कला - साहित्य

कुशाग्रबुद्धिको युवकले चासो राख्ने सबै विषय एउटै पुस्तकमा

प्रदिप गिरि

1613735993.jpg

पचास वर्षअघिको कुरा हो। युवापंक्तिमा लोकप्रिय रहनुभएका सरोजप्रसाद कोइरालाले जनकपुरमा संगठन लथालिंग भयो, त्यता गएर सम्पर्क गरेर आउनू भनी जनकपुर जान प्रेरणा दिनुभयो। जनकपुरको त्यस भ्रमणमा जनहित पुस्तकालय स्थापना गरेको मलाई सम्झना छ। जनकपुरको हिँडडुलमा रामजीप्रसाद उपाध्याय, जसले मार्क्सवादको पक्षमा प्रखर तर्क अगाडि राख्नुभएको थियो। उहाँका तर्फबाट परेको प्रभाव आज पनि मेरो मानसपटलमा ताजै छ।

NLG Insurance
agrakhi
Yeti parketing

त्यसपछि लामो अन्तरालसम्म उहाँसँग मेरो भेट भएन। यदाकदा उहाँको सम्झना आइरहन्थ्यो। केही महिनाअघि मात्र डा. सन्दर्भ गिरिको विवाहको आयोजनामा अकस्मात् उहाँसँग भेट भयो। पहिला त झण्डै चिनजान नै गर्नुपर्‍यो। लामो अन्तरालपछि हाम्रो भेट भएको थियो। भाइ शेखर गिरिसँग भने भेट भइरहेको रहेछ। दुईजना मित्र हुनुहुँदो रहेछ। त्यसको केही दिनपछि शेखर गिरिको माध्यमबाट एउटा हेर्दा सानो हलुका तर अत्यन्त गहन अध्ययनले भरिएको पाण्डुलिपि मलाई भूमिका लेखनका लागि साग्रह पठाइयो। भूमिका लेख्ने काम एकातिर सजिलो हुन्छ। अर्कोतिर बडो झिजो हुन्छ। भूमिका नपढी लेख्दा पनि हुन्छ। पढेर लेख्नुपर्दा अत्यन्तै गाह्रो हुन्छ।

रामजीप्रसाद उपाध्यायको यस पुस्तकमा अनेकन् विषय परेका छन्। एउटा मानिस युवावस्थादेखि खोजीमा हिँड्छ। खोजीका दर्मियान संवेदनशील र कुशाग्रबुद्धिको युवकले चासो राख्नसक्ने सबै विषय यसमा सामेल भएका छन्।

समकालीन नेपालका स्थापित विद्वान् राजनीतिज्ञ विश्वेश्वरप्रसाद कोइरालाको विचारदेखि लिएर मिथिला संस्कृतिका विभूति विद्यापतिका उपरसमेत साधिकार लेखिएको छ। राधा–कृष्णको लीला–रहस्य समावेश गरिएको छ। यसबाहेक पनि थुप्रै विषय यथा भारतमा बौद्धधर्मको विनास कसरी भयो, धर्म भनेको के हो जस्ता विषय विवेचित छन्। 

महाभारतका प्रमुख पात्रहरुको गवेषण छ। विश्वसाहित्यको उपन्यास यथा अन्ना कारेनिनाको उल्लेख छ। अमेरिकाको गृहयुद्धको पृष्ठभूमिमा लेखिएको विराट उपन्यास ‘गौन विद् द विण्ड’ का उपर स्वतन्त्र आलेख छ। यी सबै विषयमा मलाई समेत लामो समयदेखि रुचि रहँदै आएको हो तर के यस्ता विषयलाई रामप्रसादजीका बारेमा यहाँको सानो भूमिकामा न्याय गर्न सक्छु? म स्पष्ट भन्न सक्छु म न्याय गर्न सक्दिनँ।

त्यसैले उहाँको अध्यावसायका प्रति श्रद्धा हुन गएको हुनाले कलम त उठाउँदै छु तर हेरक विषयलाई यहाँ इच्छा भएर पनि प्रतिपादन गर्न सक्दिनँ। सोझो कुरा, तद्नुरुपको पात्रतासमेत ममा छैन। पुस्तक अत्यन्त गहन छ, अध्ययन गर्नैपर्ने खालको छ। नयाँ विषयमा दिलचस्पी भएका युवापुस्ताले अल्छी नगरी पढून् भन्ने मेरो अनुरोध छ।

बौद्ध धर्म र हिन्दू धर्मको पारस्परिकता र प्रभावबारे लेखकको आफ्नो विचार छ। घुमिफिरीकन उहाँले हिन्दू धर्म र दर्शन श्रेष्ठ हो भन्न खोज्नुभएको बुझिन्छ। परोक्ष रूपमा उहाँ भन्नुहुन्छ– ‘उपनिषद्बाट प्रभावित भएर नै बौद्ध र जैन रचना आएका हुन्।’ यस सर्वमान्य वक्तव्यलाई उहाँले राधा–कृष्णदेखि लिएर रिच डेविडसम्मका उदाहरणबाट सिद्ध गर्नुभएको छ तर यो त अनौठो भएन? विद्रोह यसरी नै हुन्छ।

आँखाअगाडि हाम्रो सत्य के छ भने बौद्ध धर्म र दर्शनले हिन्दू दर्शनका दुई केन्द्रीय मान्यताका उपर प्रमुख प्रहार गरेको छ। जैन र बुद्धले वेदलाई अमान्य गर्न सकिँदैन। वेदविरोधी भएका हुनाले महावीर र बुद्धका स्थापनालाई नास्तिक दर्शन मानिन्छ। बुद्ध दर्शनले आत्मा र ईश्वर नमानेको हुँदा गुरु पनि मान्दैन। बुद्धको यही दर्शनलाई अंगीकार गरेर बीसौं शताब्दीमा जे. कृष्णमूर्तिले भने– ‘सत्यमा पुग्ने कुनै बाटो छैन।’ उनकै शब्दमा भन्ने हो भने– ‘ट्रुथ इज ए पाथलेस ल्यान्ड।’

पहिलो कुरो त हिन्दू धर्म र बौद्ध धर्म भन्ने संज्ञा आफैंमा विवादास्पद शब्द हुन्। यी शब्द एकलवादी सामूहिक संज्ञा हुन्। हिन्दू धर्ममा अनेकौं प्रकारका धारा छन्। एक ठाउँमा लेखकले महिला नै सबैभन्दा महान् हुन्, शुद्र नै सबैभन्दा उपयोगी हुन् भनेर हिन्दू शास्त्रमा भनेको उदाहरण अगाडि ल्याउनुभएको छ।

महाभारतमा ठाउँठाउँमा जातिप्रथालाई घनघोर विरोध गरिएको छ। फेरि, त्यही महाभारतमा जातिप्रथा नमान्ने मान्छेलाई दण्डित गर्नुपर्छ पनि भनिएको छ। रामायणका शम्बूकको उदाहरण सर्वविदित छ। समग्रमा आज हिन्दू भन्नाले जुन धारणा छ त्यो धारणा वेदान्त–उपनिषद्भन्दा पनि पुराणमा आधारित छ। दुई–चारवटा पुराणलाई बिर्सिने हो भने बाँकी पुराण प्रक्षेप र पुनरुक्तिका ठेली छन्। देश र कालको अतिक्रमण गर्न असफल रहेका छन्। तद्नरुप पण्डितहरुले आफूखुसी व्याख्या गरेका छन्।

राधा र कृष्णको पुराकथाका उपर विचार गर्ने क्रममा उपाध्यायजीले विद्यापति र जयदेवको तुलनात्मक चर्चा गर्नुभएको छ। ब्रह्मवैवर्त पुराणलाई साक्षीका रूपमा ल्याइएको छ।

विद्यापतिको कवित्वप्रति त उहाँले करिब–करिब पूरै न्याय नै गर्नुभएको छ। विद्यापतिको श्रेष्ठ शृंगारपरक कविता उहाँको उद्धरणमा परेको छ। विद्यापतिको श्रेष्ठता सिद्ध गर्नका लागि उहाँले जयदेवको गीतगोविन्द भने अश्लील पो थियो कि भन्नु कुनै खाँचो थिएन। विद्यापतिको टक्करको कवि यस उत्तराखण्डमा सायद अर्को भएन तर जयदेव त जयदेव नै थिए। विद्यापतिका प्रशंसकहरुले उनको एउटा अर्को नाम अभिनव जयदेव भनेर राखेका थिए। 

चिनारी गराउने क्रममा राधा र कृष्णको सरस प्रसंग छ। राधा–कृष्णको रासलीलाको कल्पना आधुनिक मनुष्यका निमित्त रोचक, महत्त्वपूर्ण तर जटिल विषय भएको छ। यस्ता लीलालाई ईश्वरका नाममा पाखा लगाउन खोजिन्छ तर ईश्वर स्वयं मनुष्यको आविष्कार हो। सीता, सावित्री, माधवी, द्रौपदी र अहल्याका कथालाई ईश्वरसँग गाँसेर पन्छाउनु एउटा कुरो हो। होइन भने यी सबै नाम स्त्रीत्वका सशक्त विम्ब भएका छन्।

विद्वान् उपाध्यायले राधाका उपर विशेष ध्यान दिनुभएको छ। उहाँले इच्छा गर्नुभएको भए गौन विद् द विन्डकी महनीय नायिका स्कारलेट ओहाराका उपरसमेत प्रेम र आदरको वर्षा गर्न सक्नुहुने थियो। त्यो भ्याउनु भएको छैन। आमपाठकका निम्ति यो क्षतिको विषय भएको छ।

उपाध्यायले भन्नुभएजस्तै कुनै पनि मिथ वा पुराकथालाई कोट्याउँदा मिथको उत्पत्तिको सामाजिक–आर्थिक पृष्ठभूमि अवश्य नै हुन्छ तर त्यति मात्र हुँदैन। मनुष्यको मनको अन्तरमा लुकेर बसेको रस–एषणा पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ। जीवनका आधारभूत आवश्यकताको पूर्ति हुनासाथ मनुष्य रस र अर्थको खोजीमा प्रवृत्त हुन्छ। मिथ वा पुराकथाको जन्म हुन्छ। कृष्ण–मन वृदावनमा प्रकट हुन्छ।

समग्रमा भन्दा रामजीप्रसाद उपाध्यायले मार्क्सवादी दर्शनका आधारभूत मान्यतालाई स्वीकार गर्नुभएको छ। नेपालको इतिहासको व्याख्या गर्दा अथवा चाडबाडका बारेमा बुझाउँदासमेत उहाँले मार्क्सवादको इतिहास–दृष्टिलाई सधैं अगाडि राख्नुभएको छ। त्यही हुँदाहुँदै पनि उहाँले आफूलाई जडसूत्रवादी मार्क्सवादीका रुपमा पेस गर्नुभएको छैन।

स्टालिन र जदानोवको पालाको मार्क्सवादले विश्व कम्युनिस्ट आन्दोलनलाई हानि पुर्‍यायो भन्ने बारेमा उहाँ स्पष्ट हुनुहुन्छ। शक्ति लम्सालले आलोचनाका क्रममा निजलाई माओवादीको नजिक भएको संज्ञा छुट्याएरै दिनुभएको छ। थप, शक्ति लम्सालको आलोचना मार्क्सवादी सौन्दर्यशास्त्रको वास्तविक धरातलमा नगएर स्टालिन र जदानोवको सौन्दर्यशास्त्रको संकीर्ण परिपाटीमा सीमित रहेको छ भन्नुहुन्छ। यो आफैंमा अत्यन्त महत्त्वपूर्ण कुरा हो तर स्टालिन र जदानोवको आलोचना गर्दैमा मार्क्सवादको सत्वमा पुग्न सकिँदैन।

माओले स्टालिनको बेग्लै मूल्यांकन गरेका थिए। माओले स्टाटलिनको मूल्यांकन गर्ने क्रममा साठी प्रतिशत सही र चालीस प्रतिशत गलत थिए भनेका थिए तर के यति भएर माओले मार्क्सवादको जडसूत्रवादको आफूलाई मुक्त पारे त? स्वय. रामजीप्रसादको कथनअनुसार माओले एनानमा दिएको साहित्यवार्तामा स्टालिनवादको झलक छ। माओले पनि कम्युनिस्ट पार्टीको सञ्चालन गर्दा प्राधिकारवादबाट कहिल्यै पनि आफूलाई मुक्त गरेनन्।

रामजीप्रसादले आफूलाई माओवादबाट टाढा देखाउनुभएको छ तर माओवादसँग टाढा देखाउँदैमा, स्टालिनको आलोचना गर्दैमा मार्क्सको सृजनशील परम्परालाई आत्मसात गरेको ठहरिन सक्दैन। मार्क्सवादको चुरो त वस्तुनिष्ठ चिन्तन हो। प्रचलित शब्दमा भन्ने हो भने यो एक ‘ओपन ह्यान्डेड’ विचारधारा पनि हो। मार्क्सवादको सिर्जनात्मक विकास भइरहन्छ। बौद्ध वा हिन्दूदर्शन झैं यसका युगानुकूल व्याख्याको सम्भावना छ।

रामजीप्रसाद उपाध्यायमा एकहदसम्म भने यस्तै सृजनशीलता पाइन्छ तर मार्क्सवादका कतिपय रुढ अवधारणाले उहाँको पिछा छाडेको छैन। नेपाली चाडबाड, महाभारतका पात्रदेखि खसराज्यको नालीबेलीमा समेत यस्ता रूढको प्रयोग भएको छ।

मार्क्सवादको अर्को विषेशता के हो भने मार्क्सवादले जीवनका कुनै पनि अंगबाट आफूलाई अछूतो राख्दैन। मार्क्सवादको एउटा परिभाषा यो समग्रताको दर्शन हो। रामजीप्रसादले आफूलाई अडिग मार्क्सवादी कित्तामा राख्दाराख्दै पनि उहाँले मार्क्सको यो द्वन्दात्मक समझलाई आत्मसात् गरेको देखिन्छ। उहाँले जीवनका हरेक पक्षमा आफूले तादात्मय राख्नुभएको छ।

हिन्दू धर्म–दर्शनप्रति उहाँको आवश्यकताभन्दा बढी लगाव र रुझान छ। होइन, त्यस कुरालाई छोड्ने हो भने उहाँको चिन्तनले मार्क्सवादकाे मूलभूत मान्यतासँग सम्बन्ध राख्छ। पुस्तकको पुछारमा उहाँले रुसबाट प्रचारित भएको मार्क्सवादले नेपालको सन्दर्भमा ठीकले व्याख्या गर्न नसक्ने कुरा स्थापना गर्नुभएको छ। यस्तै संकेत र सूचनाका आधारमा पुस्तक अन्ततः उहाँलाई बधाई दिने विषय हुन पुगेको छ। बधाई मात्र होइन, म उहाँलाइृ धन्यवाद पनि दिन चाहन्छु।

आखिरी कुरो : मार्क्सवाद शब्दको प्रयोग भने आफैं नै अन्तर्विरोधी रहेको छ। यस सिलसिलामा एउटै सम्झना गर्नु आवश्यक छ। कार्लमार्क्सले भनेका थिए– ‘म जेसुकै भए पनि मार्क्सवादी होइन।’

(लेखक राप्रउ पोखरेल (रामजीप्रसाद उपाध्याय) को हालै प्रकाशित ‘विचार मीमांसा’ पुस्तकमा समाजवादी चिन्तक गिरिले लेखेको भूमिका)

प्रतिक्रिया दिनुहोस्