व्यवस्थापनका थुप्रै विषयले विद्यार्थीलाई छनोटसँगै रोजगारीको अवसर दिइरहेका छन्।
विश्व अर्थतन्त्रमा भइरहेको परिवर्तन र बजारको मागले विश्वविद्यालय शिक्षाको स्वरुप पनि बदलिँदो छ। बजारसँग प्रत्यक्ष जोडिएको हुँदा व्यवस्थापन संकायमा हरेक वर्ष नयाँ विषय थपिने क्रम बढिरहेको छ।
विश्वविद्यालयले पछिल्लो समय बीबीएस, बीबीएमात्र नभई बीबीएबीआई (ब्याचलर इन बिजनेस एडमिनिस्ट्रेसन बैंकिङ एन्ड इन्स्योरेन्स), बीबीआईटीटी (ब्याचलर इन बिजनेस एडमिनिस्ट्रेसन ट्राभल एन्ड टुरिजम), बीसीआईएस (ब्याचलर इन कम्प्युटर एन्ड इन्फर्मेसन सिस्टम), बीबीए (फाइनान्स), बीबीएम (ब्याचलर अफ बिजनेस म्यानेजमेन्ट), होटल व्यवस्थापन (बीएचएम), ब्याचलर इन ट्राभल एन्ड टुरिजम म्यानेजमेन्ट (बीटीटीएम) लगायत विषय अध्यापन गराइरहेका छन्।
बजारमा व्यवस्थापकीय जनशक्तिको माग बढेसँगै ब्याचलर्स इन हेल्थ केयर म्यानेजमेन्ट (बीएचसीएम), ब्याचलर्स इन ट्राभल एन्ड टुरिजम (बीटीटीएम) जस्ता नयाँ विषय पनि समेटिएको त्रिभुवन विश्वविद्यालयका अधिकारी बताउँछन्।
व्यवस्थापन संकाय दक्ष जनशक्ति उत्पादनमा अब्बल साबित भएकाले थप विषय पनि समेटिरहेको त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डिन प्रा. डिल्लीराज शर्मा बताउँछन्।
‘रोजगारमूलक भएकै कारण व्यवस्थापन सबैभन्दा बढी विद्यार्थी पढ्ने संकाय भएको छ,’ उनी भन्छन्, ‘व्यवस्थापकीय ज्ञानसँगै व्यावहारिक र रोजगारमूलक बनाउन बर्सेनि नयाँ विषय थपिरहेका छौं।’
त्रिभुवन विश्वविद्यालयका कुल विद्यार्थीमध्ये ४८ प्रतिशतले व्यवस्थापन संकाय पढिरहेका छन्। व्यवस्थापन संकायमा अध्ययन गर्ने विद्यार्थीको संख्या गत वर्ष मात्रै १० प्रतिशतले बढेको छ।
त्रिभुवन विश्वविद्यालयका साथै पोखरा, पूर्वाञ्चल, काठमाडौं, मध्यपश्चिम विश्वविद्यालय र यी विश्वविद्यालयका आंगिक र सम्बन्धन प्राप्त कलेजले पनि व्यवस्थापनअन्तर्गतका विषय पढाइरहेका छन्।
पोखरा विश्वविद्यालयको सम्बन्धनमा बीबीए अध्यापन गराउँदै आएको रिट्ज कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्टका प्राचार्य तुलसीराम रिजाल व्यवस्थापन संकायको पाठ्यक्रमले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गरिरहेको बताउँछन्।
उनी भन्छन्, ‘स्वदेशमा मात्रै होइन, व्यवस्थापन पढेका विद्यार्थी विश्वबजारमा प्रतिस्पर्धा गरिरहेका र काम पनि पाइरहेका छन्।’
निजीको ठूलो योगदान
गोल्डेन गेट कलेजका प्रमुख कार्यकारी अधिकृत रमेश सिलवाल विश्वविद्यालयले दिएको मापदण्डभित्र रहेर निजी शैक्षिक संस्थाले व्यावहारिक र गुणस्तरीय शिक्षा प्रदान गरिररेको बताउँछन्।
निजी क्षेत्रको बलियो उपस्थितिसँगै स्नातक तह रोजगारमूलक शिक्षातर्फ उन्मुख भएको एभरेस्ट कलेजका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विष्णुहरि पाण्डे बताउँछन्।
‘निजी संस्थाले प्रदान गर्ने गुणस्तरीय शिक्षा पाएका उत्पादनले विश्वजारमा रोजगारीको अवसर पाएका छन्,’ पाण्डे भन्छन्, ‘अध्ययनपछि मात्र होइन, अध्ययनसँगै रोजगारीको अवसर पाइने भएकोले व्यवस्थापन संकायप्रति धेरैको रुचि देखिन्छ।’
विदेशी विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित स्वदेशी कलेजमा पनि व्यवस्थापन संकाय पढ्न सकिन्छ।
विदेशी विश्वविद्यालयको सम्बन्धनबाट स्वदेशमा बीबीए, एमबीए, बीआईटी, बीएचएमजस्ता विषय अध्यापन भइरहेको छ।
कुशल व्यवस्थापक बनाउने विषय
व्यवस्थापन शिक्षाको अध्ययनले सक्षम व्यवस्थापक उत्पादन गर्ने कलेज सञ्चालकहरू बताउँछन्। नेपाल मेगा कलेजका निर्देशक मधुकर पाण्डे व्यवस्थापन संकायका विद्यार्थीमा सीपको विकास हुनुका साथै आफ्नै व्यवसाय सञ्चालनका लागि आत्मविश्वास र उनीहरु सिर्जनशील तथा जिम्मेवार व्यवस्थापक बन्ने क्षमताका हुने बताउँछन्।
‘संस्थाको अल्पकालीन तथा दीर्घकालीन योजना तर्जुमा गरी मुनाफामा लैजान, सही समयमा सही निर्णय लिन सक्ने योग्यताको विकास गराउन व्यवस्थापन शिक्षाको ठूलो भूमिका हुन्छ,’ उनी भन्छन्, ‘त्यसका साथै यो विषयले चुनौती समाधान गर्न र जनशक्तिको व्यवस्थापन गर्न पनि सक्षम बनाउँछ।’
कुनै पनि संस्थाको उपल्लो तहमा पुर्याउन व्यवस्थापन शिक्षाको पढाइले सघाउने उनको भनाइ छ।
सम्बन्धित समाचार
ट्रिटनमा विद्यार्थीको सर्वांगीण विकासमा ध्यान दिइन्छ : ऋतु न्यौपाने
बीबीएसको पाठ्यक्रमलाई अझै प्रयोगात्मक बनाउन जरुरी छ : प्रतीक्षा शाक्य
व्यवस्थापकीय सीप विकासका लागि व्यवस्थापन शिक्षा : रूपक जोशी
रुचि र क्षमताअनुसार विषय छनोट गर्नुपर्छ : ऋषिराम उपाध्याय
दक्ष जनशक्ति उत्पादनमा प्रतिबद्ध छौं : निरुजा फुँयाल
बीबीएस कुशल व्यवस्थापक जन्माउने संकाय हो : बलराम राई
बीबीएसले व्यापक क्षेत्रको ढोका खोल्छ : श्यामसुन्दर श्रेष्ठ