बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • निर्वाचनको टुंगो छैन, आयोग र सुरक्षा निकायले थाले तयारी 

निर्वाचनको टुंगो छैन, आयोग र सुरक्षा निकायले थाले तयारी 

प्रतिनिधिसभा विघटनपछि घोषित मध्यावधि निर्वाचन हुने वा नहुने अन्योल छ। राज्यका निकाय भने निर्वाचनको तयारीमा जुटिसकेका छन्।
 |  मंगलबार, पुस २८, २०७७

बीपी अनमोल

बीपी अनमोल

मंगलबार, पुस २८, २०७७

काठमाडौं– प्रतिनिधिसभा विघटनपछि घोषित मध्यावधि निर्वाचन हुने वा नहुने अन्योल छ। राज्यका निकाय भने निर्वाचनको तयारीमा जुटिसकेका छन्।

triton college

निर्वाचन आयोग र सुरक्षा निकायले चुनावको प्रारम्भिक चरणका काम सुरु गरिसकेका हुन्। 

निर्वाचन घोषणा भएसँगै आवश्यक तयारी अघि बढाइएको तीन निकायका अधिकारीहरु बताउँछन्। 

निर्वाचन आयोग मतदाता नामावली अद्यावधिक गर्न तथा कर्मचारी तालिममा जुटेको छ भने सुरक्षा निकायहरु समिति गठन गरेर सुरक्षा रणनीति बनाउन थालेका छन्।

यद्यपित प्रधानमन्त्री केपी ओलीको कदमविरुद्ध नेकपाकै पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूह सडक आन्दोलनमा छ। संसद् पुनस्र्थापना हुनुपर्ने माग दाहाल–नेपाल समूहको छ।

corrent noodles
Metro Mart

नेपाली कांग्रेस पनि केही समयदेखि सरकार विरोधी आन्दोलनमा छ। निर्वाचनमा जाने वा संसद् पुनस्र्थापनाका लागि आन्दोलनमा केन्द्रित हुने भन्नेमा कांग्रेस अन्योलमा छ।

यस्तै नागरिक समाज, बुद्धिजीवी र पेसाकर्मी पनि संसद् पुनस्र्थापनाको माग गर्दै सडकमा छन्। विघटनको मुद्दा अदालतमा विचाराधीन छ।

सरकारले पुस ५ मा प्रतिनिधिसभा विघटन गर्दै आगामी वैशाख १७ र २७ मा मध्यावधि निर्वाचन घोषणा गरेको छ। 

प्रधानमन्त्री ओलीले भने निर्धारित समयमै निर्वाचन हुने दाबी गर्दै  अभियान अघि बढाइसकेका छन्। ओलीले आफ्नो समूहको कार्यकर्ता भेलामा चुनावको तयारीमा जुट्न निर्देशन दिने गरेका छन्। 

गृहमन्त्री रामबहादुर थापाले सोमबार र मंगलबार गृह मन्त्रालयमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका प्रमुख एवम् अधिकृतलाई बोलाएर निर्वाचनको तयारीमा जुट्न निर्देशन जारी गरेका छन्। 

उनले निर्वाचनमा परिचालन हुने जनशक्ति व्यवस्थापन, पूर्वाधार, सुरक्षाका विषयमा प्रभावकारी रुपमा तयारी थाल्न निर्देशन दिएका थिए।

ओलीको कदमले सत्ताको नेतृत्व गरेको नेकपा पनि दुई समूहमा विभाजित भइसकेको छ। यद्यपि निर्वाचन आयोगबाट वैधता पाउन बाँकी छ। 

संसद् विघटन संवैधानिक हो वा असंवैधानिक मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ। 

मुद्दाको सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ। 


विस्तृत कार्यतालिका बनाएर जुट्यो आयोग

निर्वाचन आयोगले पनि तयारी तीव्र रुपमा अघि बढाएको छ। आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले प्रारम्भिक चरणका काम सुरु भइसकेको बताए।

‘संवैधानिक जिम्मेवारीअन्तर्गत सरकारले मिति तय गरिसकेपछि १२० दिनअघि हामीले काम थाल्नुपर्छ। त्यो हाम्रो संवैधानिक दायित्व हो,’ उनले भने, ‘विस्तृत कार्यतालिका तयार गर्ने काम भइरहेको छ।’

अर्यालका अनुसार मतदाता नामावलीलाई अन्तिम रुप दिने, मतदान स्थल र केन्द्र अपायक रहेका ठाउँ परिवर्तन गर्ने लगायतको काम सुरु भइसकेको छ। 

‘पुस ५ सम्म जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय र विभिन्न घुम्ती शिविरमा संकलित नाममा देखिएका त्रुटि सच्चाउने, दाबी विरोध गर्ने, हटाउनुपर्ने भए हटाउने लगायतका काम भइरहेको छ,’ उनले भने, ‘स्थानीय तहमा सबै प्रक्रिया पूरा गरेर प्रकाशित गर्ने, दाबी विरोधपछि विवरण अद्यावधिक गरेर आयोगमा पठाउने काम हुन्छ।’

उनले आयोगबाट दोहोरो नामावली भए हटाएर अन्तिम नामावली तयार गरेपछि परिचयपत्र छपाउने काम अघि बढाइने बताए।

निर्वाचनको तयारीअन्तर्गत अहिले जिल्ला निर्वाचन कार्यालयमा रहेका कम्युटर अपरेटर र अन्य कर्मचारीलाई तालिम दिने काम भइरहेको छ। 

‘केही प्रदेशमा सक्यौं। केही प्रदेशमा चलिरहेको छ। अब २ नम्बर प्रदेश लगायतको सक्ने तयारीमा छौं,’ अर्यालले भने।

तालिममा आएका प्राविधिक कर्मचारीलाई मतदान केन्द्र र त्यसको कार्यविधिबारे  पनि प्रशिक्षण गरेर कार्यस्थलमा पठाइने उनको भनाइ छ। 

नेपाल प्रहरीमा केन्द्रदेखि जिल्लासम्म समिति गठन 

नेपाल प्रहरीले प्रतिनिधिसभा निर्वाचनको आवश्यक तयारी थालेको छ। 

केही दिनअघि प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले सरुवा भई जिल्लाको इन्चार्ज सम्हाल्न जाने प्रहरी अधिकृतलाई आवश्यक तयारीमा जुट्न निर्देशन दिएका थिए।

प्रहरी प्रधान कार्यालयले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलको संंयोजकत्वमा केन्द्रीय निर्वाचन तथा समन्वय समिति गठन गरेको छ।

प्रहरी प्रवक्ता एसएसपी वसन्त कुँवरले केन्द्रीय निर्वाचन समिति गठन भएको र प्रदेश, संघ र जिल्ला तहसम्म गठनका लागि परिपत्र जारी भइसकेको बताए।

उनका अनुसार केन्द्रमा एआईजी पोखरेलको नेतृत्वमा २६ सदस्यीय केन्द्रीय निर्वाचन तथा समन्वय समिति गठन गरिएको हो।

प्रदेशमा एसएसपीको कमान्डमा १५ सदस्यीय, संघीय प्रहरी कार्यालयमा एसपी र जिल्ला प्रहरी कार्यालयमा डीएसपीको कमान्डमा नौ÷नौ सदस्यीय समिति गठन गरिने भएको छ। 

डीएसपीको नेतृत्व रहने जिल्लामा भने प्रहरी निरीक्षकको कमान्डमा समिति बन्नेछ। 

समितिले निर्वाचनको तयारी, सुरक्षाको व्यवस्थापन, मतदान स्थल, केन्द्रदेखि लिएर निर्वाचनसँग सम्बन्धित सबै विषयका बारेमा आवश्यक काम गर्नेछ। 

२०७४ मा सम्पन्न निर्वाचनमा देशैभर ९८ हजार म्यादी प्रहरी परिचालन गरिकोमा यसपटक पनि एक लाख हाराहारीमा म्यादी प्रहरी परिचालन गर्ने तयारी छ।

सुरक्षा रणनीति बनाउँदै सशस्त्र प्रहरी बल

सशस्त्र प्रहरी बल नेपालले पनि निर्वाचनको तयारी अघि बढाएको छ। सरकारले निर्वाचन घोषणा गरेसँगै तयारी सुरु गरिएको सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता डीआईजी राजु अर्यालले जानकारी दिए।

‘हामीले आफ्नो तयारी सुरु गरिसकेका छौं। चुनाव दुई चरणमा हुने भएकाले कसलाई कहाँ कहाँ खटाउने भन्ने तय गरिसक्यौं’, उनले भने, ‘निर्वाचनका लागि आवश्यक आवास, खाद्यान्न, सवारीसाधन, सञ्चार साधन के कति आवश्यक हुन्छ त्यो सबै लेखेर पठाइसकिएको छ।’

सशस्त्र प्रहरी बल नेपालले यसअघि निर्वाचनका समयमा तयार पारिएको सुरक्षा रणनीतिको मूल्यांकन गर्दै नयाँ रणनीतिका साथ तयारी सुरु गरेको हो। 

हेडक्वार्टरमा कार्य तथा सीमा विभागका एआईजीको नेतृत्वमा केन्द्रीय निर्वाचन समिति र बाहिनी तथा जिल्लामा पनि इन्चार्जको नेतृत्वमा निर्वाचन समिति गठन गरिएको छ। 

 

प्रकाशित: Jan 12, 2021| 13:42 मंगलबार, पुस २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।