काठमाडौं– नेकपाका दिवंगत नेता कमानसिंह लामा र याम्बलिङ हाइड्रोपावरबीचको विवादमा मुछिएकी सुसन कर्मचार्यको परिवारलाई प्रधानमन्त्री केपी शर्मा ओलीले ढाडस दिएका छन्।
आइतबार अपराह्न भएको भेटमा प्रधानमन्त्री ओलीले कर्मचार्यको परिवारलाई हल्लाको पछि नलाग्न आग्रह गरेका हुन्।
सुसन अध्यक्ष रहेको याम्बालिङ हाइड्रोपावर र कमानसिंह लामाबीचको विवादमा नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठलाई अनावश्यक रुपमा मुछेर सुसन र सम्पूर्ण परिवारको चरित्र हत्या गरेको भन्दै सुसनका पति लक्ष्मणकृष्ण राजभण्डारीलगायतले प्रधानमन्त्री ओलीलाई भेटेको थिए।
कर्मचार्य परिवारलाई प्रधानमन्त्रीले करिब डेढ घण्टा समय दिएका थिए।
भेटमा प्रधानमन्त्री ओलीले हल्लाका पछि नलाग्न र आफ्नो कतव्य नभुल्न सम्झाएको राजभण्डारीले जानकारी गराएका छन्।
प्रधानमन्त्री ओलीले प्रमाणविना, सत्यतथ्य नबुझी भ्रम पैदा गर्ने, अरुको चरित्रहत्या गर्न खोज्ने कार्य नगर्न र त्यस्तो भ्रममा नपर्न अनुरोधसमेत गरेका छन्।
सुसन नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठको प्रमुख सहयोगी हुन्।
कमानसिंहको निधन भएपछि हाइड्रोपावर र लेनदेनका विषयमा उनी विवादमा मुछिएकी थिइन्।
लामा र सुसनबीचको विवाद मिलाउन भूमिका खेलेका नारायणकाजी श्रेष्ठ पनि यो विवादमा मुछिएका छन्।