कोरोना महामारीका कारण बन्द गरिएका धेरै क्षेत्र खुलिसक्दा पनि फिल्म हल नखोलिएपछि सञ्चालकहरुले आफ्नै ‘रिस्क’मा पुस १० गतेदेखि हल खोले।
तर, दर्शक हलसम्म पुगिरहेका छैनन्, उनीहरुलाई हलसम्म तान्न सञ्चालकसँग नयाँ फिल्म पनि छैनन्।
देशभरका सबैजसो फिल्म हल खुले पनि तीनमा पुराना फिल्म पुनः प्रदर्शन गर्नुुबाहेक विकल्प छैन। त्यसैले हल खुले पनि चल्न सकेका छैनन्।
अहिले हलमा बत्ती बाल्ने–निभाउने, सिटहरु सफा गर्ने, पर्दा मिलाउने काममात्रै भइरहेको छ। यद्यपि, गएको चैतदेखि विदा दिएका कर्मचारीहरुलाई हल सञ्चालकले विस्तारै फिर्ता बोलाउँदैछन्।
केही हलमा पुराना फिल्म चलेका छन् तर तीनमा दर्शक संख्या १० प्रतिशत पनि छैन।
‘हल सञ्चालन ट्रायलजस्तो मात्रै भएको छ,’ सञ्चालकहरुको छाता संगठन नेपाल चलचित्र संघका अध्यक्ष मधुसुदन प्रधान भन्छन्।
उनका अनुसार ९ महिनादेखि बन्द हुँदा ढुसी लागेका हल खोलेर सरसफाइ गर्ने काममात्र भएको छ। भन्छन्, ‘अबको आशा भनेको माघ १ गतेदेखि प्रदर्शनको तयारीमा रहेको ‘एउटा यस्तो प्रेम कहानी’ हो।’
नायक शिव श्रेष्ठले निर्माण गरेको ‘एउटा यस्तो प्रेम कहानी’ले नेपाली फिल्म क्षेत्रलाई ‘पुनर्जीवन’ दिनेमा हल सञ्चालकहरु आशावादी छन्।
शिव श्रेष्ठका छोरा शक्ति र नायिका करिस्मा मानन्धरकी छोरी कविता अभिनित यो फिल्म सिने क्षेत्रको बहुअपेक्षित परियोजना हो।
यो फिल्मले हलमा दर्शक तान्यो भने सिने क्षेत्र फेरि उठ्ने अपेक्षा हल सञ्चालक, चलचित्र निर्माता, निर्देशक, कलाकार, प्राविधिक सबैको छ।
‘नौ महिनापछि हल खुल्दा पुराना चलचित्र देखाउनु परेको छ, नयाँ फिल्म छैनन्, त्यसैले एउटा यस्तो प्रेम कहानीबाट हामीलाई ठूलो अपेक्षा छ’, चलचित्र निर्माता तथा वितरक गोविन्द शाही भन्छन्।
यो फिल्मले दर्शक तान्न सक्यो भने त्यसपछि लाइनमा रहेका केही फिल्मले बजारमा चहलपहललाई निरन्तरता दिनेछन्।
‘एउटा यस्तो प्रेम कहानी माघ १ गतेदेखि लाग्छ, हामीले पुस १० गतेदेखि हल खोलेर वार्मअप गरिरहेका छौं,’ चलचित्र संघका अध्यक्ष प्रधान भन्छन्, ‘यो फिल्मपछि लप्पन छप्पन रिलिजको तयारीमा छ। त्यसपछि केही बलिउड फिल्महरु छन्।’
यद्यपि, यी फिल्मले राम्रो व्यापार गर्न सके वा नसके पनि आफूहरुसँग हल खोलिराख्नुको विकल्प नभएको उनको भनाइ छ।
फिल्म क्षेत्रका हजारौंको रोजगारी हलसँग जोडिएको छ। त्यसैले पनि हलमा दर्शकको दयनीय उपस्थिति सरकारले पनि देखोस् र फिल्म क्षेत्रलाई केही राहत उपलब्ध गराओस् भन्ने चाहना हल सञ्चालकको छ।
प्रधानका अनुसार काठमाडौंलगायत देशैभरका मल्टीप्लेक्स खुलिसकेका छन् भने साधारण हलहरु पनि खुल्ने तरखरमा छन्। मल्टिप्लेक्सहरु केही हलिउड फिल्मको पर्खाइमा छन्।
यसअघि हल खोल्न नदिएको सरकारले विश्व स्वास्थ्य संगठन तथा स्वास्थ्य तथा जनसंख्या मन्त्राललयले तोकेको मापदण्ड पूरा गरेर मात्र सञ्चालन गर्ने प्रतिबद्धतापछि खोल्न दिएको छ।
सरकारले हल सञ्चालकलाई ५० प्रतिशतमात्रै दर्शक राख्न भनेको छ। तर, त्यो ५० प्रतिशत कहिले पुग्ला भन्ने पर्खाइमा छन् सञ्चालकहरु।
काठमाडौंको बौद्धस्थित केएल टावरमा सञ्चालित एफक्युब सिनेमाजका प्रबन्धक रामहरि कोइरालाका अनुसार सुरुमा ५ प्रतिशतमात्र भरिएको हल शुक्रबार हलिउड फिल्म ‘मोन्स्टर हन्टर’ को रिलिजपछि भने २० प्रतिशतसम्म पुगेको छ।
झण्डै दस महिनाअघि हल बन्द गरिएपछि त्यसबेला प्रदर्शनको तयारीमा रहेका फिल्मले प्रदर्शनका लागि अरु नै प्लेटफर्म रोज्न बाध्य भए। चलचित्र संघका अध्यक्ष प्रधानका अनुसार महामारीको अनिश्चितकालीन संकटका कारण कतिपय फिल्म डिशहोमबाट प्रसारण भए भने कतिपयले युट्युब रोजे।
करोडौंको लगानी डुबाएका निर्माताहरु झण्डै एक वर्षको बीचमा अरु प्लेटफर्ममा आफूलाई अभ्यस्त पार्ने कोसिसमा रहे। तर हलमा नगएसम्म फिल्मको लगानी नउठ्ने भएपछि अब उनीहरु हल नै चाहिने निष्कर्षमा पुगेका छन्।
भारतमा लकडाउन खुलेसँगै अन्य क्षेत्रजस्तै फिल्म हलहरु पनि खुलिसकेका छन्। हल खुलेसँगै बलिउड फिल्महरु धमाधम रिलिजको तयारीमा छन्। ती फिल्महरु पनि नेपाली हल सञ्चालकहरुका लागि महत्वपूर्ण छन्।
बलिउडको बहुचर्चित फिल्म ‘केजीएफ’को सिक्वेल ‘केजीएफ च्याप्टर २’ छिटै हलमा आउने तयारीमा छ।
‘केजीएफ च्याप्टर २’ रिलिज भए उठ्न सकिन्छ भन्ने विश्वासमा हल सञ्चालकहरु छन्। तर उक्त फिल्मले रिलिज मिति तय गरिसकेको छैन।
केजीएफसँगै बलिउडका चर्चित नायकनायिकाहरुका फिल्म पाइपलाइनमा रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। यी फिल्म भारतमा रिलिज हुँदा नेपाली हलहरुले पनि बिजनेश पाउँछन्।
माघ १ गते नयाँ फिल्म लागेपछि दर्शकहरु आउलान् भन्ने अपेक्षा हल सञ्चालकहरुको छ।
तर कोरोना भाइरसको जोखिम कम भइसकेको छैन। नयाँ प्रकारको कोरोना भाइरस देखिएपछि बेलायतमा पुनः लकडाउन गर्नुपर्ने अवस्था बनेको छ। जर्मनीमा त तीन साताको लकडाउन जारी नै छ।
यसै पनि कोरोनाको त्रास हटिसकेको अवस्था छैन। त्यसैमाथि भ्याक्सिन कहिले आइपुग्छ निश्चित नभएको हामीकहाँ भारतसम्म आइपुगेको नयाँ प्रकारको भाइरसको त्रासले दर्शक फिल्म हलसम्म जानेमा थप आशंका बढेको छ।