काठमाडौं– प्रमुख तीन राजनीतिक दलले संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमकाे सशक्त प्रतिराेध गर्ने भएका छन्।
नेपाली कांग्रेस, नेकपा र जसपाका नेताहरुबीच सोमबार कांग्रेस मुख्यालयमा बसेको बैठकले संसद् विघटन घोषणालाई संविधानविरोधी, अलोकतान्त्रिक कदम ठहर गर्दै त्यसविरुद्ध संयुक्त रुपमा उत्रने निर्णय गरेको हो।
विरोधका कार्यक्रम भने भोलि बस्ने तीनै पार्टीको केन्द्रीय समिति बैठकपछि तय गरिने नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले सञ्चारकर्मीलाई बताए।
उनले भने, ‘तिनै पार्टी ओलीको कदमको विरुद्धमा छौं। अब यसको विरोधमा कसरी एकजुट भएर अघि बढ्ने भन्ने सन्दर्भमा भोलिको केन्द्रीय समितिको बैठकपछि निर्णय हुनेछ।’
कांग्रेस नेता रमेश लेखकले यस्ता असंवैधानिक कदमबाट कांग्रेसलाई कुनै फाइदा नहुने बताए। उनले पनि पार्टी ओलीको प्रतिरोधमा उत्रने बताए।
तीन दलीय बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला लगायत थिए।
यस्तै नेकपाबाट अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताहरु माधवकुमार नेपाल र झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, नेताहरु वर्षमान पुन, पम्फा भुसाल लगायत सहभागी थिए।
बैठकमा जसपाबाट शरदसिंह भण्डारी, जितेन्द्र सोनल सहगागी थिए।