काठमाडौ– सरकारको राजस्व ३ दशमलव शून्य ९ प्रतिशतले घटेको छ ।
कोरोना महामारीको समयमा उपभोक्ताले अत्यावश्यक उपभोग्य वस्तु बाहेक अन्य वस्तु उपभोग कम गरेको, उद्योगधन्दाहरू पूर्ण रुपमा नचलेको र नयाँ लगानीकर्ताहरूले थप लगानी नगर्दा राजस्व संकलनमा प्रभाव परेको अर्थमन्त्रालयले जनाएको छ।
अर्थमन्त्रालयका अनुसार चालु आर्थिक बर्षको चार महिनामा राजस्व संकलन जम्मा दुई खर्ब ४० अर्ब १५ करोड रुपैयाँ पुगेको छ ।
गत आर्थिक बर्षको सोही अवधिमा दुई खर्ब ४७ अर्ब ८० करोड रुपैयाँ राजस्व संकलन भएको थियो।
सरकारले चालु आर्थिक बर्षको कात्तिक सम्ममा दुई खर्ब ६२ अर्ब २८ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो।
तर लक्ष्यको तुलनामा सरकारले जम्मा ९१.५६ प्रतिशत मात्र राजश्व प्राप्त गरेको छ। सरकारले चालु आर्थिक बर्षको लागि १० खर्ब ११ अर्ब ७५ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको छ।
अर्थमन्त्रालयलका अनुसार भन्सार महसुल लक्ष्यको तुलनामा १०१.७४ प्रतिशतले बढेको छ।
कात्तिकसम्मका लागि सरकारले ५४ अर्ब सात करोड रुपैयाँ भन्सार महसुल उठाउने लक्ष्य राखेकोमा भन्सार विभागले ५५ अर्ब एक करोड रुपैयाँ भन्सार राजस्व उठाएको छ।
त्यस्तै मुल्य अभिवृद्धिकरतर्फको राजस्व भने लक्ष्यको तुलनामा ९१.०१ प्रतिशत मात्र उठेको छ।
सरकारले चालु आर्थिक बर्षको पहिलो चार महिनामा ८६ अर्ब ३७ करोड रुपैयाँ लक्ष राखेको थियो तर ७८ अर्ब ६३ करोड रुपैयाँ संकलन गरेको छ।
त्यस्तै अन्तशुल्कतर्फ सरकारले लक्ष्यको जम्मा ८१.७७ प्रतिशत मात्र उठाएको छ । सरकारले चालु आर्थिक बर्षको पहिलो चार महिनामा ४० अर्ब ६२ करोड रुपैयाँ उठाएको हो ।
तर सरकारले चार महिनामा अन्तशुल्क ४९ अर्ब ६८ करोड रुपैयाँ उठाउने लक्ष्य राखेको थियो।
आयकरतर्फ भने सरकारले राखेको लक्ष्यभन्दा ५.५५ प्रतिशतले बढी उठेको छ। सरकारले यस बर्ष आयकरतर्फ ४३ अर्ब ८१ करोड रुपैयाँ लक्ष राखेकोमा ४६ अर्ब २५ करोड रुपैयाँ उठाएको छ ।
त्यस्तैगरी अन्य कर तर्फ भने सरकारको लक्ष्य भेटेको छैन। चालु आर्थिक बर्षको पहिलो चार महिनामा ६ अर्ब ५२ करोड रुपैयाँ उठाउने लक्ष्य राखेपनि जम्मा पाँच अर्ब ५१ करोड रुपैयाँ मात्र उठेको अर्थमन्त्रालयले जनाएको छ ।
चालु आर्थिक बर्षको पहिलो चार महिनामा अन्य प्राप्ति भने २४ अर्ब ५२ करोड रुपैयाँ छ। गत आर्थिक बर्षमा अन्य प्राप्ति तर्फ सरकारले जम्मा १२ अर्ब २७ करोड रुपैयाँ मात्र प्राप्त गरेको थियो।