काठमाडौं– दया फाउन्डेसनले नयाँ वर्ष २०२१ को अवसर पारेर युवाहरुलाई लक्षित गर्दै युथ म्युजिक कन्टेस्ट २०२१ नामक सांगीतिक प्रतिस्पर्धात्मक कार्यक्रम प्रायोजन गर्ने भएको छ।
प्रतियोगितामा प्रथम, दोश्रो तथा तेश्रो हुनेलाई क्रमशः २५ हजार १५ हजार र १० हजार पुरस्कार राखिएको छ।
कार्यक्रममा १५ देखि २८ वर्षसम्मका युवाहरु सहभागी हुन पाउनेछन्। इच्छुक प्रतियोगीहरुले मोबाइल एप्लिकेशनहरु जस्तै– स्टारमेकर, स्म्युल अथवा आफैंले वा समूहमा वाद्ययन्त्र बजाएर गाइएको गीत युथ म्युजिक कन्टेस्ट २०२१ फेसबुक ग्रुपमा अपलोड गर्नुपर्नेछ ।
प्रतिस्पर्धीले कुनै पनि भाषाको गीत गाउन सक्ने छन्। यद्यपि नेपालको विभिन्न मौलिक भाषामा गाइएका गीतलाई भने प्राथमिकता दिइने छ। नयाँ प्रतिभावान युवा गायकगायिकालाई प्रोत्साहन गर्न यो प्रतियोगिता आयोजना गरिएको दया फाउन्डेसनले जनाएको छ ।
पहिलो चरणको गीत अपलोड जनवरी १२ तारिखसम्म गर्नु पर्नेछ । निर्णायक मण्डलद्वारा गायकीको स्तर मापन पश्चात जनवरी १५ तारिखमा कुल २१ प्रतिस्पर्धीहरुको छनोट गरिनेछ । ती २१ प्रतिस्पर्धीहरुले दोस्रो चरणको गीत जनवरी १८ तारिखसम्म अपलोड गरि सक्नुपर्नेछ।
अन्तिम चरणमा विजेताहरूको घोषणा ७० प्रतिशत फेसबुक ग्रुपमार्फत प्राप्त लाइकको आधारमा र ३० प्रतिशत निर्णायक मण्डलद्वारा प्रदान गरिएको अंकको भारित औसतको आधारमा गरिने फाउन्डेसनले जनाएको छ ।