समाचार

४२ जिल्लामा पुग्यो ‘बाँदर तर्साउने बन्दुक’ 

1614924466.jpg

काठमाडौं– देशका अधिकांश जिल्ला बाँदरमा दुःख दिइरहेको छ। बाँदरले खेतबारीमा लगाएको बालीनाली र फलफूल क्षति गर्दा किसान हैरान छन्। 

नेपालमा अहिलेसम्म बाँदर नियन्त्रणको ठोस उपाय पहिचान भइसकेको छैन। यद्यपि नियन्त्रणका लागि ‘बाँदर तर्साउने बन्दुक’ को प्रयोग बढिरहेको छ।

स्याङ्जाका भविश्वर कोइरालाले गत वर्षदेखि बनाएको बन्दुक हाल देशका झन्डै ४२ जिल्लामा पुगिसकेका छन्।

कोइरालाकै निर्माण विधिलाई केही परिस्कृत गरेर राष्ट्रिय आविष्कार केन्द्रले पनि ‘बाँदर तर्साउने बन्दुक’ मागअनुसार निर्माण गरेर आपूर्ति गरिरहेको छ।

कोइरालाले बनाएका चार हजार र आविष्कार केन्द्रले बनाएको १५ सय गरी ५५ सय त्यस्ता बन्दुक देशभरका विभिन्न कृषक समूह तथा समुदायमा पुगिसकेको छ।

‘यो बन्दुक घरेलु प्रविधिको औजार हो र पोलिभिनाइल क्लोराइड (पीभीसी) पाइपको प्रयोग गरेर बनाइन्छ,’ कोइराला भन्छन्।

चार हजार बढी त्यस्ता बन्दुक बनाइसकेका कोइराला भन्छन्, ‘मागअनुसार बनाउँदै आपूर्ति हुँदै आएको छ। बन्दुकको माग गर्ने गाउँपालिका तथा नगरपालिकालाई मात्र दिने गरेका छौं। एकल व्यक्तिलाई दिँदैनौं।’

गाउँपालिका र नगरपालिकामार्पmत टोल तथा समुदायको कृषक समूह, कृषि सहकारीमा पुग्ने गरेको छ।

बन्दुक सानो, मझौला र ठूलो गरी तीन आकारमा बनाइएको छ। यसको मूल्य मूल्य क्रमशः १५ सय, दुई हजार र पच्चीस सय पर्ने कोइरालाले बताए।

कसरी काम गर्छ बन्दुकले?

बन्दुकमा पाइपको लामो सोली वा ढुंग्र्री हुन्छ। जसमा क्यालसियम कार्बोनाइटको झोल हालेर पानी मिसाइन्छ। सो मिश्रण केहीबेर हल्लाउँदा बाफ बन्छ। त्यो बाफलाई लाइटरले सल्काएपछि ठूलो आवाजमा विस्फोट हुन्छ।

‘वृद्धवृद्धा र केटाकटीलाई यसको आवाजबाट जोगाउनुपर्छ भने कुखुराजस्ता प्राणीको अगाडि पनि पड्काउनु हुँदैन,’ कोइराला भन्छन्।

प्रभावकारी होला त?

बाँदर किन खेती र बस्तीमा आयो भन्ने बारेमा गम्भीर अध्ययन नभईकन गरिने नियन्त्रण प्रयास सफल हुनेमा संरक्षणकर्मी राजु आचार्य शंका व्यक्त गर्छन्।

‘बाँदर किन आयो भन्ने थाहा पाउन सकिए पो नियन्त्रणका लागि के गर्ने भन्ने थाहा पाउन सकिन्छ। त्यो पाटोमा अध्ययन नै हुन सकेको छैन,’ आचार्य भन्छन्।

‘यी विधि बाली वा बस्तीमा आएका बाँदर भगाउने उपाय मात्र हुन्,’ आचार्य भन्छन्, ‘फेरि नेपालमा छरिएर रहेको बस्तीमा एउटा ठाउँमा धपाइयो भने अन्त जान्छन् त्यसले गर्दा पनि पूर्ण समाधान त हुँदैन।’

चतुवा विज्ञ यादव घिमिरे प्रविधिमार्फत बाँदर धपाउने कुरा दीर्घकालीन र प्रभावकारी नहुने तर्क राख्छन्। 

‘एक कालखण्डपछि बाँदरलाई त्यसको पनि बानी पर्छ’, घिमिरे भन्छन्, ‘फेरि त्यो आवाजले अरू प्राणीलाई नकारात्मक प्रभाव पर्छ भन्नेमा पनि सचेत हुनुपर्छ।’

जंगलमा चितुवाको संख्या घट्दा पनि बाँदरको संख्या बढेको घिमिरेको अनुमान छ।

‘समुदाय नजिकको वनमा जंगलको गुणस्तर बढाउन पनि बाँदर लक्षित फलफूल लाउने हो वा अन्य वैकल्पिक विधि अपनाउने हो त्यस बारेमा पनि सोच्नुपर्छ,’ घिमिरे भन्छन्। 

चराहरुको काल बन्दै बन्दुक 
अप्राकृतिक रुपमा ठूलो आवाज निकाल्ने बन्दुकको प्रयोग बढ्दा चरा संरक्षणकर्मी भने चिन्तित बनेका छन्।
ठूला आवाजसहितको विस्फाेटले मानिसलाई जस्तै चराहरुको कान सन्न हुन, दिमाग चक्कराउने र सक हुने गर्छ,’ चराको व्यवहारमा विद्यावारिधि गर्दै गरेका कमलराज गोसाइँ भन्छन्, ‘त्यस्तो विस्फाेेटले चराहरुलाई प्रकृतिमा कुनै अस्वाभाविक परिवर्तन हुन लागेको हो कि भनेर डराउँछन्।'
यस्तााे आवाजले भाले र पोथीको सञ्चार अवरुद्ध हुन पुग्छ र चराका प्रजनन क्षमता नास हुन सक्ने उनकाे भनाइ छ।
गाउँघरमा बाँदर नियन्त्रणको नाममा अनियमितता पनि हुने गरेको देखिएको चरा अवलोकनकर्ता टेक घर्ती मगर बताउँछन्।
'बाँदर नियन्त्रण गर्न भन्दै रातिराति पनि जंगल डुल्ने र कालिज, च्याखुरालगायतका प्रजातिको सिकार गर्ने अभ्यास बढिरहेको छ,’ घर्ती भन्छन्।
यसरी अनियन्त्रित रुपमा पड्काउने हो भने निश्चित रुपमा चराको प्रजनन प्रक्रिया खल्बलिन्छ,’ घर्ती भन्छन्, ‘विष्फोटले तर्सियो भने पोथीले अण्डा नै छोडेर हिँड्छ । अन्य साना प्राणीलाई पनि यसको असर पर्न सक्छ । त्यो कोणबाट सोचिएको पाइँदैन ।’
 

कृस्ती नाच्नेचौरमा नाच्न थाले बाँदर

 

प्रतिक्रिया दिनुहोस्