विशेष समाचार

असाधारण प्रतिभा योगी नरहरिनाथ

राप्रउ पोखरेल

1614562889.jpg

नेपाल आज धेरैतिरबाट संकटमा घेरिएको छ। विगतमा विश्व समुदायबीच  नेपालको आफ्नै मौलिक परिचय थियो र यसले खासस्थान बनाएको थियो तर  आज परिस्थिति फेरिएको छ। यसले आफ्नो पहिचान,  मौलिकता र गौरवगाथालाई सुरक्षित गर्न र जोगाउन कठिन भइरहेको छ। हामीले गौरव गर्नुपर्ने इतिहासलाई क्रान्ति र आमूल परिवर्तनको नाममा मेटाउने दुष्प्रयास भइरहेको छ।

NLG Insurance
Sampoorna Oil

राष्ट्र एकीकरणकर्ता पृथ्वीनारायण शाहलगायत अरू हाम्रा नायक तथा राष्ट्रका धरोहरलाई विस्थापित गर्ने दुष्प्रयास गरिँदै छ। यो इमानदार नेपालीहरूका लागि निकै चिन्ता र गम्भीर विषय हो। देशको यस्तै बिथोलिएको परिस्थितिमा अद्वितीय प्रतिभाका धनी योगी नरहरिनाथले नेपालको मौलिक संस्कृति, सामाजिक, धार्मिक, सांस्कृतिक, भाषिक सम्बन्धको समन्वयात्मक चरित्रलाई स्पष्ट पारेर राष्ट्रिय एकतालाई सुदृढ बनाउनेतर्फ अमूल्य कार्य गरेका थिए।

योगी नरहरिनाथको जन्म वर्तमान कालीकोट जिल्लाको लालु गाउँमा संवत् १९७१ सालमा माता गौरीदेवी तथा पिता ललित सिंहको माहिलो छोरोको रूपमा भएको थियो। उनी आफ्नो वंश र जन्मथलोको परिचय संस्कृतको सुन्दर श्लोकमा यसरी राख्छन् :

कैलाशाद् दक्षिणस्यां विलसति बहति मालिका शैलमुले।
लालुग्रामा ललाम(प्रकृतिरभिमता जन्मभूमि मदीया।
माता गौरी पिता मे ललित इति गुरुः क्षिप्रनाथो इमिन्द्र
कर्णाली दक्षकले मनु जनुरवनी मानवी राजधानी ॥

उनको शिक्षाको प्रारम्भ नौ वर्षको उमेरमा नाथ सम्प्रदायका योगी क्षिप्रनाथ (पछि आफ्ना दीक्षा गुरू) द्वारा सिद्ध चन्दननाथ भाषा पाठशाला जुम्लामा भएको थियो। त्यसपछि हरिद्वारको मायापुरी योगाश्रममा व्याकरण, दर्शनशास्त्र र काव्यसाहित्यको अध्ययन गरे। वाराणसी गोरक्षटील्लामा सिद्धान्तकौमुदी, पतञ्जलिको महाभाष्य आदिको अध्ययन सकेपछि पञ्जाव, लाहोरको प्राच्य विद्यापीठमा साहित्य र षड्दर्शनको अध्ययन गरे। त्यसपछि उनले पूर्वी पञ्जाब लुधियानाको संस्कृत महाविद्यालयबाट शास्त्रीको उपाधि प्राप्त गरे । शिक्षाको तिर्खा अझै नमेटिएकाले गुरुकुल काँगडी विश्वविद्यालय, हरिद्वारबाट सम्पूर्ण वैदिक वाङ्मयको अध्ययन  पूरा गरे।

योगी नरहरिनाथको शिक्षाको कुरा गर्दा औपचारिक शिक्षाको स्थितिलाई मात्रै हेरेर उनको ज्ञानको विशालतालाई बुझ्न सकिँदैन। उनको अध्ययनको क्षेत्र धेरैविस्तारित र गहिरो थियो। उनी आध्यात्म क्षेत्रका जगत्गुरुसरह थिए। वेद-वेदांग र सकल शास्त्र दर्शनमा उद्भट विद्वता उनको वक्तृत्वमा देखिन्थ्यो र लेखनमा पनि पाइन्छ।

योगी नरहरिनाथ वन्यऔषधि र आयुर्वेदका राम्रा ज्ञाता थिए। पुरातत्त्व, इतिहास, संस्कृति, भाषा, भूगोल आदि विषयलाई उनले आफ्नो अध्ययन र गवेषणको विशेष क्षेत्र बनाएका थिए। उनी नेपालभूमि र हिमालयलाई मानवसभ्यताको उद्गमस्थल मान्दथे। उनीद्वारा रचित यो मातृभूमि वन्दनालाई हेरौं :

मानवीय सभ्यताको मातृभूमि फैलियो।
यो हिमालचुलीबाट विश्वज्योति फैलियो।
आदिदेव आदिमान्छे आदिसभ्य हामी हौँ।
विश्ववीर गोरखाली ती हिमाली हामी हौँ।
सौम्यभूमि शैलभूमि शान्तभूमि वन्दना।
जन्मभूमि, कर्मभूमि पूण्यभूमि वन्दना ॥
नम्र माथ जोडी हात, मातृभूमि वन्दना।

योगी नरहरिनाथ आजीवन यात्री र विद्यार्थी थिए। उनी ज्ञानका अति नै भोका थिए। आफ्नो प्रकृतिअनुरूप उनले यायावरी जीवनलाई नेपालको इतिहास,  संस्कृति, भाषा, आयुर्वेदजस्ता विषयको खोज अनुसन्धानमा नेपालका ७५ वटै जिल्ला र हरेक गाउँवस्ती, सहर, हिमाल-पहाडका भीरपाखा, कन्दराहरू ठूलो जोखिम र अत्यन्त कष्ट सहेर भ्रमण गरेका थिए। 

उनको अध्ययन भ्रमण नेपालभूमिमा मात्रै सीमित थिएन, हिन्दुस्तानका सबै दिशा, क्षेत्रमा समेत भ्रमण गरेर इतिहासका सामग्री उतार र संग्रह गरेका थिए। ती सामग्रीलाई सचित्र आफ्नो ऐतिहासिक शिखरिणी यात्राग्रन्थमा समावेश गरेका छन्। उनको गहन खोज र अन्वेषण कति महत्त्वपूर्ण रहेछ भने नेपालभूमिको भूगोल, इतिहास, भाषा, साहित्य, कला, संस्कृति, दर्शन आदि विषय समेटेर जुन कृतिहरू दिए, ती यावत् कार्यहरू नेपालको सत्यतथ्य इतिहासको अध्ययनको क्षेत्रमा पूर्वाधार नै खडा गर्न समर्थ भएका छन्।

योगी नरहरिनाथले आफ्नो अविरल यात्रालाई समुच्चयमा ऐतिहासिक शिखरिणी यात्राको नाम दिए। यात्रा शृंखलालाई समेटेर १५ वटा ठेलीमा सम्पूर्ण वृत्तान्तलाई अभिलेखित गरेका छन्। यात्रासाहित्यका यी कृतिहरूले नेपालका मठमन्दिरहरुको प्राचीनता, तिनीहरुको अवस्थिति, प्रतिमाको स्थापनाकाल, त्यहाँको  भूगोल, प्रस्तर अभिलेख, ताम्रपत्र, ताडपत्र आदि पुरातत्त्व र ऐतिहासिक सामग्रीको  सप्रमाण एवं सचित्र जानकारी दिन्छन्। यिनै खोज-अनुसन्धान, निरन्तरको अध्ययन र परिशीलनबाट उनले अथक साधना गरी इतिहासप्रकाशमा सन्धिपत्र संग्रह,  इतिहासप्रकाश एवं ऐतिहासिक शिखरिणी यात्रा शीर्षकका धेरै मोटामोटा आधारभूत ग्रन्थहरु हामीलाई दिएका छन्।

नेपाली भाषाको उद्गम र विकासको कुरा गर्ने हो भने उनले यस भाषाको प्राचीनताको खोजी गरेर त्यसको प्रारम्भिक स्वरूपको अभिलेख हामी समक्ष राखेका छन्। भाषावैज्ञानिक बालकृष्ण पोखरेलले इतिहास शिरोमणि बाबुराम आचार्य र योगी नरहरिनाथको खोज र स्वयं आफ्नै पनि अन्वेषणको आधारमा नेपाली भाषाको इतिहाससम्बन्धी आधारभूत ग्रन्थ पाँचसय वर्ष (२०२२ साल) रचना गरेको कुरा यहाँ उल्लेख गर्नु अप्रासंगिक नहोला।

योगी एक विशाल प्रतिभाका शिखरपुरूष थिए। उनको बारेमा लेख्न बस्दा म विक्रमको नवौँ शताब्दीका शंकराचार्यलाई सम्झिन पुग्छु। हिन्दुस्तानको सुदूर दक्षिण केरलाको कालडी ग्राममा जन्मिएका आचार्य शंकर (ई. ७८८-८२०) ले केवल ३२ वर्षको जीवन पाए तर त्यो छोटो आयु पाएर पनि अद्भुत कामहरू गरेर गए। ब्रह्मसूत्र, श्रीमद्भगवत् गीता आदि ग्रन्थको भाष्य र टीका लेखे। छरिएर रहेका उपनिषद् ग्रन्थहरूलाई संग्रह गरेर सम्पादन गरे। उनी अत्यन्त भ्रमणशील थिए, बौद्धधर्मको निक्षुवादले ल्याएको सामाजिक विचलन र राज्यशक्तिको हासले गर्दा लगातार हिन्दुस्तानले विदेशीको एकपछि अर्को आक्रमण र पराजय बेहोर्नुपरेको कालखण्ड थियो त्यो।

शंकराचार्यले हिन्दूहरूको पराजयको मानसिकतामा स्वाभिमान जगाए। वैदिक धर्म र संस्कृत वाङ्मयमा रहेका विशाल ज्ञानभण्डारलाई जनसमक्ष प्रस्तुत गरे। उनले उत्तर कश्मीरदेखि दक्षिण कन्याकुमारीलगायत सम्पूर्ण भारतवर्षको यात्रा गरेर सनातन वैदिकधर्मको पुनर्स्थापना गराउन अभियान चलाए। वेदान्तदर्शनमा अद्वैतदादको नयाँ भाष्य प्रस्तुत गरेर विभिन्न सम्प्रदाय र पन्थमा छरिएर रहेका हिन्दूहरूलाई एउटै सूत्रमा जोड्न सफल भए। त्यसैले उनलाई भगवान् शंकरकै अवतार मान्ने गरेको पनि पाइन्छ।

यहाँ आदि शंकराचार्यको प्रसंग ल्याउँदा योगी नरहरिनाथलाई उनीसित तुलना गर्ने प्रयोजन होइन। यसै पनि महापुरुषहरूबीच तुलना गरिँदैन, त्यो हुन पनि सक्दैन। योगी नरहरिनाथले आफ्नो जीवनकालमा आदि शंकराचार्यले गरेका प्रकृतिसँग समीपता राख्ने असाधारण कार्य गरे, जुन एउटै जुनीमा गर्नसक्ने थिएन। योगीले मातृभूमि नेपालको मौलिक पहिचान र यसको गौरवमय परम्परालाई नेपाली र विश्वसामु परिचित गराउने र मानवमात्रको कल्याणका लागि सनातन वैदिक धर्म-संस्कृतिलाई पुनर्स्थापना गराई समाजको नैतिकता र कर्मशीलतालाई विकास र समुन्नति गर्ने उद्देश्य लिएका थिए।

नेपालको सन्तपरम्पराको इतिहास लामो छ। मत्स्येन्द्रनाथ, गोरखनाथ, सन्त ज्ञानदिल, स्वर्गद्वारी महाप्रभु फाल्गुनन्द आदिकै परम्परामा योगी नरहरिनाथलाई लिइन्छ। गीतामा भगवान् श्रीकृष्णले भनेजस्तै उनी कर्मयोगी र अथक साधक थिए। उनलाई गुरू गोरखनाथकै अवतारको रूपमा हेर्नेहरू पनि छन्। स्वामी डा. प्रपन्नाचार्य भन्छन्- 'यस एक्काइसौं शताब्दीका गोरक्षनाथ योगी नरहरिनाथ नै हुन् भन्दा अत्युक्ति नहोला।' उनका अनेकौं अलौकिकजस्ता लाग्ने कियाकलापको बारेमा सुन्दा कुनै काल्पनिक कथ्य हो कि भन्ने लाग्नसक्छ तर उनलाई केवल  सन्तमा सीमित गर्नु वा त्यस रूपमा हेर्नु भनेको उनको समग्र व्यक्तित्वको एउटा पाटोलाई मात्र हेरियो भनेर बुझ्न सकिन्छ। उनी आफ्नो खोज र अन्वेषणमा सिंगो राष्ट्रलाई केन्द्रमा राखेर यसको गौरव बढाउन र समाजलाई एकताबद्ध गरी समुन्नत बनाउने उद्देश्यमा जीवनभरि लाग्ने महासन्त थिए।

बृहत् आध्यात्मिक परिषद्ले दिएको विवरणअनुसार योगी नरहरिनाथले सानाठूला गरी ५ सय ७१ थान पुस्तक लेखेको पाइएको छ, जस्तै :

(क) इतिहासप्रकाशमा सन्धिपत्र संग्रह ८२ भागमा ७ भाग प्रकाशित
(ख) इतिहासप्रकाश ८२ भागमा ३ भाग प्रकाशित
(ग) ऐतिहासिक शिखरिणी यात्रा ९२०४९ साल० १५ भागमा १ भाग र अन्य २ सय ५२ थान पुस्तिकाहरू प्रकाशित भएका छन्।

विभिन्न जाति, समुदाय र थर-गोत्रका ६ सय जति वंशावली पनि लेखिएको पाइन्छ। ऐतिहासिक शिखरिणी यात्रा मौलिक सृजना हो। योगीले इतिहाससम्बन्धी सामग्री समाविष्ट संस्कृत सन्देश, जयतु संस्कृतम् आदि पत्रिकाहरू (जर्नल) २००२ सालदेखि सम्पादन र प्रकाशन गरेका थिए।

इतिहासप्रकाशमा सन्धिपत्र संग्रह (भाग १, दोस्रो संस्करण २०५५ साल) का प्रकाशक बालाराम घर्ती मगर ग्रन्थको 'दुई शब्द' मा भन्छन् :
'वर्तमानलाई जान्न र भविष्यबारे सोच्न विगतलाई बुझ्नैपर्छ। विगतलाई बुझ्न इतिहासका प्रामाणिक र सत्यतथ्यपरक सामग्रीहरूको अध्ययन गर्नुपर्छ। मानवसमाजका प्रत्येक पुरताबाट इतिहासको अध्ययन हुनुपर्ने कुरा त छँदै छ, आफैंले पनि इतिहासको निर्माण गर्नुपर्छ र भावी पुस्ताका लागि त्यो राखिदिनु पनि पर्छ। हामीले बनाएको इतिहास भावी पुस्ताका लागि प्रेरणादायी हुन सकोस् भन्ने हाम्रो राष्ट्रप्रतिको इमानदारी हुनुपर्छ।'

घर्ती मगरले भनेजस्तै सिद्धिप्राप्त सन्त योगीले गरेको योगदान भावी पुस्ताका लागि निश्चय नै मार्गदर्शक एवं प्रेरणादायी छ। योगी सर्वथा असाधारण प्रतिभा लिएर जन्मिएका थिए, जसको छाप उनका असाधारण कार्य र रचनाहरूमा झल्किन्छ। योगीलाई इतिहास, भूगोल, दर्शन, साहित्य कला, संस्कृति, धर्म, वेद-वेदांग इत्यादि विषयमा निष्णातता प्राप्त थियो, जुन एउटै व्यक्तिमा एकत्र हुनु असाधारण कुरा हो।

महाकवि लक्ष्मीप्रसाद देवकोटाले के नेपाल सानो छु भन्ने निबन्ध लेखेका छन्। सो निबन्धमा नेपालको महानता, यसको विशालता झल्किन्छ।  महाकविले नेपालको विशालतालाई मानवतावादसँग जोडेर कवित्वपूर्ण र रोमाञ्चक शैलीले हामी नेपालीमा पनि त्यो भावना जगाइदिएका छन् तर योगी नरहरिनाथ कुनै रोमाञ्चकतामा नगएर वेद, उपनिषद्, पुराणादि ग्रन्थहरूको प्रामाणिक आधारमा हाम्रो पर्वतीय भूमिको महानता र हिमालयको महत्त्वलाई यसरी राखेका छन् :

'जेठो वेद हिमाल हो सकलको कैलाश साक्षी छ यो' भन्ने पुरातात्त्विक इति ह आस भन्ने इतिहास हो। कैलाश प्रथमः शिवस्य बसतिः शैली यतः संस्कृतिः। शिवादेशो हिमालयः। शिवदेशो हिमालयः। देवदेशो हिमालयः। देवीदेशो हिमालयः। ऋषिदेशो हिमालयः मुनिदेशो हिमालयः। मनुदेशो हिमालयः। जगज्ज्येष्ठो हिमालयः। विश्वश्रेष्ठो हिमालयः। सर्वतुंगो हिमालयः। सर्वरक्षो हिमालयः। सर्वरत्नो हिमालयः।सर्वजीवो हिमालयः। सर्वरम्यो हिमालयः। हिमवति दिव्योषधयः।

योगी नरहरिनाथ सही अर्थमा देशभक्त एवं राष्ट्रवादी थिए। एकथरी लोकतन्त्रवादीहरूले राष्ट्रवादलाई संकीर्ण राजनीतिक सोचको रूपमा लिने गरेका छन्,  जुन सही होइन। कुनै एक जाति वा नश्लले अन्य जातिमाथि हैकम चलाउने अर्थमा राष्ट्रवादलाई बुझ्नु पूर्णतः गलत हुन्छ। जर्मनीका पूर्वशासक हिटलरको जर्मन राष्ट्रवाद अन्य जाति, नश्ल, धर्मका विरूद्ध लक्षित थियो।

अचेल नेपालमा अन्य जाति, जनजाति र मधेसी समुदायका विरुद्धमा तथाकथित खसवादको थिचोमिचोको कुरा जोडतोडले उठाउने गरिएको छ। पश्चिमी राष्ट्रहरूको फन्डमा सञ्चालित आईरएनजीओले यस कार्यका लागि यहाँका केही सार्वजनिक बुद्धिजीवीलाई अनुबन्ध गरेका छन्। यहाँ दुःखका साथ भन्नुपर्छ नेपालको दुर्गतिको यो पनि एउटा ठूलो कारण हो। ती विदेशीहरूको लहैलहैमा नेपाली राष्ट्रियतालाई हिटलरको राष्ट्रवादसँग जोड्नु भनेको दुष्टताको पराकाष्ठा नै हो।

योगी नरहरिनाथको राष्ट्रियता कसैका विरूद्धमा लक्षित थिएन, छैन। उनको राष्ट्रियतामा नेपालको भूगोलमा बसोबास गर्ने सम्पूर्ण भाषाभाषी, जाति, समुदाय, धर्म-संस्कृतिका अनुयायी सबैको समुन्नतिको कामना र भावना रहेको पाइन्छ। इतिहास र पुरातत्त्वका सामग्रीहरूको खोज, अनुसन्धान र गवेषण गर्दा नेपालमा बसोबास गर्ने सबै जातजाति र समुदायको सहयोग प्राप्त गरेका छन्। उनी लिखित शिखरिणी यात्राबाट उद्धृत तलका केही श्लोकहरूबाट थाहा हुन्छ – उनको ऐतिहासिक यात्रालाई केकस्ता समुदायका व्यक्तिले सघाएका थिए,  हेरौं :

कतै तिङ्गी तामाङ वहकरि वहाँ लागि बसियो
कुमाल गौली सौका सित कति पुरातत्त्व बुझियो।
थकाली थामीका थरी थरी ती सन्थालहरुका
कतै पासी कुशहरि शिकारी बलछुँडि।
छुपा, सेर्पा, डुक्पा डुम डहल खम्पा खतिवडा
कतै तेली कोली भुल र बिमली मालिहरुका।
कतै सत्यै हाङ्मा शशि मुन्धुम माङ्मा परिचय
कुसुण्डा राउटेहरुसित बसी तत्त्व बुझियो।

उनका खोज र गवेषण कार्यमा सहयोगी बनेकाहरू केकस्ता हैसियतका थिए भन्ने कुरा हामी निम्नलिखित श्लोकबाट थाहा पाउँछौं :

पुजारा बञ्जारा अधिकृत गुरौ भाट भटले
दरैले तामाङले सकल थरिले थारुहरुले।
दियै नाली बेली निज निज भएका स्वघरका
बतायै टाढाका खडहर खडा खम्ब शतशः।
हटारु पैठारु शत शत स्वयंसेवकहरु
थिये मेरा साथी कठिन अनुसन्धान विधिमा।
ऋणी छु तिन्को ती उऋण निज कर्तव्य विधिले
तिनैको सम्झन्छु दिनहुँ अझ सौजन्य मनले ॥

नेपालका विभिन्न भौगोलिक क्षेत्रमा पाइने जडीबुटी र तिनको सेवन आफ्नो ऐतिहासिक यात्रामा उनले कसरी प्रयोग गरेका थिए, त्यस प्रसंगको एउटा  सुन्दर वर्णन हेरौं :

कतै काउलो जाउलो फलफूल सयौँ शाक भकिये।
खिरौँला पाँचौँले महजडी शतावर्षत फली ॥
कपासे ककाँटे गलिनु शतमूली र मूसली।
जडीबुटी धेरै थरी महसरी खाइ हिँडियो।
कतै सिप्लीगानै उसिनी भुवुरामा पनि भक्यौँ।
कतै खायौँ ताराचुक र वनदडिम वनकला ॥
बबुर्का काँचा फल् सलिल सित पनि भक्यौँ।
पुरातत्त्वान्वेषी बनीकन घुम्यौँ भारतभरि ॥

योगी नरहरिनाथका सबैजसो ग्रन्थहरू नेपालका प्राग, प्राचीन, मध्य र आधुनिककालका इतिहासको खोजी र परिशीलन गरिएका अभिलेख हुन्। तिनले नेपालको सुन्दर भविष्यको निर्माण गर्न हामीलाई प्रेरित र दिशा निर्देश समेत गर्छन् । उनले आफ्नो सम्पूर्ण जीवन राष्ट्र, राष्ट्रियताको निर्माण र संवर्धनका लागि अर्पित गरेका थिए। 

योगीले अनेक दुःखकष्ट झेलेर इतिहास, संस्कृति, भूगोल, भाषासाहित्य, कला, जातजाति, धर्म, जीवनपद्धति, यहाँका वनस्पति, देवी-देवता, विभिन्न ६ सय जाति र थर-गोत्रहरूको वंशावली लेखेका छन्। उनले २००२ सालमा 'इतिहास प्रकाश महामण्डल' नामक संस्था इतिहासज्ञ शिरोमणि बाबुराम आचार्यका अध्यक्षतामा आफैं संस्थापक सञ्चालक भएर स्थापना गरेका थिए। महासचिवमा  नरप्रताप थापा, कोषाध्यक्षमा शारदा शमशेर जबरा र सदस्यमा सूर्यविक्रम ज्ञवाली रहेका थिए। 

योगीद्वारा लिखित इतिहासप्रकाशका ठेलीहरूमा नेपाल र भारतका समेत इतिहास, पुरातत्त्व आदि विषयका सामग्रीहरू समाविष्ट गरिएका छन्। इतिहासप्रकाशमा सन्धिपत्र संग्रहमा नेपालको इतिहासका लगभग १५०० वर्षयताका विभिन्न लिखतका कागजात, अभिलेखहरू र सयौंको संख्यामा रहेका सन्धिपत्रहरूको दुर्लभ संग्रह छ। उनको ऐतिहासिक शिखरिणी यात्रा एक विशेष प्रकृतिको यात्रासाहित्य हो। पद्यगद्य दुवै विधा प्रयोग गरेर चम्पूकाव्यको रूपमा नेपाली, संस्कृत र हिन्दी  भाषामा समेत लेखिएको यस कृतिमा काव्यिक गुण उच्चकोटिको छ।

यस कृतिलाई यात्रासाहित्यको रूपमा मात्र हेरियो भने ग्रन्थको विषय र यसको गाम्भीर्यतर्फ विचार नपुगेको ठहरिनेछ। उनीद्वारा लिखित ग्रन्थहरू नेपालको  समाजशास्त्रीय अध्ययन गर्नेहरूका लागि सन्दर्भग्रन्थकै रूपमा उपयोगी छन्।

योगी नरहरिनाथको अलौकिक लाग्ने किसिमको व्यक्तित्व थियो। उनी एक व्यक्ति भए पनि एक सिंगो संस्थासमान थिए। उनले शिक्षाको विकास, विस्तार गर्नेतर्फ पनि धेरै काम गरेका छन्। विश्वविद्यालयको स्थापनालगायत अनेक  सांस्कृतिक, धार्मिक, अध्ययन र प्रकाशन संस्थाहरू खडा गरेका छन्। नेपाल  संस्कृत विश्वविद्यालय उनकै पहल र आर्थिक व्यवस्थापनमा स्थापना गरिएको थियो।

मानिस कोही सर्वगुणसम्पन्न हुँदैन। योगी नरहरिनाथले पनि मानिसको योनिमा जन्म लिएका थिए। उनका पनि कतिपय कमजोरी हुँदाहुन् तर तिनलाई उनको विशाल व्यक्तित्वले शरच्चन्द्रको ज्योतिले तारापुञ्जलाई मलिन गरेजस्तै भइदियो।

उनको व्यक्तित्वको अर्को पाटो राजनीति थियो, जुन विवादित बनिरह्यो। त्यतिखेर योगी-सन्यासीले राजनीति गर्नु हुँदैन भन्ने एउटा मनोविज्ञान थियो राजनीतक वृत्तमा। २००७ सालमा खोलेको 'कर्मवीर महामण्डल' नामको धार्मिक-सांस्कृतिक संस्थालाई २०१५ सालको चुनावमा दलको खोजेका थिए, जुन त्यतिखेरको चुनाव आयोगले अस्वीकार गरिदियो।

उनकै नेतृत्वमा 'कर्मवीर महामण्डल' ले २०१७ साल कार्तिकमा गोर्खाको सदरमुकाममा त्यहाँको जनसमुदायलाई भड्काएर विद्रोह मच्चाएको थियो जसमा ७ जना प्रदर्शनकारीको ज्यान गएको थियो भन्ने तत्कालीन जननिर्वाचित सरकारको आरोप थियो।

यसरी उनी बेलाबखत राजनीतिक विवादमा पर्ने गर्थे। उनले आफूलाई सही लागेको कुरा जनसमक्ष राख्न कसैसँग पनि धक मानेनन्। पछिल्लोपटक २०४० को दशकमा तत्कालीन राजा वीरेन्द्रको जिम्मेवारीमा कमजोरी भएको देखेर एउटा साप्ताहिक पत्रिकामार्फत राजाले अरूले समातेको छाता ओढ्ने होइन, आफैं समातेको छाता ओढ्नुपर्छ, नसक्ने भए छाडनुपर्छ भने।

पञ्चायतकालमा  राजालाई प्रत्यक्षमा यति कडा शब्दमा भन्ने आँट उनले मात्र गर्न सक्थे। खासमा उनी राष्ट्र एउटा समुच्चयको अवस्था हो र राजनीति त्यसमा संश्लिष्ट छ भन्ने मान्यता राख्थे। योगी-सन्यासी पनि राष्ट्रकै अंग हुन्। उनका ती विचार बडो गम्भीर, ध्यानयोग्य र सिद्धान्ततः सही लाग्छन्।

सारांशमा भन्दा योगी नरहरिनाथ नेपालका सच्चा सन्त, समाज सुधारक, देशभक्त एवं राष्ट्र निर्माणका अथक अभियन्ता थिए। उनको शिखरिणी यात्रा नेपालमा मात्र सीमित थिएन, भारतको विशाल क्षेत्रसम्म पुगेको थियो। त्यहाँका पुरातत्व धरोहर, सांस्कृतिक अभिलेख आदि उतार गरेर आफ्ना ग्रन्थमा समावेश गरेका छन् र ती सामग्री नेपालको इतिहासको तुलनात्मक अध्ययन गर्ने स्रोतसामग्री बन्न पुगेका छन्। उनी नेपालका विभूति थिए। योगी नरहरिनाथजस्ता दिव्यपुरुष नेपालभूमिले पाएकोमा हामी नेपाली धन्य छौं, उनी अमर छन्।

(पोखरेलको हालै प्रकाशित विचार मीमांसा -दर्शन, साहित्य, समाज र संस्कृति पुस्तकबाट)

प्रतिक्रिया दिनुहोस्