समाचार

जटायु रेष्टुरेन्ट : गिद्ध संरक्षणमा सहयोगी

1614415514.jpg

बुटवल- १५ वर्षअघि स्थापना गरिएको जटायु रेष्टुरेन्ट गिद्ध संरक्षणमा सहयोगी बनेको छ।

NLG Insurance
Sampoorna Oil

विश्वबाटै लोप हुने अवस्थामा पुगेको गिद्धको संरक्षणका लागि १५ वर्षअघि नेपालका विभिन्न ठाउँमा जटायु रेष्टुरेन्ट (गिद्धको सुरक्षित आहार केन्द्र) स्थापना गरिएको थियो। 

जटायु रेष्टुरेन्टमा किसानबाट वृद्ध, अशक्त र बेकामी भएका गाईवस्तु संकलन गरी पालनपोषण गर्ने र प्राकृतिक रुपमा मृत्यु भएपछि गिद्धको आहाराका रुपमा प्रयोग गर्ने गरिन्छ। नेपाल पंक्षी संरक्षण संघको सहयोगमा स्थानीयहरुले रुपन्देहीसहित देशभर ६ ठाउँमा जटायु (गिद्ध) रेष्टुरेन्ट सञ्चालनमा छन्। 

यो रेष्टुरेन्ट सञ्चालनपछि गिद्ध संरक्षणमा सहयोग पुगेको नेपाल पंक्षी संरक्षण संघले जनाएको छ। गैडहवा गाउँपालिकाको विष्णुपुरामा २०६५ सालमा सुरक्षित आहारका निम्ति जटायु रेष्टुरेन्ट स्थापना गरिएको हो। गिद्धलाई शुद्ध आहार उपलब्ध गराई संरक्षण गर्ने उद्देश्यले २०६३ मै स्थानीय समुदायको सक्रियतामा नवलपरासीको पिठौलीमा विश्वकै पहिलो समुदायस्तरको जटायु (गिद्ध) रेष्टुरेन्ट खोलिएको थियो। स्थानीय समुदायको व्यवस्थापनमा यो रेष्टुरेन्टले गिद्धहरुको आहारको व्यवस्थापनको काम गर्दै आएका छन्। 

गिद्धको संख्यामा भारी गिरावट आएपछि संघले जटायु रेष्टुरेन्ट खोलेर गिद्धको स्वस्थ आहारको व्यवस्थापन गर्न थालेपछि लोप हुन लागेका गिद्धको संरक्षणमा टेवा पुगेको गिद्धविज्ञ कृष्ण भुसालले बताए।

सरकारले पशुमा प्रयोग गरिने डाइक्लोफेनेक औषधिलाई प्रतिबन्ध लगाएको र देशभरका ६ ठाउँमा जटायु रेष्टुरेन्ट स्थापना भएपछि लोपोन्मूख गिद्धको संख्या वृद्धि भएको विज्ञ भुसालको भनाइ छ। तर, पछिल्ला दिनहरुमा गिद्धका लागि हानिकारक प्रमाणित भइसकेका एसिक्लोफेनेक, किटोप्रोफेन र निमुस्लाइडजस्ता औषधिको पशु उपचारमा प्रयोग बढ्दा चुनौती थपिएको उनको भनाइ छ। 

नवलपरासीको कावासोती बजारदेखि चार किमि दक्षिण पिठौली र कावासोतीमा एसियाकै पहिलो समुदायस्तरको जटायु रेष्टुरेन्ट सञ्चालन भइरहेको छ। त्यसपछि रुपन्देहीको गैडहवा गाउँपालिका साविक विष्णुपुरामा रेष्टुरेन्ट खोलिएको थियो। अहिले दाङको लालमटिया र बिजौरी, कैलालीको खुटिया र कास्कीको घाँचोकमा रेष्टुरेन्ट सञ्चालन भइरहेको छ। गैडहवा ताल छेउमा सञ्चालित जटायु रेष्टुरेन्ट जैविक विविधता र गिद्ध संरक्षणको हिसाबले नेपालमै नमूना छ। जटायु रेष्टुरेन्ट सञ्चालनमा आएपछि गिद्धहरुको संख्यामा वृद्धि भएको छ।

सरकारले २०६३ जेठ २३ गते डाइक्लोफेनक प्रयोगमा पूर्णरुपमा प्रतिबन्ध लगाएको छ। अहिले नेपालमा १३ हजारको हाराहारीमा गिद्ध रहेको संघको भनाइ छ। राजापानी सामुदायिक वन कपिलवस्तुमा १०० को हाराहारीमा गिद्धका गुडहरु देखिएको नेपाल पंक्षी संरक्षण संघका फिल्ड परियोजना अधिकृत भूपाल नेपालीले बताए। यस्तै रुपन्देहीको रुद्रपुर जंगल क्षेत्र, सुखौरा हरियाली क्षेत्रमा गुँड लागेको छ। 

ती गुँडबाट बच्चा भएपछि गिद्धको संख्या बढ्ने संघले जनाएको छ। 

हाल रुपन्देहीको जटाय रेष्टुरेन्टमा १०० भन्दा धेरै गिद्ध रहेको जटायू रेष्टुरेन्ट संरक्षण समितिले जनाएको छ। तर गिद्ध सधैँ एकै ठाउँमा नबस्ने भएकाले संख्या धेरै थोरै भइरहन्छ। स्थानीयका अनुसार रेष्टुरेन्ट स्थापना हुनुअघि २०÷३० वटा मात्रै गिद्ध देखिन्थेँ। रेष्टुरेन्ट खुलेपछि गिद्धहरुको संख्या वृद्धि भएको र वातावरण संरक्षणमा समेत टेवा पुगेको विष्णुपुराका स्थानीय डम्बर क्षेत्रीले बताए। उनका अनुसार गिद्धका निम्ति प्राकृतिक रुपमा मृत्युपश्चात पशु अर्थात् गाई÷गोरु आहारका रुपमा दिने गरिएको छ।

संघका अनुसार यहाँ गिद्धको संख्या बढ्नुका साथै नेपालमा पाईने ९ प्रकारमध्ये ७ प्रकारका गिद्ध पाइन्छन्। नेपालमा हाडफोर, सेतो डंगर, लामो ठुँडे, सानो खैरो, हिमाली खैरो, राज र सुन गिद्ध पाइन्छ। अन्तराष्ट्रिय प्रकृति संरक्षण संघ (आइ.यू.सी.एन) को संकटापन्न प्रजातिको सूची रेड डाटा लिष्टले नेपालमा पाइने सानो खैरो, डंगर र सुन गिद्धलाई अतिसंकटापन्न र सेतो गिद्धलाई संकटापन्न सूचीमा सूचीकृत गरेको छ। त्यसमध्ये रुपन्देहीमा डंगर, सानो खैरो, सुन गिद्ध, लामो ठुँडे जस्ता गिद्ध पाइन्छन्।

नेपालमा अहिले डंगर १ देखि २ हजार, सानो खैरो गिद्ध ५० देखि ७५, सुन गिद्ध २०० देखि ४०० सम्म, सेतो गिद्ध ३०० देखि १ हजारसम्म, हिमाली गिद्ध १० हजारभन्दा माथि, राज गिद्ध (आगन्तुक) ६० देखि १०० सम्म र हाडफोर गिद्ध ५०० भन्दा बढि पाइने नेपाल पंक्षी संरक्षण संघले जनाएको छ। खैरो गिद्ध र लामो ठुँडे गिद्धको भने पहिचान भएको छैन। 

रुपन्देहीको जटायु रेष्टुरेन्ट पर्यटकहरुको आर्कषण र अनुसन्धानकर्ताहरुका लागि रुचीको क्षेत्र बनेको छ। रेष्टुरेन्ट नजिकै गैडहवा ताल, सहिद पार्कसमेत रहेकाले यहाँ पर्यटक लोभ्याउने क्षेत्र बनेको हो। जटायु रेष्टुरेन्टलाई पर्यापवरणसँग जोडेर सरकारले प्रवर्द्धन गरे यसले फाईदा दिने गिद्ध विज्ञ भुसालको भनाइ छ। प्राकृतिक रुपमा कुचिकारका रुपमा गिद्धलाई मान्ने गरिएपनि यसको संरक्षणमा भने सरकारी तबरबाट चासो कम पुगेको उनले बताए। 


तस्बिरहरु नेपाल पंक्षी संरक्षण संघबाट प्राप्त

प्रतिक्रिया दिनुहोस्