शनिबार, वैशाख ८, २०८१

नेपालमा कम्युनिस्ट : अनायास एकता, अनायासै विभाजन

नेपाल कम्युनिस्ट पार्टी स्थापना कालदेखि नै विवाद र विग्रहको भुमरीमा छ। नेपाली कम्युनिस्ट आन्दोलनको इतिहास नियाल्दा प्रस्ट हुन्छ–  यसमा ‘विभाजन’ नियमित प्रक्रिया हो।  
 |  मंगलबार, पुस ७, २०७७

तीर्थराज बस्नेत

तीर्थराज बस्नेत

मंगलबार, पुस ७, २०७७

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी स्थापना कालदेखि नै विवाद र विग्रहको भुमरीमा छ। नेपाली कम्युनिस्ट आन्दोलनको इतिहास नियाल्दा प्रस्ट हुन्छ– यसमा ‘विभाजन’ नियमित प्रक्रिया हो।

triton college

२००६ सालदेखि यताका ७० वर्षमा कम्युनिस्ट पार्टीमा जुट्ने र फुट्ने क्रम कायमै छ। जुट–फुटको यो शृंखलामा सत्तारुढ नेकपाले अर्को कडी थपेको छ। 

२०७४ असोजमा बाम गठबन्धन बनाएर चुनाव लड्ने निर्णय गरेका तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएर २०७५ जेठमा बनेको नेकपामा अब विभाजनको औपचारिक घोषणा हुनमात्र बाँकी छ।  

कम्युनिस्ट आन्दोलनलाई नयाँ उचाइँमा पुर्‍याउन र देशलाई समृद्ध बनाउन भन्दै गरिएको एकता दुई वर्षमै ओली र दाहालको नेतृत्वमा दुई चिरा भएको छ।

पार्टी एकता हुँदा उत्साहित बनेका उर्जावान कार्यकर्तालाई नियतिले छोटो समयमै एकअर्कालाई देखिनसहने बनाइदिएको छ। 

corrent noodles
Metro Mart

यो फुट कम्युनिस्ट आन्दोलनका लागि धक्का त हुँदै हो। राजनीतिक स्थिरता सहितको समृद्ध मुलुकको आशा राखेका जनताप्रतिको धोका समेत हो। 

यस्तो छ ‘टुटफुट’को शृंखला

एमाले धार : २००६ सालमा भारतको कोलकाताको श्याम बजारमा नेपालको पहिलो कम्युनिस्ट पार्टी गठन भयो। स्थापनाको एक दशक नपुग्दै सुरु भएको विवादको शृंखला आज पर्यान्त जारी छ।  

२०१० सालमा पार्टीको पहिलो महाधिवेशन भयो जसको महासचिव थिए, मनमोहन अधिकारी। २०१४ मा भएको दोस्रो महाधिवेशनबाट केशरजंग रायामाझी महासचिव बने। 

यही महाधिवेशन पछि कम्युनिस्ट पार्टीभित्र दुई धार जन्मियो। तीनै दुई धारबीचको अन्तरसंघर्षले २०१७ पछि कम्युनिस्ट पार्टीको विभाजन सुरु भयो। रायमाझीले अन्तत्वगत्व आफूलाई राजतन्त्रमा समाहित गरे। 

कम्युनिस्ट पार्टीको पहिलो विभाजनको कारण थियो– २०१७ पुस १ गते तत्कालीन राजा महेन्द्रले गरेको ‘कू’। प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालालाई अपदस्थ गरेर जेल हाल्ने राजाको कदमलाई रायामाझीले स्वागत गरेका थिए। तर, पार्टीका संस्थापक पुष्पलाल, मनमोहन अधिकारी लगायतका नेता राजाको कदमका विरुद्धमा थिए। सोही कारण पार्टी विभाजन हुन पुग्यो।

२०२३ सालमा कम्युनिस्ट पार्टी विभाजन भयो। केशरजंग रायामाझी समूह छुट्टियो। २०२४ सालमा पुष्पलालले पार्टीको तेस्रो महाधिवेशन गराए। तर त्यसको एक वर्षपछि नै तुलसीलाल अमात्य र पुष्पलाल समेत छुट्टिए। 

२०२८ सालसम्म आइपुग्दा कम्युनिस्ट आन्दोलनमै दुई फरक लाइन देखिए। झापा जिल्ला कमिटी र केन्द्रीय न्यूक्लियसका नाममा। तर, पुष्पलालको पार्टी दुवै लाइनमा थिएन। ती दुई धारको नेतृत्व सिपी मैनाली र मोहनविक्रम सिंहले गरेका थिए।

तीनै दुई लाइन आसम्म पनि विभिन्न नाममा विभक्त छन्। थुप्रैपटक यी दुई लाइनकाबीचमा एकता भयो र फुट पनि भयो। २०३५ साल पुषमा यीनै दुई समूहबीच एकता भयो र सिपी मैनालीको नेतृत्वमा नेकपा माले बन्यो। 

तर, त्यसको एक वर्षपछि नै मनमोहन अधिकारीले नेपाल कम्युनिस्ट पार्टी (मनमोहन) नामको पार्टी खोले। २०३६ सालमा भएको जनमत संग्रहमा अधिकारीको पार्टीले नेपाली कांग्रेसलाई साथ दियो। तर, नेकपा मालेले भने जनमतसंग्रह वहिस्कार गर्‍यो। 

पुष्पलालको निधन पछि उनको पार्टीको नेतृत्वमा बलराम उपध्याय र सहाना प्रधान आए र २०४३ सालमा मनोमहनको पार्टीसँग एकता गरी नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी)को जन्म भयो। 

२०४६ सालको जनआन्दोलनमा नेकपा माक्र्सवादी र नेकपा माले र अन्य कम्युनिष्ट पार्टीहरु मिलेर संयुक्त बाम मोर्चाका नाममा कांग्रेससँग मिलेर आन्दोलन गरे। बहुदल आएपछि कम्युनिस्ट पार्टीहरु संसदीय व्यवस्थामा आए।

त्यसपछि मनोहन र सीपी मैनालीको पार्टीबीच एकता भई नेकपा एमाले गठन भयो, महासचिव बने मदन भण्डारी। 

२०५० जेठ ३ गते मदन भण्डारीको निधन भएपछि पार्टीको नेतृत्व माधवकुमार नेपालले लिए। तर महाकाली सन्धिलाई लिएर चर्किएको विवादले २०५४ मा एमाले टुक्रियो। बामदेव गौतम र सिपी मैनाली मिलेर नेकपा माले बनाए। त्यसको पाँच वर्षपछि वामदेव एमालेमै फर्किए। मैनालीले अहिले पनि मालेको नेतृत्व गरिरहेका छन्।

मोहन विक्रम सिंहको धार: मोहन विक्रम सिंह नेतृत्वको चौथो महाधिवेशनले २०३६ को जनमत संग्रहलाई बहिस्कार गर्‍यो। सोही विषयमा पार्टीभित्र विवाद चर्किएको थियो। निर्मल लामाहरु जनमत संग्रहको उपयोग गर्नुपर्ने पक्षमा थिए। 
विवाद चर्किएपछि २०४० सालमा सिंहको पार्टी फुट्यो। लामा समूहले नेकपा (चौम) बनायो। 

मोहन विक्रमको पार्टी नाम नेकपा मसाल रह्यो। नेकपा मसालको पाँचौ महाधिवेशनले सिंहको राजनीतिक प्रस्ताव पास गर्‍यो। तर उनलाई यौन दुराचारको आरोप लगाएर कारबाही गरियो। 

पुष्पकलम दाहालले मोहन विक्रममा सैद्धान्तिक विचलन रहेको प्रतिवेदन प्रस्तुत गरेपछि मशालको फुट सुरु भयो। २०४१ सालको पाँचौ महाधिवेशनबाट मोहन वैद्य महामन्त्री चुनिए। कारबाही गरिएको एक वर्षपछि सिंहले चित्रबहादुर केसी लगायतसँग मिलेर नेकपा मसाल बनाए। वैद्य नेतृत्वको पार्टीको नाम नेकपा मशाल थियो। २०४५ सालमा दाहाल मशालको महामन्त्री बनेर पार्टीको प्रमुख सिद्धान्त ‘माओवाद’ बनाउने निर्णय गराए।  

२०४६ सालको आन्दोलनमा उनीहरु संयुक्त बाम मोर्चामा गएनन्। नेकपा (मशाल), नेकपा (मसाल), नेपाल मजदुर किसान पार्टी, नेकपा चौम लगायत मिलेर संयुक्त जनआन्दोलन संयोजन समिति बताए। 

बहुदल आएपछि मशाल, नेकपा चौम, सर्वहरावादी श्रमिक संगठन लगायत मिलेर नेकपा (एकता केन्द्र) बन्यो। महोनविक्रमको पार्टीमा रहेका बाबुराम भट्टराई समेत यही पार्टीमा आएका थिए।

एकताको दुई वर्षपछि सशस्त्र युद्ध गर्ने विषयमा मतभेद हुँदा निर्मल लामाले एकता केन्द्र छोडे। उनले २०५१ मा ने.क.पा (एकता केन्द्र) बनाए। दाहाल नेतृत्वको एकता केन्द्र नाम परिवर्तन भएर नेकपा माओवादी भयो र १० वर्षे हिंसात्मक आन्दोलनमा होमियो। 

२०५९ सालमा मोहन विक्रम सिंहको मसाल र नारायणकाजी श्रेष्ठको एकता केन्द्रबीच एकता भयो। तर, माओवादीलाई हेर्ने दृष्टिकोण बारेको मदभेदले २०६३ सालमा उनी फुटे। 

२०६२–६३ को आन्दोलनपछि संसदीय व्यवस्थामा आएको माओवादी  ०६४ को निर्वाचनमा पहिलो दल बन्यो।

नारायणकाजी श्रेष्ठको एकता केन्द्र पनि माओवादीमै समाहित भयो। २०६९ मा माओवादीबाट मोहन वैद्य छुट्टिए। तर वैद्यको पार्टी समेत २०७१ मंसीरमा टुक्रियो र नेत्र विक्रम चन्दले छुट्टै पार्टी खोले। 

२०७२ सालमा बाबुराम भट्टराईले प्रचण्ड नेतृत्वको माओवादी छोडे। उनले ‘नयाँ शक्ति’ पार्टी खोले। अहिले उनी जनता समाजवादी पार्टीमा छन्।

२०७४ सालमा भएको आम निर्वाचन अघि एमाले र माओवादीबीच चुनावी तालमेलका लागि बाम गठबन्धन बन्यो। गठबन्धनले निर्वाचनमा झण्डै दुई तिहाइ मत ल्यायो। २०७५ जेठमा दुई पार्टीबीच एकता भएर बन्यो नेकपा। पार्टी एकता घोषणा गर्दा नेताहरुले फुटको शृंखला नदोहोर्‍याउने प्रतिवद्धता जनाएका थिए। 

तर, उनीहरुको प्रतिवद्धता साढे दुई वर्ष पनि टिकेन। केपी ओली र पुष्पकमल दाहालको व्यक्तिगत तर बेग्लैबेग्लै महत्त्वाकांक्षाका कारण एक्कासी एकीकरण भएको दल उनै दुई नेताको महत्त्वाकांक्षाको टकरावका कारण विभाजित बन्न पुग्यो। जसले मुलुकलाई केही थान भत्किएका सपना र अस्थिरता बाहेक केही दिन सकेन। 

प्रकाशित: Dec 22, 2020| 13:25 मंगलबार, पुस ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।