बुढेसकालमा विगतका प्रेरणादायी कथा सुनाउन पाइयोस्। त्यसैले दौडमा टिकेकी छु।’

कलेज, काम र अभ्यास

जनस्वास्थ्यमा स्नातक सन्तोषीले जागिर नखाएकी कहाँ हुन् र?  फिल्ड मेनेजर भएर प्रवेश गरेकी उनले डाटा इन्ट्री, ट्रान्सलेटर–ट्रान्सक्राइबर हुँदै रिसर्च अफिसरसम्म भइन्। सन्तोषीले दौड भने कहिल्यै छाडिनन्। 

पढाइ कहाँसम्म पुग्यो त? उनी भन्छिन्, ‘अबचाहिँ मास्टर पढ्नका लागि कसरत गर्दै छु।’ 

खेलमा लाग्दा पढाइ छुटेछ हैन? उनी भन्छिन्, ‘नलागेको भए अन्तर्राष्ट्रिय डिग्रीचाहिँ लिन्थें। पढाइ बिगारेर रनिङ गरेको छैन। त्यसैले ढुक्क छु।’ सन्तोषीले खेल र पढाइ सँगसँगै अगाडि बढाएकी पनि हुन्। तर एउटा डुंगामा दुईटा खुट्टा उनलाई निकै सकस परेको थियो।

उनी भन्छिन्, ‘कहिले त परीक्षा र खेल एकैपटक आउँछ। परीक्षाका लागि पढ्नुपर्ने, खेलका लागि सुत्नुपर्ने।’

कुनै बेला त उनी पढाइ, काम र खेल गरी तीनतिर संलग्न थिइन्।  ‘नभ्याउँदा नरमाइलो पनि लाग्थ्यो। पढाइचाहिँ छोड्नै मन लागेन,’ उनले भनिन्, ‘खेलमा जहाँ पुगे पनि पुगियोस्, छोड्नु हुँदैन भन्ने थियो।’

एनजीओमा काम गर्दा त उनी राति आठ बजेमात्र अभ्यासमा निस्किन्थिन्। उनले भनिन्, ‘अहिले सोच्दा राति आठ/नौ बजे पनि कोही कुद्छ त भन्ने लाग्छ।!’ 

देख्नेहरुले भन्थे, ‘केटी भएर पनि कुदिरा’छ ! दौडिँदा बाटोमा ट्रक ड्राइभरले जिस्काएको पनि उनको स्मरणमा ताजै छ।’

दौडमा ज्यादै लगाव थियो। उनी भन्छिन्, ‘खाजा÷खाना बसमै खान्थें। एक वर्ष त्यसरी बित्यो। आठौं राष्ट्रिय खेलकुद आउँदै थियो। त्यसैले जागिर र बिहानको कक्षा दुवै छाडें।’

दक्षिण एसियाली खेलको अभ्यासमा शिविरमा बस्नुपर्दा पढाइ अवरुद्ध भयो। काम र पढाइ छाडेपछि उनलाई अभिभावकबाट निकै दबाब सहिन् उनले। मानसिक तनाव भोग्नुपर्यो। 

उनी पढाइ जारी राख्ने सोचाइमा छिन्। भन्छिन्, ‘केही समय होल्ड भएको हो।’

साहित्यमा पनि सौखिन

सन्तोषीको मनपर्ने साहित्यिक विधा निबन्ध हो। सानैदेखि उनी डायरी लेख्थिन्। भन्छिन्, ‘कविता पनि लेख्थें।’ 

गजल सुन्नमा उत्तिकै सौखिन। शनिबार आउनेबित्तिकै प्रदर्शनीमार्गस्थित वाल्मीकि विद्यापीठ पुग्थिन्। जहाँ हरेक साता गजल वाचन हुन्थ्यो।

‘कथा सुन्नचाहिँ बालकोसेलीमा जान्थें। तर त्यसमा त्यति रुचि जागेन। १२ कक्षापछि साहित्यमा झुकाव कम भयो। पहिले पनि आफ्नै लागि लेख्थें, अहिले पनि मन बहलाउन लेख्छु र फेसबुकमा अन्ली मी गरेर राख्छु। यसलाई स्वान्त सुखायः भन्छन् क्यार।’

अचेल खाली समय भयो भने उनका हात मोबाइलको नोटप्याडमा सलबलाउन थालिहाल्छन्। त्यतिबेलै फुर्छन् कविता र निबन्ध पनि।

सन्तोषी मेलापात, दाउराघाँसमा पनि पोख्त छिन्। उनी भन्छिन्, ‘बिदामा घर जाँदा दिनभरि काम गर्थें। अहिले घरवरिपरि तरकारी लगाएका छौं। म पनि स्याहार गर्छु।’

आमाको इमान र दाजुको सल्लाहबाट प्रेरणा

सन्तोषी आमाको जाँगरको खुबै तारिफ गर्छिन्। उनले केही समयअघि आमालाई जन्मदिनको शुभकामना दिँदै फेसबुकमा लेखेकी थिइन्, ‘रमाउँदै, आत्तिँदै काम गरिराख्ने। अनि खेतबारीको काम गर्न थालेपछि सबै कुरा भुल्ने जाँगरिली मम्मीलाई जन्मदिनको शुभकामना।’ 

सन्तोषीले लगनशीलताको ज्ञान आमाबाबाटै पाएकी हुन्। उनी थप्छिन्, ‘जे गर्नुहुन्छ इमानदार भएर गर्नुहुन्छ मेरी आमा। मैले उहाँबाट सिकेको कुरा त्यही हो।’
उनका रोल मोडेलचाहिँ दाजु हुन्। अतिरिक्त क्रियाकलापमा लाग्ने प्रेरणा दाजु केदारबाट पाएको बताउँछिन्।

‘दाइले सल्लाह दिनुहुन्छ। अनि भाइचाहिँ सहयोगी छ। खासमा हाम्रो बोन्डिङ एकदमै राम्रो छ,’ उनी भन्छिन्, ‘दाइ बालसाहित्यमा अग्रसर हुनुहुन्छ। यसकै प्रभाव होला, घरमा हामी कहिलेकाहीं बालापनको जस्तै उप्रदो गर्छौं।’

उनीहरू कहिलेकाहीँ कोठामै बसेर रेडियोमा जसरी कार्यक्रम चलाउँथे। सन्तोषीले भनिन्, ‘दाइले मलाई कसरी हाँस्ने, कसरी रमाउने भनेर सिकाउनुभयो। म हिँडेको बाटो दाइले नै देखाउनुभएको हो।’

अनि विवाह ?

‘छैन, अहिले सोचेकी छैन।’ विवाहपछि खेल करियरको शंकाबारे भन्छिन्, ‘विवाहले मेरो खेल करियरलाई असर गर्दैन भन्ने लाग्छ।’

उनको बुझाइमा विवाह जीवन सजिलो बनाउन र सुरक्षित हुनका लागि गर्ने हो। र, लामो यात्राका साथ खोज्न गर्ने हो। उनी भन्छिन्, ‘आफ्नो लक्ष्य धरापमा पार्न त गर्ने होइन नि!’

यद्यपि पुरुषप्रधान समाजमा उनलाई पनि केही चिन्ता छ। ‘मेरो खुसी खेलमा छ। तर अर्को पक्षले स्वीकार गरेन भने म कसरी खुसी बन्ने त?’ आफूले गरेको कामले अरुलाई पीडा हुन्छ भने त्यसो गर्न नहुने उनको भनाइ छ। 

ज्ञानको अभावले लैंगिक विभेद रहेको उनको बुझाइ छ। ‘अब त पुरुष र महिलाको कुरा भएन कि, को मान्छे कस्तो भन्ने कुरा मात्र भयो’, उनी भन्छिन्, ‘कोही महिला भएर पनि महिलाले गरेको कामको खिसीटिउरी गरिररहेका हुन्छन्। अब बिस्तारै परिवर्तन भइरहेको छ।’

विवाहको प्रसंग टुंग्याउँदै सन्तोषीले भनिन्, ‘जहिलेसम्म सक्छु त्यो दिनसम्म खेल्छु। अहिले विवाहका लागि धेरै होमवर्क गनुपर्ने केही छैन।’

सामाजिक सञ्जाल

उनको बेस्ट एथ्लेट भन्ने छैन। कसैको एउटा कुरा मन पर्छ कसैको अर्को। त्यसैले उनी आफू कसैको फ्यान नरहेको बताउँछिन्।

यस कारण उनी सामाजिक सञ्जालमा पनि मानिस होइन विषयवस्तुलाई फलो गर्छिन्। त्यसमा पनि आफूलाई चाहिने कुरा मात्र।

‘म गेम र सिरियल खासै हेर्दिनँ। बरु गेमको रिभ्यू हेर्छु,’ उनी भन्छिन्, ‘सामाजिक सञ्जालमा धेरै समय बिताउँदिनँ।’ उनी नेटमा निङको भिडियो हेर्छिन्। 

पुरस्कार र सम्मान

सागमा स्वर्ण पदकसहित आठौं राष्ट्रिय खेलकुदका पाँच हजार, १५ सय र १० हजार मिटरमा क्रमशः स्वर्ण, रजत र कांस्य उनकै पोल्टामा परेका थिए।

यस्तै उनले वीर गणेशमान सिंह रोड रेस र नेवाः च्यारिटी धरानमा स्वर्ण तथा कान्तिपुर हाफ म्याराथनमा रजत पदक जितेकी थिइन्।

खेलकुदमा लागेको १३ वर्षपछि उपाधि पाएकी सन्तोषीलाई सरकारले पनि सम्मान गरेको छ। उनले राष्ट्रिय खेलकुद प्रतिभा सम्मान पाएकी छन् भने खेलकुद पत्रकार मञ्चले वर्ष उत्कृष्ट महिला खेलाडीमा मनोनयन गरेको थियो। उनले अर्की मेडलिस्ट आयशा शाक्यसँग स्पेसल अवार्ड सेयर गरेकी छन्। 

अन्त्यमा,

कोही सफल हुनुमा उसको परिवारको भूमिका ठूलो हुन्छ। दौडमा लाग्दा के हुन्छ र? भन्ने प्रश्नदेखि करियरमा सहयोग र जितपछिको प्रशंसा सबै उनले परिवारबाट प्राप्त गरिन्। एक प्रकारले संघ पनि परिवार जस्तै त हो।

त्यो दोस्रो परिवारबाट पनि उस्तै रहयोग पाइन्। 

उनले भनिन्, ‘पल्सर स्पोट्र्स अवार्ड र एनएनआईपीएमा पनि मनोनयनमा परेकी छु। यसले खेलमा थप अग्रसर हुने प्रेरणा दिन्छ। सरकारबाट सम्मान पनि पाएँ। त्यो चाहिँ प्रोत्साहनसँगै मलाई दिएको माया हो। जसले एकदमै हौसला मिलेको छ।’

अब उनको योजना दौडमा समय घटाउने रहनेछ। भन्छिन्, ‘लाग्छ, यो भन्दा राम्रो गर्न पाए हुन्थ्यो।’

प्रकाशित: Jan 16, 2021| 02:36 शनिबार, माघ ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।