सुर्खेत- नेकपाको प्रचण्ड-नेपाल समूहका नेता जनार्दन शर्माले संविधान र राष्ट्रियताको रक्षाका लागि संयुक्त मोर्चा बनाउन प्रस्ताव गरेका छन्।
वर्तमान सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीका कारण राष्ट्रियता र संविधान खतरामा परेको भन्दै शर्माले यसको रक्षाको लागि संयुक्त मोर्चा बनाउन प्रस्ताव गरेका हुन्।
सोमबार सुर्खेतमा पत्रकारसँग कुराकानी गर्दै नेता शर्माले संविधान र राष्ट्रियता पक्षधर राजनीतिक दल, सम्पूर्ण पेशा, बर्ग, क्षेत्र, जाति तथा लैंगिक समुदायको प्रतिनिधित्व हुनेगरी संयुक्त मोर्चा बनाउनुपर्ने बताए। संयुक्त मोर्चा कम्तीमा दस वर्षे टिकाउने र सबैको प्रतिनिधित्व हुनुपर्ने प्रस्ताव उनको छ।
‘संसद विघटन गर्ने प्रधानमन्त्रीको असंवैधानिक कदमले संविधान र राष्ट्रियता खतरामा परेको छ’ शर्माले भने, ‘अब संयुक्त मोर्चा बनाएर संविधान र राष्ट्रियताको रक्षा गर्नुपर्छ।’ प्रधानमन्त्री ओलीले असंवैधानिक, विनासकारी र राष्ट्रघाती कदम चालेका कारण संविधान र राष्ट्रियता खतरामा परेको उनको जिकिर छ।
शर्माले प्रधानमन्त्री ओली र सरकारको कदमविरुद्ध संयुक्त मोर्चाले सडकबाट संघर्ष सुरु गर्नुपर्ने बताए।
सबै जाति र समुदायको योगदानका कारण संविधान र संघीयता आएको भए पनि सिमित दल र तीनका नेताले मात्रै फाइदा लिन खोज्दा उपलब्धी गुम्ने खतरा शर्माले भनाइ छ।