काठमाडौं - प्रिमियर क्लब टोटेनहम हट्सपर मरिनविरुद्ध फराकिलो जित निकाल्दै एफए कपको चौथो राउन्डमा प्रवेश गरेको छ।
रोसेट पार्कमा आइतबार राति सम्पन्न खेलमा टोटेनहमले मरिनविरुद्ध ५–० गोलको सानदार जित निकाल्न सफल भयो।
सानदार जित दिलाउने क्रममा कार्लोस भिनिसियसले ह्याट्रिक गरे भने लुकास मौरा र अल्फि डेविनले समान १/१ गोल गरे।
खेलको २४ औं मिनेटपछि १३ मिनेटमा लगातार तीन गोल गर्दै भिनिसियसले ह्याट्रिक पूरा गरेका हुन्। यसबीच ३२ औं मिनेटमा मौराले पनि गोल गरेका कारण पहिलो हाफमै टोटेनहम ४–० गोलले अघि थियो।
दोस्रो हाफको ६० औं मिनेटमा मौराले दिएको पासलाई उपयोग गर्दै डेविनले गोल गरेपछि भने टोटेनहमले ५–० गोलको जित निकालेको हो।
जितसँगै मरिन प्रतियोगिताबाट बाहिरिएको छ भने टोटेनहम अर्को राउन्डमा प्रवेश गरेको छ।
त्यस्तै गत वर्षको एफए कप उपविजेता चेल्सी पुनः जितको लयमा प्रवेश गरेको छ। सबै प्रतियोगिताका पछिल्ला सात खेलमध्ये एक खेलमा मात्र जित निकालेको चेल्सी खराब अवस्थाबाट गुज्रिरहेको थियो।
तर, आइतबार रातिको खेलमा भने उसले मोरक्यामबेविरुद्ध ४–० गोलको सानदार जित निकालेको छ। स्ट्याम्फर्ड ब्रिजमा सम्पन्न खेलमा घरेलु टिम चेल्सीका लागि मेसन माउन्ट, टिमो वेर्नर, कलुम हुड्सन ओडी र काई अभाट्र्सले समान १–१ गोल गरे।
माउन्ट र वेर्नरले पहिलो हाफमा गोल गरे भने ओडी र हभाट्र्सले दोस्रो हाफमा गोल गर्दै मारेक्यामबेलाई कपबाट बाहिर पठाए। चेल्सी भने एफए कपको चोथो राउन्डमा प्रवेश गरेको छ।
आइतबार रातिकै अर्को खेलमा बर्नान्डो सिल्वाले दोहोरो गोल गर्दा म्यानचेस्टर सिटीले बर्मिङघमविरुद्ध सहज जित निकालेको छ।
सहज जितका साथ सिटी चौथो राउन्डमा प्रवेश गरेको छ भने बर्मिङघम प्रतियोगिताबाट बाहिरिएको छ।
३–० गोलको जित निकाल्ने क्रममा सिल्वाले आठौं र १५ औं मिनेटमा गोल गरे भने फिल फोडेनले ३३ औं मिनेटमा गोल गरे।
पहिलो हाफमै तीन गोलको अग्रता बनाएको टिमले सोही नजिताका साथ खेल जित्यो।