विशेष
1613741324.jpg

उति बेला स्कुले शिक्षा सकेपछि धेरैको रोजाइ हुन्थ्यो सरकारी जागिर खाँदै कलेज पढ्ने या विदेश जाने। काठमाडौंमा जन्मिएर यहीं कलेज पढ्न थालेका पवन सत्यालको रुचि भने बेग्लै थियो। 

NLG Insurance
agrakhi
Yeti parketing

आईए पढ्दापढ्दै मौरीपालनतर्फ एकोहोरिएका पवन साढे तीन दशकदेखि यही पेसामा रमाइरहेका छन्। तर मौरीपालक किसान बन्न उनलाई त्यति सहज भएन।

२०४० सालको कुनै दिन पवनले अगाडिको घरको छतमा एक व्यक्ति बर्सादीले जिउ ढाकेर चलिरहेको देखे। बानेश्वरस्थित हार्डवेयर पसलमा काम गरिरहेका उनलाई खुल्दुली लाग्यो। 

सरासर चारतलामाथि छानामा चढे। नजिकै पुगेपछि देखे– शरीर ढाकेर घारमा मौरी व्यवस्थापन गरिरहेका व्यक्ति थिए– लक्ष्मण सिलवाल, नेपाल मौरी विकास केन्द्रका विज्ञ। उनै सिलवालबाट पवनले प्रेरणा पाए। 

पवनको मौरी प्रेम देखेपछि सिलवालले भनेछन्, ‘मौरी पाल्ने हो भने घार बनाउनु, म मौरी ल्याइदिउँला।’

मौरीपालनको सोख जागे पनि घार किन्न पैसा थिएन। पवनले सिकर्मीसँग अनुनय गरे। मौरी पाल्दा फाइदा हुने कुराले सिकर्मीलाई छोयो। दुई वटा घार बनाइदिए। 

सिकर्मीले घार बनाइदिएपछि, सिलवालले मौरी दिए। बिना लगानी ‘गार्डेन एपियरी’ को जग बस्यो। 

‘त्यसपछि मैले हार्डवेयर पसलमा मौरीको मार्केटिङ थालें’, पवन भन्छन्, ‘एउटा कागजको बाकसमा ‘माहुरी’ लेखेर टाँसें। पसलमा आउनेले सोध्थे। म तिनलाई मौरीका बारेमा जानेजति बताउँथें।’ उति बेलामौरी केन्द्र खोपासीमा थियो।

पवनले केन्द्रका विज्ञहरूसँग सम्बन्ध बढाउँदै लगे। केन्द्रलाई घार आपूर्ति गर्ने पुष्कर खवाससँग पनि व्यावसायिक मित्रता भयो। अब मौरी र घारको दुःख भएन। ‘उहाँहरूको सहयोगले धेरै भरथेग भयो,’ पवन भन्छन्।

मौरीको घार बढ्दै गयो, ग्राहक थपिँदै गए। उनले हार्डवेयर पसलमा काम छाडेका थिएनन्। मौरीबाट पनि दह्रो कमाइ थिएन। पसलमा काम गर्न छाडेर बाँसबारीमा ‘हनी भिडियो’ नामक भिडियो पार्लर खोले।

घारमा मह उत्पादन बढ्न थाल्यो। उता ‘हनी भिडियो’ पनि चलिरह्यो। पवनले पसलमा मह पनि बेच्न राखे। जनसम्पर्क बढ्दै गयो।

‘मसँग सधैं १०/१२ घार मौरी हुन थाल्यो। मौरी केन्द्रलाई पनि मौरी दिन थालें’,पवन भन्छन्, ‘बिस्तारै मौरीपालन प्रवर्धन गर्ने गैरसरकारी संस्थासँग पनि सहकार्य गरें।’

जर्मन संस्थामार्फत २०/२५ किसानलाई तालिम र ६० घार मौरी दिनुपर्ने प्रस्ताव आयो। उनी भन्छन्, ‘म एनजीओको नजरमा पर्न थालें।’ 

उनले दक्षिणकालीका किसानसँग पनि मह लिए। ‘होटेलमा आपूर्तिकर्ताका रूपमा प्रख्यात खिचापोखरीको फ्रेस हाउसलाई आफ्नै लेबलमा मह बेच्न लगें’,पवन भन्छन्, ‘त्यहाँबाट मेरो महको ब्रान्ड ट्रेकिङ सेक्टरमा प्रख्यात भएछ।’

सोल्टी होटेलबाट महको माग भयो। पवन भन्छन्, ‘गार्डेन एपियरी मेरो ब्रान्ड बन्यो।’

उनी पहिलोपटक घार बोकेर मौरी चराउन गोदावरी पुगे। त्यहाँ मौरी चराएपछि उत्पादन राम्रो भयो।

उनी भन्छन्, ‘गोरखापत्रमा गोदावरीमा चराएको मौरीको मह भनेर विज्ञापन दिएँ। त्यसले ब्रान्डिङमा थप मद्दत गर्‍यो।’

अब उनको चिनारी मौरीपालक सत्यालका रूपमा फैलिन थाल्यो। 

महामारीले भित्रिएको नयाँ प्रजाति

सेरेना नामक स्थानीय मौरीमा ‘थाईस्याकब्रुड’ भन्ने महामारी फैलियो। सारा मौरी सखाप भए। नियन्त्रणको उपाय पत्ता लागेन।

‘म यसबारे बुझ्न भारतको मुजफ्रपुरको खादीग्राममा पुगें,’ पवनले भने, ‘खादीग्रामका मौरी विज्ञले सेरेना मौरीको प्रतिरक्षा र उत्पादन कम हुने बताउँदै मेलिफेरा प्रजातिको मौरी सिफारिस गरे।’

मौरी आयात गर्न सरकारी अनुमति चाहिन्थ्यो। त्यसैले उनले सीमामा लुकाई छिपाई दुई घार मौरी लिएर फर्किए। 

मौरीलाई रातारात सिमरा स्थानान्तरण

उनले मौरी घरमा लुकाएर राखेका थिए। ‘किरा न हो, एकदुई वटा त उडेर जाने नै भए। मेरोमा चियो गर्न आउनेले ती मौरी छोपेर लगे। सत्यालले मेलिफेरा मौरी ल्याएको छ भनेर मेरो खेदो खन्ने काम भयो,’ उनी भन्छन्।

मौरी पत्ता लगाउन गुप्तचरले घर घेर्न थालेपछि रातारात मौरीलाई सिमरा पुर्‍याएको उनी स्मरण गर्छन्। ‘मौरीको संख्या बढेर १६/१७ घार भएपछि समस्या पर्न थाल्यो,’ उनी भन्छन्, ‘हितैषीलाई पनि मेलिफेरा दिने विचार गरें।’

उनले इन्टोमोलोजी शाखा, खुमलटार गएर मेलिफेरा मौरी ल्याएमा हुने कारबाहीबारे जानकारी लिए। कारबाही हुने आधार नभएको पक्कापक्की भएपछि गोरखापत्रमा छद्म नाममा विज्ञापन छपाए– मेलिफेरा उपलब्ध छ।

विज्ञापनले कृषि मन्त्रालयमा तहल्का मच्चियो। लगत्तै मन्त्रालयमा बसेको बैठकमा ‘मौरी ल्याउने त्यही सत्याल हो। त्यसलाई कारबाही गर्नुपर्छ। मौरी जफत गर्नुपर्छ’ भन्ने आवाज उठ्यो। 

बैठकमा सत्यालसँग काम गरेका कृषि परामर्शदातृ निकायका एक डच पनि थिए। उनले भोलिका दिनमा तस्करी गरेर मौरी ल्याए के गर्छौ? उडेर आए के गर्छौ?भन्ने कुरा राखेपछि कारबाहीको कुरा सेलायो।

अनि उनै विदेशीले मेलिफेरा मौरीबारे कृषकलाई तालिम दिने योजना बनाए। बाँसबारीमै किसानलाई सातदिने मौरीपालन तालिम आयोजना गरियो।

मूलधारमा मेलिफेरा

पवनले मौरी पालन चितवनमा विस्तार गरे। चितवन जिल्ला कृषि कार्यालयले पनि उनीसँग सहयोग लियो। पवनले कृषक तालिम र मेलिफेरा मौरी आपूर्ति गर्न थाले।

मौरी विकास केन्द्रले ‘सत्यालसँग मौरी नलिनू, केन्द्रले उपलब्ध गराउँछ’ भनेपछि उनी खुसी भए। 

‘मलाई मेलिफेरा ल्याउँदा कारबाही गर्न खोज्ने कार्यालयले नै मेलिफेरा झिकाएर बाँड्यो,’ पवन भन्छन्, ‘तर, के गडबडी भएर हो कुन्नि कृषि कार्यालयले ल्याएको सबै मौरी मरे।’ दुई जनाले पछि उनीसँग मौरी लगे र सफल भए।

प्राक्टिकल गर्न सत्यालको फार्म

चितवनमा उनको नाम र काम फैलियो। रामपुर कृषि क्याम्पसका विद्यार्थी व्यावहारिक अध्ययनका लागि उनको फार्ममा आउन थाले।

‘विदेशमा पढेर आएका रामपुर क्याम्पसका एक प्राध्यापकले ६ वर्ष जति विद्यार्थीलाई मेरो फार्ममा नियमित रूपमा ल्याएर प्राक्टिकल गराउनुभयो,’ उनी भन्छन्।

तोरीबारी बिग्रन्छ भन्ने भ्रम

उनले मौरी चराउन विभिन्न ठाउँमा लान थालेपछि स्थानीय मौरी पालकले  रिस गर्न थाले। तोरीबारीमा मौरी चराउन दिए बाली बिग्रन्छ भन्ने भ्रम फैलाइयो।

‘बरु तोरीबारीमा लाहीकिरा मार्न हाल्ने विषादीले मौरी मर्थे,’ उनी भन्छन्, ‘मौरी पराग सेचनको भरपर्दाे माध्यम हो। मौरीले बाली सप्रन्छ। विदेशमा तोरी किसानले मौरी किसानलाई हेरालु खर्च दिएर खेतमा मौरी चराउन ल्याउँछन्।’

उनले टायरवाला गोरुगाडामा टनाटन मह लिएर हिँड्दा मानिसहरू रिसले भुतुक्क हुन्थे। उनको रिस गर्नेसँग चितवनका घरबेटी पनि दिक्क भए। उनलाई चितवनमा स्थापित हुन त्यति सजिलो भएन। स्थानीय शिक्षकलगायत शिक्षित वर्ग भने उनका सहयोगी थिए।

उनले मौरीलाई कहाँ चराउँदा राम्रो होला भनेर विभिन्न ठाउँ चहारे। पड्केको जंगलमा चराउन लान्थे। राम्रो मह उत्पादन हुन थाल्यो। अरू किसानले पनि उनलाई पछ्याउन थाले। 

विकासको गतिले पड्केको जंगल सखाप भयो। अनि उनी नयाँ गन्तव्य खोज्नतिर लागे। मौरीपालन भने चितवन, दाङलागयतका ठाउँमा विस्तार भइरह्यो ।

सर्लाहीमा गुप्तवास

मौरीचरन खोज्दै जाँदा उनी सर्लाही पुगे। सर्लाहीको रुदिलोको जंगलमा राम्रो मह लाग्न थाल्यो।

चितवनको पीडा उनले भुलेका थिएनन्। चुपचाप काम गरे। झन्डै एघार वर्ष उनी सर्लाहीमा गुपचुप बसे। स्थानीय किसान लिचीको बगानमा मौरी लान्थे। उनी रुदिलोको जंगलमा गइरहे।

एकपटक चितवनका साथीले उनलाई ‘यहाँ रुदिलोमा कस्तो राम्रो मह हुन्छ तपाईं कता गइरा’, भनेर दुईतीन फिटका होचा रुदिलोको बोट देखाए।

सर्लाहीमा घरभन्दा अग्लो रुदिलोमा रमाइरहेका उनलाई ती होचा रुदिलो देखाउने साथीप्रति टिठ लाग्यो।

‘मसँग सर्लाही हिँड्नुस्। रुदिलोको जंगलमा,’ उनले ती साथीलाई भने।

तर उनी गएको अरूले पनि थाहा पाएर चितवनका सबै उतै सोहोरिए। पड्केको जंगलकै नियत रुदिलोको जंगलको पनि भयो। जंगल मासियो। फेरि गन्तव्य खोज्नुपर्‍यो।

सर्लाहीपछि उनी गुपचुप कैलाली, कञ्चनपुरक्षेत्रमा मौरी चराउन जान थाले।

गाउँठाउँमा मौरीपालन हुन थालेपछि पछिल्लो समय उनी मौरी चराउन जाँदैनन्। बरु स्थानीय किसानसँग मह संकलन गरेर बजारीकरणमा केन्द्रित भएका छन्। पवन अचेल बूढानीलकण्ठस्थित केन्द्रमा मह संकलनमा व्यस्त रहन्छन्। 

कमाइ कति?

‘जीवनमा मन परेको काम गरेर मध्यमस्तरीय नेपालीको हैसियत र पारिवारिक दायित्व पूरा गर्दै अरु दुईचार जनाको जीवनस्तर उकास्न मद्दत गर्नुको कति मूल्य हुन्छ? त्यति नै हो मेरो कमाइ,’ पवन भन्छन्, ‘मौरीमा लाग्दा पैसाको दुःख कहिल्यै भएन। व्यवहार चलिरह्यो। मौरीले मलाई आत्मसन्तुष्टि दिएको छ।’

मौरीपालनमा लागेर उनी दुःखी छैनन्। ‘एक पटक शुक्रनगरमा तिलको फूलमा मौरी चराउन लाँदा असार–साउनको उग्र गर्मीले ६० घार मौरी मरे। त्यो मैले मौरी पालेदेखि भोगेको एक मात्र दर्दनाक क्षण हो,’ पवन भन्छन्।

गरिबी निवारणका लागि मौरीपालन

नेपालमा करिब २५ हजार मौरीका घार छन्। क्षमता १ लाख २५ हजार घार थेग्न सक्नेछ। पवन भन्छन्, ‘च्युरीको मह त नेपालमा मात्रै हुन्छ। अर्गानिक चिया, यार्सागुम्बुजस्तै महको पनि नेपाली चिनारी बनाउने हो भने मह निर्यातको ठूला सम्भावना छ।’

प्रतिक्रिया दिनुहोस्