काठमाडौं– नेपाली कांग्रेसका युवा नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कपडा लगाएको भ्रम परेको तर यथार्थमा नांगै हिँडिरहेको बताएका छन्।
कांग्रेसले सरकारविरुद्ध देशभर गरेको प्रदर्शनका क्रममा धनगढीमा आयोजित सभालाई सम्बोधन गर्दै थापाले प्रधानमन्त्री ओलीले ठूलो भ्रम पालेको बताएका हुन्।
‘अस्ति प्रधानमन्त्रीजी पूर्वी जिल्ला भ्रमणमा जानुभयो। त्यहाँ उहाँले नमस्कार गरेको देख्नुभयो, जिन्दावाद भनेको सुन्नुभयो। त्यसपछि उहाँले भन्न थाल्नुभयो– जनता खुसी छन्। जनताको खुसी पत्रकार र सामाजिक सञ्जाल प्रयोगकर्ताले देख्दैनन्,’ थापाले भने, ‘तर प्रधानमन्त्रीज्यू यथार्थ अर्कै छ। तपाईंलाई कपडा लगाएको भ्रम परेको छ। तर, तपाईं नांगै हिँडिरहनुभएको छ।’
कांग्रेसले प्रधानमन्त्रीलाई नांगै हिँड्दै हुनुहुन्छ भनेर पटक–पटक सम्झाए पनि उनले नपत्याएको थापाको भनाइ छ।
‘हामीले पटकपटक भन्यौं– प्रचण्ड–माधव नेपालहरु ओलीको लाज ढाक्न लागि परिरनुभयो। ओलीको लाज ढाक्दा ढाक्दा आफैं अर्धनग्न भएपछि बल्ल उहाँहरुले तपाई नांगै हुनुहुन्छ भन्न थाल्नुभएको छ,’ थापाले भने, ‘तर कमरेडहरु निकै ढिलो भइसकेको छ।’
सरकारसँग जनताको ठूलो अपेक्षा रहेको तर ओलीले जनताको अपेक्षा पूरा गर्न नसकेको थापाले बताए। प्रधानमन्त्रीलाई संसदमा सचेत गराउन खोज्दा उल्टै व्यंग्यको सिकार हुनुपरेको स्मरण समेत उनले गरे।
‘संसदमा मैले पटक–पटक प्रधानमन्त्रीजीलाई सचेत गराएँ। तर, मलाई जवाफ फर्काउँदै उल्टै व्यंग्य गर्नुभयो। नेकपाका साथीहरुले टेबुल ठोक्नुभयो,’ थापाले भने, ‘प्रधानमन्त्रीप्रतिको त्यो भरोसा, त्यो अपेक्षा सब बेकार भयो।’
उनले ओलीले सरकार चलाउन इतिहासकै अनुकूल मौका पाए पनि त्यसको सदुपयोग गर्न नसकेको बताए।
‘ओलीको सरकार इतिहासकै सबैभन्दा शक्तिशाली सरकार हो। पाँच वर्ष चलाउने मौका पाउनुभएको थियो। ३ वर्ष खेर गयो, अब २ वर्ष बाँकी छ,’ थापाले भने, ‘अब जनतालाई धोका नदिनुस्। सडकमा निस्किएर संघीयता जिन्दावाद भन्ने अवस्था सिर्जना हुन नदिनुस्।’
थापाले कोरोना नियन्त्रणमा देखिएको सरकारको असफलताले मुलुकले ठूलो मूल्य चुकाउनुपर्ने बताए।
‘यत्रो वर्ष मेहनत गरेर बनाएको हाम्रो स्वास्थ्य पद्धति ओरालो लाग्ने अवस्था आएको छ। लाखौं विद्यार्थीले पढ्न पाएका छैनन्, त्यसको मूल्य भविष्यमा नेपालले चुकाउनुपर्नेछ। किसानले मलखाद पाएनन्, त्यसको असर अर्थतन्त्रले चुकाउनुपर्ने छ,’ थापाले भने, ‘नयाँ व्यवसाय सुरु गरेका र व्यवसाय गरिरहेकाहरुको विजोग भएको छ। ती सबैलाई सहयोग गर्न २ खर्बको प्याकेज ल्याउ भन्यौं। सांसद विकास कोष कोरोना नियन्त्रणमा लगाउ भन्यौं। दशैं भत्ता नबाँड भन्यौँ। किसान, श्रमिक र रोजगारी गुमाएका युवाको आवाज सुन भन्यौं। तर सरकारले सुनेन।’
उनले नेकपा पार्टी नै नभएको जिकिर समेत गरे। ‘नेकपा भनेको पार्टी नै होइन। त्यो लोभीपापीहरुको मञ्च मात्रै हो,’ उनले भने, ‘प्रधामन्त्रीको कुर्सीको ताप थाहा पाएका ओलीको लोभ र चितवनमा चुनाव हार्ने डर बोकेका प्रचण्डबीचका बीचमा एकता भयो। त्यसैले त अहिले सिद्धान्तका बारेमा माथापच्ची भइरहेको छ।’
उनले सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टको समेत आलोचना गरे। निरिह र लाचार मुख्यमन्त्रीकै कारण सुदूरपश्चिममा कोरोना नियन्त्रण हुन नसकेको उनको जिकिर छ।
‘मुख्यमन्त्रीज्यू तपाईँ निरीह र लाचार हुनुहुन्छ। तपाईको नेकपाको कार्यकर्ता भन्दा माथि मुख्यमन्त्रीको हैसियत हुन्थ्यो भने काठमाडौं गएर टेबुल ठोकेर आवश्यक जोहो गरेर कोरोना नियन्त्रण गर्नुहुन्थ्यो,’ उनले भने, ‘तपाईले निरिह भएकै कारण फलानो नेताले दिएको मास्क, स्यानिटाइजर भन्दै वितरण गर्नुपर्ने अवस्था आएको हो।’