शुक्रबार, वैशाख ७, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • नेपालको वैदेशिक व्यापार : धेरै निर्यात भएको वस्तुबाटै व्यापार घाटा

नेपालको वैदेशिक व्यापार : धेरै निर्यात भएको वस्तुबाटै व्यापार घाटा

भटमासको तेलको व्यापारमा नेपाल चार महिनामा ७९ करोड ९० लाख रुपैयाँ घाटामा देखिन्छ।
 |  सोमबार, पुस २०, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, पुस २०, २०७७

काठमाडौं– चालू आर्थिक वर्ष २०७७/०७८ को पहिलो चौमासिक (साउन–कार्तिक) मा नेपालबाट सबैभन्दा धेरै निर्यात हुने वस्तुमा भटमासको प्रशोधित तेल परेको छ। 

triton college

तर, सबै भन्दा बढी निर्यात भएको यही भटमासकै तेलले पनि वैदेशिक व्यापारमा घाटा पुर्‍याएको छ। 

अर्थ मन्त्रालयका अनुसार चालू आर्थिक वर्षको पहिलो चौमासिकमा १० अर्ब २६ करोड ४० लाख रुपैयाँ बराबरको भटमासको तेल निर्यात भएको छ। तर, यही अवधिमा कच्चा पदार्थको रुपमा ११ अर्ब ६ करोड ३० लाख रुपैयाँ बराबरको भटमासको कच्चा तेल आयात भएको छ। 

विभिन्न मुलुकबाट कच्चा पदार्थ आयात गरी नेपालमा प्रशोधन गरेर निर्यात गरिने भटमासको तेलको व्यापारमा नेपाल चार महिनामा ७९ करोड ९० लाख रुपैयाँ घाटामा देखिन्छ।

चार महिनाको मात्र अवधिमा भटमासको वैदेशिक व्यापारमा घाटा देखिए पनि निर्यात भने गत आर्थिक वर्ष २०७६/०७७ को सोही अवधिको तुलनामा उल्लेख्य वृद्धि भएको तथ्याङ्कले देखाउँछ। 

corrent noodles
Metro Mart

गत आर्थिक वर्षको पहिलो चौमासिकमा १ अर्ब १० करोड १० लाख रुपैयाँ बराबरको भटमासको प्रशोधित तेल निर्यात भएको थियो भने चालू आर्थिक वर्षको सोही अवधिमा भएको निर्यात ८३२.६ प्रतिशत वृद्धि भएको अर्थ मन्त्रालयले जानकारी दिएको छ ।

अर्थ मन्त्रालयका अनुसार चालू आर्थिक वर्षमा अधिकांश वस्तुको निर्यात बढेको छ। 

प्रशोधित भटमासको तेलपछि सबैभन्दा धेरै निर्यात गलैैंचा भएको छ । उक्त अवधिमा गलैंंचाको निर्यात २ अर्ब ६० करोड ८० लाख रुपैयाँ बराबरको भएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनमा १०७.९ प्रतिशतको वृद्धि हो ।

त्यस्तै सेन्थिटिक यार्न, तयारी पोशाक, चिया, अलैँची, फलफूलको जुस, जुटका तयारी कपडा लगायतको निर्यातमा उल्लेख्य वृद्धि भएको अर्थमन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार आयातित प्रमुख १० वस्तुहरुमध्ये अधिकांशको आयात घटेको छ। 

आयात हुने वस्तुको अग्रस्थानमा रहेको डिजेलको आयात ४४ प्रतिशतले घटेको छ । गत आवको पहिलो चौमासिकमा २९ अर्ब २४ करोड रुपैययाँ बराबरको आयात भएकोमा चालू आवको सोही अवधिमा १६ अर्ब ३८ करोड रुपैयाँ बराबरको मात्र आयात भएको छ ।

नेपालमा आयात हुने वस्तुको सूचीमा मोबाइल फोन  र टेलिफोन सेट दोस्रो नम्बरमा छ। उक्त वस्तुको आयात चालू आर्थिक वर्षमा ६४.२ प्रतिशतले बढेको छ। 

गत आवको पहिलो चौमासिकमा ८ अर्ब ६२ करोड २० लाख रुपैयाँ बराबरको मोबाइलफोन तथा टेलिफोन आयात भएकोमा चालू आर्थिक वर्षको सोही अवधिमा १४ अर्ब १५ करोड ८० लाख रुपैयाँ बराबरको आयात भएको छ । 

कोभिड –१९का कारण विद्यालय बन्द हुँदा अनलाईन कक्षा सुरु भएपछि मोबाइलफोनको आयात बढेको आँकलन गरिएको छ ।

आयातको उत्कृष्ट १० भित्र रहेका तयारी पोशाक, एलपी ग्यास, पेट्रोल, मोटरसाइकल लगायतका वस्तुको आयात सो अवधिमा घटेको छ। 

गत आवको पहिलो चौमासिकमा १४ अर्ब ७३ करोड ९० लाख रुपैयाँ बराबरको आयात भएको तयारी पोशाक चालू आवको सोही अवधिमा १० अर्ब १० करोड ८० लाख रुपैयाँ बराबरको भएको छ। 

त्यस्तै उलपी ग्यासको आयातमा ६.१ प्रतिशतले गिरावट आएको छ। गत आवको पहिलो चौमासिकमा ८ अर्ब ९० करोड ६० लाख रुपैयाँ बराबरको आयात भएको एलपी ग्यास चालू आवको सोही अवधिमा ८ अर्ब ३६ करोड २० लाख रुपैयाँ बराबरको मात्र आयात भएको छ। 

त्यस्तै पेट्रोलको आयातमा ३७.९ प्रतिशतको गिरावट आएको छ। गत आर्थिक वर्षको पहिलो चौमासिकमा १२ अर्ब ३७ करोड १० लाख रुपैयाँ बराबरको पेट्रोलको आयात भएकोमा चालू आवको सोही अवधिमा ७ अर्ब ६७ करोड ९० लाख रुपैयाँ बराबरको  आयात भएको छ। 

लकडाउनका कारण आवतजावत ठप्प भई होटेल व्यवसाय बन्द भएपछि  पेट्रोल र एलपी ग्यासको आयातमा कमी आएको हो । 

त्यस्तै मोटर साइकलको आयातमा १०.८ प्रतिशतले कमी आएको छ। गत आर्थिक वर्षको पहिलो चौमासिकमा ८ अर्ब १५ करोड ७० लाख रुपैयाँ बराबरको मोटर साइकल आयात भएकोमा चालू आवको सोही अवधिमा ७ अर्ब २७ करोड ४० लाख रुपैयाँ बराबरको आयात भएको अर्थ मन्त्रालयको तथ्याङ्क छ ।

मन्त्रालयका अनुसार चालू आर्थिक वर्षमा चामलको आयात ९१.४ प्रतिशत र भटमासको कच्चा तेलको आयात ११२.४ प्रतिशतले बढेको छ। 

निर्यातको सूचीमा अग्रस्थानमा रहेको भटमासमा समेत नेपालको वैदेशिक व्यापार घाटा रहनुले अर्कोतर्फ निर्यात हुनै वस्तुमै समेत परनिर्भर रहेको देखिन्छ ।
 

प्रकाशित: Jan 04, 2021| 07:53 सोमबार, पुस २०, २०७७
प्रतिक्रिया दिनुहोस्