धेरैलाई ‘न्यू ईयर’ शब्द आफैंंमा एक्लो लाग्छ। यसको सुरुमा ‘ह्याप्पी’ वा अन्त्यमा ‘रिजोल्यूसन’ थपिदियो भने यसले पूर्णता पाउँछ।
रिजोल्यूसन अर्थात संकल्प वा वाचाका नाममा प्रत्येक नयाँ वर्षको सुरुमा बालबालिकादेखि वयस्कसम्मले केही न केही प्रतिवद्धता व्यक्त गरिरहेका हुन्छन्। जस्तैः यो वर्षदेखि मैले मदिरा सेवन त्यागिदिन्छु... नयाँ वर्षदेखि नियमित व्यायाम सुरु गर्छु.... यो वर्ष बाह्रै महिना पढाई गर्छु र कक्षामा उत्कृष्ट हुन्छु... आदि।
नयाँ वर्ष जीवनको नयाँ अध्याय सुरु गर्ने सबैभन्दा राम्रो मौका जस्तो लाग्छ। तर, नयाँ वर्षको ‘ह्याप्पिनेस’ सकिंदा नसकिंदै ‘रिजोल्यूसन’ले हावा खाइसकेको हुन्छ। यदि तपाईंले पनि यस्तो कुनै कसम खानु भएको छ र त्यो केही दिनमै तोडियो भने धेरै दुखी हुनु पर्दैन।
तथ्यांकहरु भन्छन्, विश्वकै कुल जनसंख्याको करिब ५० प्रतिशतले नयाँ वर्षमा कुनै न कुनै वाचा गर्छन् र, त्यो वाचा पूरा गर्नेको संख्या नगन्य हुन्छ। संकल्प लिनेको ठूलो हिस्साले उस्तै वाचा प्रत्येक नयाँ वर्षमा दोहोर्याइरहेको हुन्छ। ठ्याक्कै हाम्रा सरकारहरु जस्तै।
क्यानडाको कार्लटन विश्वविद्यालयका प्राध्यापक टिमोथी पायकलका अनुसार यसरी वाचा एक दिनमै तोडिनुको मूख्य कारण हाम्रो टालटुले प्रवृत्तिको एउटा रुप हो।
कसैले पनि आफूलाई नयाँ तरिकाबाट प्रस्तुत गर्ने जोखिम लिन चाहँदैन, किनभने ऊ आफ्नो बानी अनुसार सुविधाजनक जीवन बाँच्न अभ्यस्त भइसकेको हुन्छ। लागेको बानीमा परिवर्तनबाट जोगिन खोज्नु मानवीय स्वभाव नै हो।
पायकलका साथी प्राध्यापक पिटर हरमनले यस्ता संकल्प र प्रयासलाई फल्स सिन्ड्रोम भन्ने गरेका छन्। उनका अनुसार मानिसहरु आफ्ना संकल्प यसकारण पूरा गर्दैनन् किनभने ती अवास्तविक, सतही र उनीहरुकै विचारसँग मेल नखाने खालका हुन्छन्।
मानिसहरुले के गर्न सकिन्छ भन्दा पनि के गरिनु पर्छ भन्ने कुरालाई ध्यानमा राखेर संकल्प लिन्छन् र, उनीहरुको संकल्प पूरा नहुनुमा सबैभन्दा ठूलो वाधा यही नै भइदिन्छ।
के गरिनुपर्छ भन्ने कुरा सैद्धान्तिक रुपमा सही भए पनि उक्त व्यक्तिको क्षमता, दृढता आदिका हिसाबमा पनि सही होओस भन्ने जरुरी हुँदैन। यस्तो आदर्श संंकल्प लिने व्यक्तिलाई आफ्नो व्यवहारमा आमूल परिवर्तन ल्याउनुपर्ने आवश्यकता भइदिन्छ र यसका लागि नयाँ तरिकाले सोच्न सुरु गर्नुपर्छ।
तर, सोेचमा परिवर्तन ल्याउने कामलाई फत्ते गर्न मस्तिष्कको व्यवस्थामै परिवर्तन ल्याउनु पर्छ। वैज्ञानिकहरुका अनुसार मस्तिष्कको एमआरआई स्क्यानबाट थाहा हुन्छ– हाम्रो सोच्ने तरिका दिमागको एउटा स्नायू मार्ग (न्यूरल पाथवेज) ले बनाएको हुन्छ। कसैको बानी बन्नका लागि यो जरुरी हुन्छ।
आफ्नो संंकल्पमा कायम रहनका लागि नयाँ तरिकाले सोच्नु पर्छ र नयाँ तरिकाले सोच्नका लागि नयाँ न्यूरल पाथवेज बन्न आवश्यक हुन्छ जसमा समय लाग्छ। यो कुनै व्यस्त सहरको बीचोबीच अर्को नयाँ सडक बनाउनु जस्तै हो।
नयाँ वर्षमा गरिने वाचा अधिकांश संकल्प नभएर लक्ष्य हुने गर्छन्। यी लक्ष्य प्राप्तिका लागि निश्चित समय लाग्छ। कैयन पटक त्यती नै समय मस्तिष्कमा न्यूरल पाथवेज बन्नका लागि लाग्नसक्छ।
अर्थात ३१ डिसेम्बर राति अचानक गरिएको निर्णयका लागि दिमाग पूरा तयार भइसकेको हुँदैन। त्यसैले धेरैजसो लक्ष्य सुरु हुनासाथै समाप्त हुने काउन्टडाउन पनि सुरु भइसकेको हुन्छ।