काठमाडौं- आन्तरिक विवादमा फसेको सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक शोक प्रस्ताव पारित गरेर सकिएको छ।
नेकपाका केन्द्रीय सदस्य कमानसिं लामाको निधन भएकाले शोक प्रस्ताव पारित गरेर बैठक स्थगित गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन्। अर्को बैठक अब यही बुधबार दिउँसो १ बजे बस्ने उनले जानकारी दिए।
आजको बैठक प्रधानमन्त्री ओली पनि सहभागी भएका थिए। ओली यसअघि मंसिर २१ गते पाटी कार्यालयमा बसेको बैठकमा सहभागी भएका थिएनन्।
उनले अध्यक्ष प्रचण्डले विभिन्न आरोप लगाएर पेश गरेको राजनीतिक प्रतिवेदन फिर्ता नलिएसम्म बैठकमा सहभागी नहुने अडान लिएका थिए। तर, दोस्रो तहका नेताहरुको आग्रहपछि उनी आजको बैठकमा सहभागी भएका हुन्।
मङ्सिर २१ गते बसेको बैठकमा दुवै अध्यक्षको प्रतिवेदन (आरोपपत्र) अध्ययनका लागि वितरण गरेर सात दिनका लागि स्थगित गरिएको थियो। यसबीचमा दुई अध्यक्षबीच सहमति खोज्ने प्रयास पनि त्यो सफल हुन सकेको छैन।
ओली प्रतिवेदन फिर्ता लिन दाहाललाई दबाब दिँदै आएका छन् भने दाहाल स्थायी कमिटीमा प्रतिवेदन पेस भइसकेकाले त्यहींबाट निर्णय हुने अडानमा छन्।
कात्तिक २८ गतेको सचिवालय बैठकमा दाहालले पेस गरेको प्रतिवेदनमा ओलीले पार्टीको निर्णय नमानेको, स्वेच्छाचारी भएको, सरकार असफल भएको, भ्रष्टाचार मौलाएको लगायतका दर्जन बढी आरोप लगाएका छन्।
दाहाल र नेपाल पक्ष ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्षमध्ये एक पदन छाड्नुपर्ने अडानमा छन्। तर, ओलीले यसलाई अस्वीकार गर्दै आएका छन्।