काठमाडौं– नेकपा (दाहाल–नेपाल) समूहका नेता भीम रावलले प्रधानमन्त्री केपी ओलीले राष्ट्रहित विपरीत काम गरेको बताएका छन्।
भारतीय टेलिभिजन च्यानल जी न्युजका प्रधान सम्पादक सुधीर चौधरीले सगरमाथामा भारतले दावी गर्नुपर्छ भनेर निन्दनीय अभिव्यक्ति दिने स्थिति सिर्जना गरेर ओलीले राष्ट्रहित विपरीतको काम गरेको रावलको भनाइ छ।
‘नेपालविरोधी अभियान चलाउने भारतीय जी न्युजका सुधीर चौधरीलाई बालुवाटारमा अन्तर्वार्ता दिनुका साथै कालापत्थर घुम्ने प्रबन्ध गरी निजले सगरमाथामा भारतले दावी गर्नुपर्छ भन्ने जस्तो निन्दनीय अभिव्यक्ति दिने स्थिति सिर्जना गर्नु प्रम केपीको राष्ट्रहित विरोधी कार्यको अर्को उदाहरण हो,’ रावलले ट्वीटमार्फत भनेका छन्।
चौधरीले कालापत्थर पुगेर सगरमाथामा भारतले दावी गर्नुपर्ने बताएका थिए। उनले माउन्ट एभरेष्टको नाम फेरेर माउन्ट सिकदर बनाइनुपर्ने र त्यसका लागि भारतले अभियान चलाउनुपर्ने बताएका थिए।