विशेष समाचार
1614327527.jpg
बारीमा लगाएकाे तरकारी टिप्दै रुपन्देही भर्थापुरका किसान।

बुुटवल– रूपन्देही सियारी भर्थापुरका रामपत केवट (७२) को पुर्ख्याैली पेसा खेती किसानी हो। उनी जान्ने हुँदादेखि नै खेतीपाती गर्छन्। 

NLG Insurance
Sampoorna Oil

रामपत उज्यालो हुँदादेखि साँझसम्म खेतमै व्यस्त हुन्छन्। तर, उनले मेहनतअनुसारको फल पाएका छैनन्। 

‘म जान्ने भएदेखि नै खेती गर्न थालें। घरखर्च त चलेको छ तर आर्थिक रुपमा उन्नति भएन’, उनी भन्छन्। 

पहिले धान, मकै र गहुँ मात्रै लगाउँदै आएका केवटले केही वर्षयता भने तरकारी खेती गर्न थालेका छन्। 

व्यावसायिक रुपमा तरकारी खेती गर्ने लहर चलेपछि उनी हरियो तरकारी खेतीमा आकर्षित भएका हुन्। 

उनले १० कठ्ठामा तरकारी खेती गरेका छन्। उत्पादनमा लगाएको मेहनत भने पाउन नसकेको दुःखेसो उनको छ। 
वर्षभरि मेहनत गरे पनि हरियो तरकारीको भाउ भने किसानले तोक्न पाउँदैनन्। 

बिचौलियाले किसानसँग थोरै मूल्यमा किन्छन्। उनीहरुले उपभोक्तालाई चर्काे मूल्यमा बेच्दा किसान मर्कामा परेका हुन्। 

‘आफूले उत्पादन गरेको कृषि उपजको भाउ किसानले तोक्न नपाउनु नै मूख्य समस्या हो’, अर्का किसान सुग्रिम केवटले भने। 

बिचौलियाले गर्दा लगानी नउठेपछि भर्थापुरका किसानले बिचौलियालाई तरकारी बिक्री गर्दैनन्। तर, उत्पादन धेरै भएका बेला भने कुहिने डरले सस्तोमा बेच्नुपरेको सुग्रिमले बताए। 

कृषिमा परिश्रम धेरै हुने र आम्दानी थोरै हुँदा व्यावसायिक भनिए पनि घरखर्च मात्रै चलेको उनको भनाइ छ। 
उनले १३ कठ्ठामा मौसम अनुसारका हरियो तरकारी लगाएका छन्। 

किसानले खेतीपातीबाट लाभ लिन नसकेपछि उनकै अग्रसरतामा हनुमान कृषि उत्पादन पकेट समिति गठन भएको छ। 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत तरकारी पकेट क्षेत्रका रुपमा यहाँका किसानलाई सिँचाइका लागि डिप टयूबेल र कृषि उपकरण दिएपछि खेती गर्नेहरु बढेका छन्। 

२० जना किसानले व्यावसायिक र अन्य ३० घरले अर्धव्यावसायिक रुपमा खेतीपाती गर्ने गरेको हनुमान कृषि उत्पादन पकेट समितिका अध्यक्ष सुग्रिमले बताए। 

उनका अनुसार झन्डै १३ बिघामा तरकारी मात्रै लगाइएको छ। किसानले उत्पादन गरेको तरकारी स्टक राख्न सक्ने क्षमता नहुँदा समस्या भएको उनले बताए। 

‘थोरै लगानीमा उत्पादन गर्ने हो। तरकारी लगाएरै छोराछोरीलाई पढाउने हो’, सुग्रिमले भने, ‘सरकारी सहयोगले उत्पादन बढाउन मद्दत पुगेको छ तर उत्पादित सामानको मूल्य नपाउँदा लगानी खेर गयो।’ 

रुपन्देहीको सियारी गाउँपालिकास्थित भर्थापुरमा लगाइएको तरकारी खेती।

किसानले मूल्य तोक्न नपाउनु र बजार अरुकै नियन्त्रणमा हुँदा वास्तविक किसान मारमा परेका हुन्। 

‘हामीले उत्पादन गरेको खेतीको आम्दानी सन्तान पढाउन र घरखर्च चलाउनमै ठिक्क छ’, अर्का किसान राजकुमार केवटले भने। 

वर्षभरि मेहनत गरेर तरकारी फलाए पनि मूल्य नपाउँदा समस्या भएको उनको गुनासो छ। 

‘कहिलेकाहीं पाँच रुपैयाँ किलोमा बोडी बेच्नुपर्छ’, उनले भने। यहाँका किसानले करेला, बोडी, भिन्डी, सिमी, घिरांैला, खुर्सानी, धनियाँ, साग, आलु, गोलभेंडा उत्पादन गर्दै आएका छन्।  

४० घर रहेको भर्थापुर अहिले तरकारी गाउँका रूपमा परिचित छ। 

उत्पादित तरकारी किसान आफैंले बुटवल, मणिग्राम, अमुवा बजार, ठूटी पीपल, ड्राइभरटोल, नयाँ गाउँसम्मका बजारमा लैजाने गरेका छन्। 

सियारी गाउँपालिकाले पनि किसानलाई राहत दिने कार्यक्रम ल्याएको दाबी गरेको छ। 

गाउँपालिकाका अध्यक्ष अयोध्या थारूले सियारी कृषिमा उर्वर रहेकाले कोल्ड स्टोर निर्माण र बजारको समेत व्यवस्थापन गरिएको बताए। 

‘किसानले मूल्य तोक्न नपाउने र बजार अभावमा तरकारी कुहाउनुपरेको सत्य हो, अब हामीले यसै वर्षदेखि यसको अन्त्य गर्ने कोसिस गर्नेछौं’, उनले भने। 

प्रत्येक वडालाई कृषिमा पकेट क्षेत्र घोषणा गरेर गाउँपालिकाले मल र बिउमा अनुदान तथा किसानलाई विभिन्न उपकरणमा सहयोग गर्ने योजना ल्याएको उनको भनाइ छ। 
 

प्रतिक्रिया दिनुहोस्