कला - साहित्य

रत्न–श्रेष्ठ पुरस्कार गुठीद्वारा पाँच लेखक पुरस्कृत

1613784117.jpg

बागलुङ- रत्न–श्रेष्ठ पुरस्कार गुठी बागलुङले विभिन्न विधामा पाँच लेखकलाई पुरस्कृत गरेको छ। 

NLG Insurance
agrakhi
Yeti parketing

गुठीले हरेक दुई वर्षमा प्रदान गर्ने ५० हजार राशिको ‘रत्न–श्रेष्ठ राष्ट्रिय पुरस्कार’बाट यो वर्ष लेखक चन्द्रप्रकाश बानियाँ पुरस्कृत भएका छन्।  

निबन्ध कृति ‘भौज्याहा’का लागि उनी पुरस्कृत भएका हुन्। म्याग्दीको बेनी नगरपालिका ५ पुलाका बानियाँ यो वर्षको ‘मदन पुरस्कार’ विजेतासमेत हुन।  

यस्तै ‘रत्न–श्रेष्ठ प्रादेशिक पुरस्कार’लेखक डा प्रमोद ढकालले प्राप्त गरेका छन्। २५ हजार राशिको सो पुरस्कार निबन्ध कृति ‘पूर्वीय दर्शनको पुर्नव्याख्या’का लागि उनलाई प्रदान गरिएको गुठीले जनाएको छ।

गुठीले नै प्रदान गर्ने ‘धवलागिरि प्रतिभा पुरस्कार’लेखक महेश्वर पन्तलाई प्रदान गरिएको छ। उपन्यास कृति ‘फुर्लुङ’का लागि उनलाई पुरस्कृत गरिएको हो। पुरस्कारको राशि १५ हजार छ। 

गुठीमा स्थापित ‘जगतचन्द्र स्मृति राष्ट्रिय पुरस्कार’ प्रा डा रमेशचन्द्र अधिकारीले प्राप्त गरेका छन्।  ‘जीवन दर्शनको रुपरेखा’ कृतिका लागि अधिकारी पुरस्कृत भएका हुन्। सो पुरस्कारको राशि २५ हजार छ। 

यस्तै गुठीद्वारा सञ्चालित ‘गुरु गणेश–विष्णु स्मृति पुरस्कार’लेखक मीनराज वसन्तलाई प्रदान गरिएको छ। उपन्यास कृति ‘पिपिरी’का लागि लेखक वसन्त पुरस्कृत भएका हुन्। सो पुरस्कारको राशि १२ हजार छ।

यहाँ शुक्रबार आयोजित समारोहमा वरिष्ठ अधिवक्ता पदमनाथ शर्मा र गुठीका संस्थापक–संरक्षक प्रेम छोटाले लेखकलाई पुरस्कार प्रदान गरेका हुन्।

पुरस्कृत कृतिमाथि धौलागिरि बहुमुखी क्याम्पसका प्रा डा दिनबहादुर थापाले समीक्षात्मक टिप्पणी राखेका थिए।  नेपाली भाषा र वाङ्मयका क्षेत्रमा विशिष्ट योगदान पु¥याएका कवि, लेखकलाई पुरस्कृत गर्ने गरिएको संस्थापक–संरक्षक छोटाले बताए। 

पुरस्कार ग्रहणपछि बोल्दै लेखकले आफूहरुको सिर्जनाकर्ममा ऊर्जा थपिएको प्रतिक्रिया दिएका छन्। साहित्यकार छोटाले आफ्नी दिवंगत आमा रत्नकुमारी श्रेष्ठको स्मृतिमा विसं ०३४ सालमा पुरस्कार गुठी स्थापना गरेका थिए।  

प्रतिक्रिया दिनुहोस्