शुक्रबार, वैशाख ७, २०८१
  • गृहपृष्ठ
  • समाज
  • कांंग्रेसको द्विविधा : संंसद् पुनर्स्थापना कि निर्वाचन ?

कांंग्रेसको द्विविधा : संंसद् पुनर्स्थापना कि निर्वाचन ?

प्रधानमन्त्री ओलीको कदम असंवैधानिक हो भन्नेमा कांग्रेस एकमत छ। तर, असंवैधानिक कदम सच्याउनुपर्छ भन्नेमा भने प्रस्ट दुई धार छ।
 |  बुधबार, पुस २९, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, पुस २९, २०७७

काठमाडौं- संसद् विघटन र मध्यावधि निर्वाचन घोषणापछि नेपाली कांग्रेसको नीति स्पष्ट देखिएको छैन। संसद् विघटनको कदमलाई कांग्रेसले असंवैधानिक भनेको छ। तर, असंवैधानिक कदम सच्याउनुपर्छ भन्नेमा कांग्रेसमा एकमत छैन। 

triton college

सभापति शेरबहादुर देउवा संसद् विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदम असंवैधानिक छ भन्दाभन्दै पनि निर्वाचनलाई नै प्राथमिकता दिइरहेका छन्।

सभापति देउवा समूहबाहेकका अन्य नेताहरूले सार्वजनिक रूपमै संसद् पुनस्र्थापना हुनुपर्ने बताइरहेका छन्। यद्यपि कांग्रेसले संसद् विघटनपछि उत्पन्न परिस्थतिबारे पार्टी एकमत रहेको दाबी गर्दै आएको छ। 

प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीमा ओलीको कदमलाई हेर्ने दृष्टिकोणमा कुनै द्विविधा नरहेको बताउँदै आएका छन्। 

उनको त्यो दाबीमा आंशिक सत्यता छ। किनकि ओलीको कदम असंवैधानिक हो भन्नेमा कांग्रेस एकमत छ। तर, असंवैधानिक कदम सच्याउनुपर्छ भन्नेमा कांग्रेसमा प्रस्ट दुई धार छ।  

corrent noodles
Metro Mart

कांग्रेसले एकातर्फ ओलीको कदमविरूद्ध देशव्यापी आन्दोलन घोषणा गरेको छ। अर्कोतर्फ आन्दोलनको माग के भन्ने प्रस्ट छैन। केही नेता संसद् पुनर्स्थापना भनिरहेका छन्। अर्काथरीको आशय निर्वाचनमै जाऊँ भन्ने नै देखिन्छ।

सभापति देउवाले पुस २५ गते सार्वजनिक रूपमै जनता सर्वोच्च अदालतभन्दा ठूलो भएकाले कांग्रेस जनतामा जाने बताएका थिए। ‘अदालतमा मुद्दा विचाराधीन छ। अदालतलाई दबाब दिनु हुँदैन। निर्वाचन गर्ने निर्णय आए जनता अदालतभन्दा ठूला हुन्, निर्वाचनमा भाग लिनुपर्छ,’ उनले भनेका थिए। 

ओलीले समयमै निर्वाचन गराउने हो भने पुष्पकमल दाहाल नेतृत्वको नेकपाले समेत निर्वाचनमा भाग लिने उनको भनाइ छ। 

तर, २६ गते बिहान देउवा निवासमै भएको एक कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस चुनाव चुनाव भनेर त्यसकै पछि लाग्न नहुने बताइरहँदा देउवा जंगिएका थिए। 

‘कांग्रेस चुनाव चुनाव भनेर त्यसकै पछि लाग्ने होइन। संविधान ठूलो कुरा हो, लोकतन्त्र ठूलो कुरा हो। ७० वर्ष लडेर ल्याएको संविधान भत्काउन खोजिएको छ। पहिला यसलाई बचाऔं,’ पौडेलले भनेका थिए, ‘संविधानलाई नबचाई चुनावमा जानुको अर्थ छैन। कांग्रेस नेतृत्वले देश बचाउने साहस गर्ने कि नगर्ने?’ 

पौडेलले बोलिरहँदा प्रतिवाद गरेका देउवाले निर्वाचनबाट किन भाग्ने? भनेर कड्किएका थिए। 

एउटै कार्यक्रममा देउवा र पौडेलले दिएका अभिव्यक्तिले कांग्रेसको द्विविधा प्रस्ट देखिन्छ। देउवाले निर्वाचनमै जोड दिएपछि संसद् पुनर्स्थापना हुनुपर्ने माग राखेका नेताहरू भने झस्किएका छन्। 

यसैबीच पुस २६ गते भएको संंस्थापन इतर समूहका नेताहरूको भेलाले देउवाले संसद् विघटनका विषयमा ओलीलाई सहयोग गरेको आरोप लगाएका छन्।  

पार्टीको यही दोधारेपनका कारण कार्यकर्तासमेत अन्योलमा देखिन्छन्। सरकारविरूद्ध कांग्रेसले चरणबद्ध प्रदर्शन त गरिरहेको छ। तर, त्यसको सन्देश के त? प्रस्ट छैन। 

संविधानमाथि प्रधानमन्त्री ओलीले ‘कू’ गरेको विश्लेषण भइरहेको र चौतर्फी विरोध भइरहेका बेला कांग्रेस दोधारमा देखिनुको अर्थ के? विश्लेषक पुरञ्जन आचार्यको जवाफ छ– देउवाका स्वार्थ। 

सत्ता मोहका कारण कांग्रेस संविधानको रक्षार्थ एकमत हुन नसकेको आचार्यको बुझाइ छ। ‘कांग्रेसमा दोधारेपन देखिएको छ। त्यसको सीधा अर्थ सत्ता स्वार्थ हो,’ आचार्य भन्छन्, ‘संसद् पुनर्स्थापना भए ओलीसँग साझेदारी गर्ने नभए चुनावपछि सरकारको नेतृत्व गर्ने दाउमा उहाँ (देउवा) देखिनुहुन्छ।’ 

देउवाले प्रधानमन्त्री बन्नका लागि रणनीतिक चाल चलिरहेको उनको बुझाइ छ। 

‘संविधान मिचिएकोमा चिन्ता देखिन्न। कांग्रेसको विश्वास संविधानवाद र लोकतन्त्रमा हो। तर यसलाई उहाँ तिलाञ्जली दिने गरी अघि बढ्नुभएको छ,’ आचार्य भन्छन्, ‘उहाँ र ओलीजीको स्वभाव पनि एकै छ। उहाँ आफू प्रधानमन्त्री बन्न रणनीतिक चाल चलिरहनुभएको देखिन्छ।’

विश्लेषक विष्णु दाहाल भने नेपाली कांग्रेस यति बेला अन्योलमा रहनुमा स्वाभाविक ठान्छन्। उनी भन्छन्, ‘कांग्रेस अहिले संसद् विघटनको विरोधमा जानु स्वाभाविक हो। त्यस्तै निर्वाचन त उसले छाड्नै मिल्दैन।’ उनले कुनै एउटा मुद्दा छाडेमा कांग्रेसको अस्तित्व धरापमा पर्ने बताए।

कांग्रेस मासमा आधारित दल भएकाले मासको चासो कतापट्टि छ भन्ने कुराले पनि उसको नीति तय हुने दाहालको बुझाइ छ। 

विद्यमान सामाजिक र आर्थिक विषयले पनि कांग्रेसको मूल नीतिमा बेलाबेला असर गर्दै आएको छ। उनी भन्छन्, ‘त्यसैले कांग्रेसलाई ढुलमुले भन्न मिल्दैन। यो त उसको विशेषता नै हो। तर कांग्रेसले अहिले गर्ने निर्णय मुलुकको दीर्घकालीन राजनीतिसँग जोडिनेछ।’

प्रकाशित: Jan 13, 2021| 05:21 बुधबार, पुस २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।