काठमाडौं– नेकपा ओली समूहका सचिवालय सदस्य एवम् गृहमन्त्री रामबहादुर थापाले पार्टीभित्रका अवसरवादीको महात्त्वाकांक्षमाथि टेकेर नेकपालाई प्रतिक्रियावादीहरूले विभाजन गरेको आरोप लगाएका छन्।
ललितपुर जिल्ला कमिटीले आयोजना गरेको महानगरस्तरीय कार्यकर्ता भेलालाई शुक्रबार सम्बोधन गर्दै थापाले संसदमा विघटन ल्याएर अस्थिरता ल्याउन उनीहरु सफल भएको बताए।
उनीहरुले नेकपाका सांसदहरुलाई विभाजित गरेर संसदलाई अस्थिरता पैदा गर्ने रुपमा परिणत गर्न सफल भएको उनको भनाइ छ।
‘नेकपा विभाजन कसरी गर्ने भनेर प्रतिक्रियावादीहरुले मुख्यतः तीनवटा रणनीति तयार पारेको देखिन्छ,’ उनले भने, ‘हामीले स्थिर सरकार र स्थायित्व प्राप्त गरेपछि उनीहरु कसरी अस्थिरता पैदा गर्ने भन्नेमा खेलिरहेका थिए। अन्ततः सफल भए।’
नेकपालाई विभाजन कसरी गर्न सकिन्छ भनेर नेकपाभित्रका अन्तरविरोध र असन्तुष्टिहरु कमजोरीहरुलाई सूक्ष्म रुपमा उनीहरुले अध्ययन गरेको उनले बताए।
‘के–कस्ता गम्भीर अन्तरविरोध र असन्तुष्टि छन् भन्ने पत्ता लगाए। नेकपाभित्र राष्ट्रपति बन्ने, अध्यक्ष हुने र पार्टीभित्र प्रधानमन्त्री हुने र मन्त्री हुने आकांक्षा राख्ने पात्र र प्रवृत्तिहरु छन् भन्ने पत्ता लगाए,’ उनले भने, ‘पार्टीका प्रमुख पदहरु प्राप्त गर्न नपाएकोमा असन्तुष्टि छ भन्ने अध्ययन गरेर यी असन्तुष्टि र अतिविरोधलाई अतिसम्म पुर्याएर नेकपालाई विभाजन गर्न सकिन्छ भनेर खेल्दै आए। अहिले सफल भए।’
वैशाखदेखि सुरु भएको यो क्रम असोजकात्तिकसम्म आइपुग्दा१९ पेजको आरोपपत्रका रुपमा उत्कर्षका रुपमा प्रस्तुत भएको बताए।
‘नेकपाको अध्यक्षले पद त्याग गर्नुपर्छ। प्रधानमन्त्रीले त्यो त्याग गर्नुपर्छ भन्ने निष्कर्ष छ। स्वेच्छाले त्याग गरेन भने पार्टी र संसद्ले कारबाही गर्छ भन्ने खालका आरोपपत्र त्यहाँसम्म ल्याइयो,’ उनले भने, ‘पार्टीलाई फुट र विघटनबाट बचाउन धेरै परिश्रम र प्रयत्न गरिए पनि सफल हुन सकेन।’
एकथरी गुट अलग भएको भन्दै उनले औपचारिक रुपमा विभाजनले वैधानिकता प्राप्त नगरे पनि व्यवहारतः विभाजन भइसकेको बताए।
उनले भने, ‘यो आन्दोलनको नेतृत्वकोे नेपालको कम्युनिस्टहरुले गरेकाले जनताले यो देशको प्रगतिका लागि कम्युनिस्ट पार्टीलाई सुम्पिए। एउटा स्थायित्व र सुशासनको जिम्मेवारी नेकपाले प्राप्त गर्यो। जनताले दुईतिहाइको अभिमतद्वारा राजनीतिक स्थिरता दिए,’
उनले सुरुदेखि नै सरकारलाई कमजोर बनाउने र बदनाम गराउने काम हुँदै आएको दाबी गरे।
जनताको राष्ट्रिय आकांक्षा पुरा गर्नका निम्ति सरकारले सफलतापूर्वक अगाडि बढेर ७ प्रतिशतभन्दा बढी आर्थिक वृद्धिदर हासिल गर्न सफल भएको थापाको भनाई छ।
‘यी सबै महत्त्वपूर्ण उपलब्धि हासिल गर्दै जाँदा आज परिणाममा हामीले के देखिरहेका छौं भने नेकपा अहिले विभाजित भएको छ। एउटा हिस्सा अलग भएको छ,’ उनले भने, ‘विकास र समृद्धिको यात्रा अवरुद्ध भएको छ। राजनीतिक अस्थिरता सिर्जना भएको छ। बाह्य हस्तक्षेप बढ्दै गएको छ।’