काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना बिमा गरेकालाई सम्बन्धित बिमा कम्पनीमा आफ्नो दुरुस्त विवरण बुझ्न आग्रह गरेको छ।
कोरोना बिमा समितिमा प्राप्त भएका विवरणमध्ये कतिपयको विवरण ‘भेरिफिकेसन’ गर्दा नाम, थर, उमेर, ठेगानालगाएतका न्यूनतम विवरण अपूर्ण भएकाले बिमित व्यक्तिले एकपटक रुजुको अवस्था बुझ्न मन्त्रालयले अनुरोध गरेको हो।
मन्त्रालयले कोरोना बिमा दाबीका लागि पेस भएका विवरणहरू रुजु गर्दा विवरण अपुग भएकाले बिमितलाई सम्बन्धित कम्पनीसँग अवस्था जानकारी लिन भनेको हो।
स्वास्थ्य मन्त्रलायका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बिमा समितिबाट जारी भएको कोरोना बिमा मापदण्ड–०७७ बमोजिम कतिपय बिमितको विवरण मन्त्रालयमा रहेका तथ्यांकसँग रुजु गर्दा भेट्टाउन नसकिएको बताए।
हालसम्म स्वास्थ्य मन्त्रालयमा नौ हजार २९२ जनाको ‘भेरिफिकेसन’ सम्पन्न भइसकेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयले पीसीआर परीक्षणका लागि दिएको व्यक्तिगत विवरण र बिमा गर्दा दिएको विवरण एउटै तथा स्पष्ट हुनुपर्ने जनाएको छ।