बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • देउवाका दुवै हातमा लड्डु, कुन पहिले खाने ? 'पर्ख र हेर' को स्थितिमा

देउवाका दुवै हातमा लड्डु, कुन पहिले खाने ? 'पर्ख र हेर' को स्थितिमा

निर्वाचन भए नेकपा नमिल्ने र त्यसको लाभ कांग्रेसलाई प्राप्त हुने देउवाको आकलन छ। त्यसो हुन सक्यो भने कांग्रेस ठूलो दल मात्रै बन्दैन देउवाका लागि सत्ताको नेतृत्व गर्ने ढोकासमेत खोल्छ।
 |  शुक्रबार, माघ २, २०७७

तीर्थराज बस्नेत

तीर्थराज बस्नेत

शुक्रबार, माघ २, २०७७

काठमाडौं– संसद् विघटनलाई कांग्रेस सभापति शेरबहादुर देउवाले असंवैधानिक भने पनि संसद् पुनर्स्थापनामा उनको जोड देखिएको छैन। 

triton college

अदालतको निर्णयअनुसार अघि बढ्ने मनस्थितिमा रहेका देउवा नेकपाको नेपाल–दाहाल पक्षले संंयुक्त आन्दोलनका लागि गरेको आग्रहलाई टारेर कांग्रेस एक्लै आन्दोलनमा जाने बताइरहेका छन्। अर्थात् देउवा पर्ख र हेरको स्थितिमा छन्। 

तत्काल देखिएको यो असमञ्जसपूर्ण स्थिति किन त ?

उनी निकट नेताहरू यसका दुई कारण देख्छन्। पहिलो– निर्वाचनमा जान पाउँदा पार्टीको गुमेको साख फिर्ता ल्याउने र त्यसको जस लिने। दोस्रो– संसद् पुनर्स्थापना भएपछि नेकपा फेरि मिल्न सक्ने संशय।

निर्वाचन भए पार्टीले जित्ने र २०७४ सालमा भोगेको पराजयको अपजसको भारी बिसाउन पाइने सोचमा देउवा छन्। त्यसैकारण उनी निर्वाचनका पक्षमा वकालत गरिरहेका छन्। 

corrent noodles
Metro Mart

देउवाले भन्ने गरेका छन्, ‘कांग्रेस अदालतको आदेश मान्ने पार्टी हो। अदालतलाई दबाब दिन हुँदैन। चुनाव हुने निर्णय आयो भने भाग लिनुपर्छ। जनतामा जान किन डराउने ?’ 

उनी निकट केन्द्रीय सदस्य डा. नारायण खड्का देउवाको इच्छा निर्वाचनमार्फत पार्टीलाई पहिलो बनाएर जस लिने रहेको बताउँछन्। 

‘आफ्नो नेतृत्वमा पार्टी कमजोर भयो। चुनावमा जान पाए पार्टी पहिलो बनाएर जस लिन्छु भन्ने सभापतिलाई लागेको होला,’ खड्काले भने। 

निर्वाचन भए नेकपा नमिल्ने र त्यसको लाभ कांग्रेसलाई प्राप्त हुने देउवाको आकलन छ। त्यसो हुन सक्यो भने कांग्रेस ठूलो दल मात्रै बन्दैन, देउवाका लागि सत्ताको नेतृत्व गर्ने ढोकासमेत खोल्छ। पार्टी जिताएको जससँगै सत्ताको नेतृत्वसहित महाधिवेशनमा जाँदा आफूलाई फाइदा हुने देउवाको बुझाइ छ। 

प्रधानमन्त्री केपी ओलीले चुनाव गराउँछन् भन्नेमा चाहिँ देउवा विश्वस्त देखिँदैनन्। उनले बिहीबार पर्वतमा पुगेर भनेका थिए, ‘ओलीले चुनाव गराउँछन् भन्ने विश्वास छैन। चुनाव गराएनन् भने उनलाई देशमै बस्न नसक्ने अवस्था बनाउँछौं।’ 

अदालतले विघटन सदर ग¥यो र सहजै निर्वाचन भयो भने त्यमा भाग लिने तर ओलीले निर्वाचन टार्न खोजे आन्दोलन चर्काउने देउवाको रणनीति छ। त्यसैअनुसारको माहोल बनाउन कांग्रेसले आन्दोलनलाई रणनीतिक रुपमा वडा तहसम्म पुर्‍याएको छ।  

यसबाट कांग्रेसलाई दुईवटा फाइदा पुग्ने देउवाको बुझाइ छ। पहिलो, चुनाव भए चुनावको तयारीका रुपमा अहिलेको प्रदर्शनले काम गर्नेछ। आन्दोलनमै जानुपरे पनि कार्यकर्ता जागृत भइराख्नेछन्। 

विभाजित भनिएको नेकपा कथं अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरिदिएमा एक हुन सक्ने देउवाको बुझाइ छ। यसअघि तत्कालीन एमाओवादीसँग सत्ता सहकार्यकै जारी रहेकै बेला त्यसका अध्यक्ष पुष्पकमल दाहालले सुइँको समेत नदिई एमालेसँग चुनावी गठबन्धन बनाएबाट देउवा झस्किएका छन्। 

त्यही झस्को बुधबार दाहाल र माधवकुमार नेपालसँगको भेटमा देउवाले अभिव्यक्त गरेका थिए। प्रतिनिधिसभा विघटनविरुद्ध संयुक्त आन्दोलन गर्ने दाहाल–नेपालको प्रस्तावलाई देउवाले अस्वीकार गरिदिए। 

उनले दाहाल–नेपाललाई भनेका थिए, ‘अहिलेसम्म तपाईंहरुको पार्टी फुटेको छैन। प्रतिनिधिसभा पुनर्स्थापित भएपछि तपाईंहरु एक हुने सम्भावना पनि होला। तपाईंहरुको भर छैन। एकथोक भन्ने र अर्कैथोक गर्ने बानी छ। यसअघि पनि धोका पाएकै हुँ।’ 

देउवाले आफू निकट नेताहरुसँग नेकपा अहिले घरझगडामै सीमित रहेकाले धेरै उत्साही हुन नहुने बताउँदै आएका छन्। 

‘आत्मालोचना भन्ने शब्द घुसाएर जुनकुनै बेला नेकपाका दुई गुट एक हुन सक्ने सम्भावना छ। कानुनी रुपमा नेकपा फुटेको छैन,’ देउवालाई उधृत गर्दै एक नेता भन्छन्, ‘निर्वाचन आयोगले चुनाव चिह्न र फरक दलको मान्यता नदिएसम्म नेकपा फुट्यो भनेर ढुक्क हुने अवस्था छैन।’ 

उसो त जारी केन्द्रीय कार्यसमिति बैठकमै देउवाले नेकपा फुटको संघारमा पुगेको तर फुटिनसकेको बताएका थिए। कानुनी रुपमा नेकपा फुटिनसकेकाले देउवालाई शंका छ– कतै फेरि नेकपा एक त हुँदैन।  

सहमहामन्त्री प्रकाशशरण महत नेकपा अहिलेसम्म एउटै रहेकाले कांग्रेस संयुक्त आन्दोलनमा जान तयार नभएको बताउँछन्। 

‘अहिलेसम्म उहाँहरु एउटै पार्टी हो। अहिले एकअर्काविरुद्ध आरोपप्रत्यारोप गरिरहनुभएको छ। भोलि जे पनि हुन सक्छ। एउटै पार्टीको एक समूहसँग मिलेर अर्काको आन्दोलन गर्न सकिँदैन,’ महत भन्छन्। 

संयुक्त आन्दोलन गर्न देउवा तयार नहुनुको अर्को कारण हो– यसअघि पाएको धोका। दाहालले सत्ता साझेदारी गरिरहेकै अवस्थामा दिएको धोकाले देउवा विश्वस्त हुन नसकेको देउवा निकट नेता गोपालमान श्रेष्ठ बताउँछन्। 

‘हिजो दाहालकी छोरीलाई जिताउन हामीले सहयोग गरेकै हौं। ओलीले हेपेका बेला उनलाई प्रधानमन्त्री पनि हामीले बनाएका हौं। सत्ता साझेदारी चलिरहँदा दाहालले लुसुक्क ओलीसँग गठबन्धन गरे,’ श्रेष्ठ भन्छन्, ‘त्यो धोका सम्झेर पनि सभापति संयुक्त आन्दोलन गर्न इच्छुक हुनुहुन्न।’

अहिले तल्लो तहसम्म नेकपाका दुई गुट एकअर्कामाथि गालीगलौजको तहमा उत्रिएकाले तत्काल नेकपा एक हुने सम्भावना कम देखिए पनि कुनै पनि बेला एक हुने सम्भावना नकार्न नमिल्ने विश्लेषण देउवाको छ। 

‘हिजो पनि फरक पृष्ठभूभिका दुई पार्टी अचानक मिलेकै हुन्। अहिले त चाइना कार्डको पनि कुरा छ। उनीहरुले जे पनि गर्न सक्छन्,’ श्रेष्ठ भन्छन्। 

दुवै हातमा लड्डु, कुन पहिले खाने ?

नेकपा दुई गुटमा विभक्त भएर एकअर्काविरुद्ध गाली गलौजमा उत्रिएको अवस्थामा देउवा निकटका नेताहरु उत्साही देखिन्छन्। उनीहरु भन्छन्– अहिले हाम्रो दुवै हातमा लड्डु छ, कुन पहिले खाने भन्ने मात्रै हो। 

प्रतिनिधिसभा पुनर्स्थापना भएर नेकपा विभाजन भएमा पनि कांग्रेसलाई फाइदा नै हुने आकलन देउवा पक्षीय नेताहरुको छ। 

संसद् पुनर्स्थापनापछि कांग्रेसले सरकारको नेतृत्व पाउने सम्भावना कायमै रहेको उनीहरुको विश्लेषण उनीहरुको छ। निर्वाचन भइहाल्यो भने पनि कांग्रेस नै ठूलो दल बन्ने नेता श्रेष्ठ बताउँछन्। 

‘हाम्रो दुवै हातमा लड्डु छ। कुन पहिले खाने भन्ने मात्रै हो। संसद् पुनर्स्थापना भए पनि फाइदा छ, चुनाव भए बहुमत ल्याउँछौं,’ श्रेष्ठ भन्छन्, ‘त्यसैले अहिले अदालतलाई यो गर, त्यो गर भनेर दबाब दिन हुँदैन भनेका हौं।’ 

इतर पक्ष भन्छ– शंका हामीलाई पनि छ, तर संविधान बचाउनु प्रमुख दायित्व 

कांग्रेसको संस्थापन इतर समूह पनि नेकपा विभाजनबारे विश्वस्त छैन। कानुनी रुपले नेकपा एकै रहेकाले जुनसुकै बेला घरझगडा साम्य हुन सक्ने शंका इतर पक्षको छ। 

‘दाहालले लगाएको आरोपपत्र फिर्ता भए मिल्न सकिने ओली पक्षका नेताहरुको अभिव्यक्ति, ओलीले गल्ती स्वीकारे मिल्न सकिने दाहाल–नेपाल पक्षको अभिव्यक्ति, हालसम्म एकै महासचिव र तल्लो तहमा एउटै कमिटी रहेको अवस्थामा यसै भन्न सकिन्न,’ देउवा इतर समूहका एक नेता भन्छन्, ‘केन्द्रीय समितिमा पनि यो विषयमा सामान्य छलफल भएकै हो। सभापति मात्रै होइन हामी पनि नेकपा विभाजनका विषयमा विश्वस्त छैनौं।’ 

संस्थापन इतर समूह नेकपा विभाजनभन्दा पनि संविधान जोगाउने विषय  कांग्रेसका लागि मुख्य चासो भएको बताउँछ। 

‘अहिले हाम्रा लागि नेकपा विभाजन प्रधान होइन। संविधान बचाउने लोकतन्त्र र संविधान बचाउने विषय मूल हो,’ इतर समूहका नेता नवीन्द्रराज जोशी भन्छन्, ‘व्यवस्था बचाउने हाम्रो उद्देश्य हो। हामी त्यसमा केन्द्रित छौं।’ 

तत्कालको नाफा–घाटा हेर्ने भन्दा संविधानमाथिको प्रहार सच्चाउनु कांग्रेसको दायित्व भएको उनको भनाइ छ।  
 

प्रकाशित: Jan 15, 2021| 12:23 शुक्रबार, माघ २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।