कोरोनाकालमा अधिकांश बैठक र छलफल अनलाइनमार्फत भए। युरोप–अमेरिकातिर अझै पनि विद्यालय, कार्यालयका बैठक र अदालतका सुनुवाइसम्म अनलाइनबाटै भइरहेका छन्।
अहिले अमेरिकाको एक अदालतमा भएको सुनुवाइका बखतको भिडियो निकै भाइरल भएको छ।
भिडियो कन्फ्रेन्सिङ एप जुममा रेकर्ड भएको यो भिडियोले युट्युबमा केही घण्टाभित्रै ३० लाखभन्दा धेरै भ्युज पाएको छ, जसमा अदालतमा सुनुवाइ भइरहेको देखिन्छ।
भिडियो कन्फ्रेन्समा चार विन्डोमध्ये एउटामा बिरालो देखिन्छ। बिरालोको सुनुवाइसँग के लिनुदिनुरहेछ त?
वास्तवमा यो बिरालो टेक्सस राज्यका वकिल अटर्नी रोड पनटन हुन्, जसलाई स्क्रिनमा आफ्नो अनुहारको सट्टा बिरालोको अनुहार देखिइरहेको थाहा छैन। भएको के रहेछ भने उनको एपमा बिरालोको फिल्टर क्लिक भएछ।
भिडियोको सुरुमै न्यायाधीश रोय फेर्गुसनले वकिलसँग भन्छन्, ‘मिस्टर पनटन, तपाईंको भिडियो सेटिङमा बिरालोको फिल्टर अन भए जस्तो छ।’ जवाफमा पनटन भन्छन्, ‘कसरी हटाउने मलाई थाहा छैन, मेरी सहयोगीले यसलाई हटाउने प्रयास गर्दैछिन्।’
‘म बिरालो होइन’
अदालतको समय खेर गइरहेको बुझेपछि वकिल भन्छन्, ‘म यहाँ लाइभ छु र, म बिरालो पनि होइन।’
उनको स्पष्टीकरणपछि न्यायाधीश फेर्गुसन भन्छन्, ‘त्यो त मैले देखिरहेकै छु।’
अदालतको कारबाही रेकर्ड गर्नु वा त्यसलाई इन्टरनेटमा राख्नु गैरकानुनी मानिन्छ। यो भिडियोमै पनि त्यही लेखिएको छ। तैपनि न्यायाधीश फेर्गुसनले एक मिनेटभन्दा पनि छोटो यो भिडियो सेयर गरेका छन्।
ट्विटरमा भिडयो सेयर गर्दैै उनले लेखेका छन्, ‘भर्चुअल पेसीभन्दा पहिले तपाईंको कम्प्युटर कुनै बच्चाले चलाएको छ भने जुम भिडियो अप्सन्सस्मा गएर सबै फिल्टर बन्द भएको सुनिश्चित गर्नुहोला। आज यो सानो बिरालो आधिकारिक रुपमा अदालतमा पेस भयो।’
न्यायाधीशले उक्त भिडियो मिडियाले पनि प्रयोग गर्न सक्ने उल्लेख गरेका छन्।
IMPORTANT ZOOM TIP: If a child used your computer, before you join a virtual hearing check the Zoom Video Options to be sure filters are off. This kitten just made a formal announcement on a case in the 394th (sound on). #lawtwitter #OhNo @zoom_ushttps://t.co/I0zaj0wu6K
— Judge Roy Ferguson (@JudgeFergusonTX) February 9, 2021
भिडियो भाइरल भएपछि वकिल पनटनले न्युयोर्क टाइम्ससँगको कुराकानीमा भनेका छन्, ‘यो अप्ठ्यारो बेलामा मैले आफ्नै कारणले मानिसलाई हँसाउन सकेको छु भने मलाई यसमा कुनै आपत्ति छैन।’
उनले आफ्नी स्वकीय सचिवको कम्प्युटर प्रयोग गरेको र जे भयो त्यसका लागि लज्जित भएको पनि बताएका छन्।
एप/रोयटर्स