काठमाडौं– कोरोना भाइरसविरुद्धको खोप लगाउँदा पेरुमा विदेशमन्त्रीले राजीनामा दिनुपरेको छ।
सरकारी स्तरमा खोप अभियान सुरु नहुँदै खोप लगाएपछि विदेशमन्त्री एलिजाबेथ एस्टेटेले राजीनामा दिनुपरेको हो। उनले क्लिनिकल ट्रायल विपरीत चिनियाँ कम्पनी सिनोफार्माको खोप लगाएकी थिइन्।
राजीनामा दिएपछि विदेशमन्त्री एस्टेटेले भनेकी छन्, ‘मैले जनवरी २२ मा पेरुको एक युनिभर्सिटीले अफर गरेपछि खोप लगाएकी थिएँ। मलाई थाहा छ मैले गल्ती गरेकी हुँ। त्यसैले मैले दोस्रो डोज पनि लगाइनँ। गल्ती स्वीकार गर्दै मैले पदबाट राजीनामा दिएकी छु।’
पेरु सरकारले जनवरी २०२१ मा चिनियाँ कम्पनी सिनोफार्माले उत्पादन गरेको ३ करोड ८० लाख डोज कोरोना भ्याक्सिन खरिद गर्ने निर्णय गरेको थियो। पहिलो चरणमा ३ लाख डोज प्राप्त भएपछि यही साता त्यहाँ खोप अभियान सुरु भएको छ।
विदेशमन्त्री एस्टेटेले अभियान सुरु हुनुअघि नै खोप लगाएपछि राजीनामा दिनुपरेको हो। सरकारी तथ्यांकअनुसार पेरुमा कोरोना संक्रमणबाट करिब ४४ हजार मानिसको मृत्यु भएको छ।
–बीबीसी