काठमाडौं- प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उपस्थित नहुने भएपछि आजका लागि बोलाइएको संवैधानिक परिषद्को बैठक अनिश्चित भएको छ ।
देउवाले पार्टीको कार्यक्रमका कारण बैठकमा आउन नसक्ने जनाएपछि आजको बैठक अनिश्चित भएको हो ।
शुक्रबार प्रमुख प्रतिपक्ष दलका नेता देउवा र संवैधाननिक परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीबीचको छलफलपछि आज (आइतबार)का लागि बैठक डाकिएको थियो ।
परिषद् बैठकमा विपक्षी दलको नेता अनिवार्य हुनुपर्ने कानुनी व्यवस्था छ । संवैधानिक परिषद्मा प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रिय सभा अध्यक्ष, प्रतिनिधिसभाका विपक्षी दलका नेता र उपसभामुख सदस्य रहने व्यवस्था छ ।
देउवाले पार्टीको कार्यक्रम भएकाले बैठकमा आउन नसक्ने बताए पनि स्रोतका अनुसार भागबन्डा नमिलेका कारण उनी बैठक आउन नमानेका हुन् । कांग्रेसले अख्तियार तथा निर्वाचन आयोग र अरु निकायमा समेत सम्मानजनक स्थान दिनुपर्ने अडान लिएको छ ।
यस्तै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले नेकपाभित्रको विवाद हल नभएसम्म परिषद् बैठकमा नजान देउवासँग आग्रह गरेको बुझिएको छ ।
यही कारण देउवाले संवैधानिक परिषद्को बैठकमा उपस्थित नहुने निर्णय लिएको स्रोतको दाबी छ ।
भागबण्डा नमिल्दा लामो समयदेखि संवैधानिक निकायमा पदपूर्ति हुन सकेको छैन । विभिन्न संवैधानिक निकायमा प्रमुख र सदस्य गरी ४५ पद रिक्त छन्।
कुन संवैधानिक निकायमा कति पद रिक्त ?
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रमुख र २ आयुक्त,
राष्ट्रिय मानवअधिकार आयोगमा अध्यक्ष र ४ आयुक्त,
निर्वाचन आयोगमा २ आयुक्त,
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा ४ आयुक्त,
राष्ट्रिय महिला आयोगमा अध्यक्ष र ४ आयुक्त,
राष्ट्रिय दलित आयोगमा अध्यक्ष र ४ आयुक्त,
समावेशी आयोगमा अध्यक्ष र ३ आयुक्त,
आदिवासी तथा जनजाति आयोगमा अध्यक्ष र ४ आयुक्त,
मधेसी आयोगमा ४ आयुक्त,
थारू आयोगमा ४ आयुक्त
र, मुस्लिम आयोगमा ४ आयुक्त
यी सबै संवैधानिक निकायमा प्रमुख र सदस्य गरी ४५ पद रिक्त छन्।