समाचार
1611398202.jpg

हाम्रो गाउँठाउँमा छ्यास्छ्यास्ती देखिने धेरै कुरा हराए, मासिए। रुख बिरुवाका कतिपय प्रजाति मासिए। हिउँदमा देखिने चरा हराए। बाल्यकालमा देखिने कीराफट्याङग्रा अचेल कहाँ गए होलान?

NLG Insurance
agrakhi
Yeti parketing

बर्खाका बेला अँध्यारो रातमा टिलपिल टिलपिल देखिने जुनकिरी कता गए होलान् ? अँध्यारो रातमा जुनकिरीको पछिपछि दौडिएको, त्यसलाई सिसीमा राखेको जस्ता स्मरण हामीमध्ये थुप्रैको होला तर, अचेल कता गए होला त्यो जुनकिरी ?

माधवप्रसाद घिमिरेले जुनकिरीकै बारे लेखेको कविताको अंशः

फूलको रंग रातले
पुछ्यो कि कालो हातले
पिलपपिल पुलुक्क, कुन किरी
जूनबाट ओर्लिन् जुनकिरी
जुनकिरी, जुनकिरी, जुनकिरी !

बाल्यकालमा जुनकिरी देखेर रमाएको, त्यसकै पछिपछि दौडेको स्मरण गर्छन्, झापा दमकका साहित्यकार दक्षराज शर्मा।

‘हामी धनकुटा हुँदा असमबाट बुबाले टर्चलाइट ल्याउनु भएको थियो। टर्चलाइटको बत्ती देख्दा चकित परिएको थियो। जुनकिरी पिलिक पिलिक गर्थ्याे, टर्च त झलक्कै बल्ने। तर, टर्चलाइटको रमाइलो केही दिनमा सकियो, हामी केटाकेटीका लागि जुनकिरी सधैं आफ्नै। अँध्यारो भएपछि उही हाम्रो साथी,’ हिमालय मावि दमकका पूर्वशिक्षक शर्माले बताए।

‘जुनकिरी बत्तीजस्तो देखिए पनि च्याप्प हातैले समाउँदा त पूरै कीरा पो छ। शरीरको पछिल्तिर बत्ती बल्ने। यसो हेरेर हुत्याइदिएँ,’ ८२ वर्षीय शर्मा भन्छन्, ‘औंलामा सेतो-सेतो धुलो जस्तो टाँसिएको थियो।’

‘धनकुटाको मारेकटारेका उत्तीसघारी र बाँसघारीमा छपक्कै जुनकिरी हुन्थे,’ शर्मा भन्छन्, ‘३० सालपछि तराई बसाइँ सरियो। तराईमा पनि बाक्लै जुनकिरी हुन्थे, अहिले देखिंंदैनन्।’

बर्दिया बिजलपुरामा जन्मेहुर्केका ८० वर्षीय रामप्रसाद उपाध्याय पोखरेल केटाकेटी उमेरमा जुनकिरी खेलेको स्मरण गर्छन्। ‘ऊ बेलामा बिजुली बत्ती थिएन। कोठाचोटा जताततै जुनकिरी आउँथ्यो,’ उपाध्याय भन्छन्, ‘बत्ति बल्ने कीरा देखेर अनौठो र रमाइलो लाग्थ्यो। समातिन्थ्यो पनि।’

‘उहिले काठमाडौंमा सडक बत्तीको व्यवस्था थिएन, टुँडिखेलजस्ता खुला मैदानमा साँझ जुनकिरीको जुलुस नै लाग्थ्यो,’ हाल काठमाडौं बसोबास गर्ने उपाध्याय भन्छन्, ‘अब त केटाकेटीलाई देखाउने नमुना नै नहोला जस्तो भइसक्यो।’

काठमाडौंको मरुमा हुर्किएका सुशील ताम्राकार देवाली पुजामा नारायणहिटी राजदरबारको उत्तरी ढोकाको पाखोमा जाँदा जुनकिरीसँग खेलेको स्मरण गर्छन्। ‘मन्दिरसँगैको हरियो पाखोमा खेल्दाखेल्दै साँझ पर्थ्याे। अध्याँरोमा भूत आउँछ भन्ने डर मनमा हालिदिएका थिए,’ ५० वर्षअघिको कुरा स्मरण गर्दै ताम्राकार भन्छन्, ‘बत्ती बलेका ठाउँमा भूत आउँदैन भन्थे, हामी जुनकिरी समातेर भूतबाट सुरक्षित भएको अनुभूत गर्थ्याैं।’

‘अब न त त्यो पाखो बाँकी रह्यो, न त जुनकिरी नै,’ हाल अमेरिका प्रवासमा रहेका ताम्राकार भन्छन्, ‘नेपालमा मात्र होइन अप्राकृतिक बत्तीका कारण अमेरिकातिर पनि जुनकिरी हराउँदै गएको कुरा सुन्छु।’

अहिले वयस्क भइसकेका प्रायः धेरै केटाकेटी हुँदा जुनकिरीलाई सिसीमा थुनेर राखेको स्मरण सुनाउँछन्। त्यो नेपालको मात्र होइन विश्वव्यापी चलन नै रहेछ। विदेशमा पनि केटाकेटीहरू जनुकिरीलाई सीसीमा हालेर रमाइलो मान्ने गर्छन्। यद्यपि, प्रकृतिमा रमाइरहेको जीवलाई सीसीमा थुन्नु राम्रो चाहिँ होइन।

रुपन्देहीको भैरहवाका ७५ वर्षीय साहित्यकार बुँद राना जुनकिरी देखेर दंग परेको र छोप्न खोजेको बालवयका उटपट्याङ् अनुभव सुनाउँछन्। ‘अझ हामी त जुनकिरीको टीकाजस्तै निधारमा टाँस्थ्यौ,’ राना भन्छन्, ‘केहीबेर त्यसको टलक रहँदो रहेछ।’

अचेल भैरहवा आसपासका क्षेत्रमा जुनकिरी घट्दै गएको उनको अनुभव छ। ‘अहिले पनि सिजनमा अलिअलि नदेखिने होइन तर पहिलेको जस्तो छैन,’ राना भन्छन्, ‘यहाँका उद्योगले गराएको प्रदूषणले पनि होला।’

बाँके नेपालगञ्जमा जन्मे हुर्केका ७५ वर्षीय साहित्यकार सनत रेग्मी घर नजिकैको पिपलको ठूला रुख तथा अशोकको रुखमा टन्नै जनुकिरी देख्ने गरेको स्मरण गर्छन्। ‘औंसीको रातमा त उज्यालो भनेको जुनकिरीको पिलिक-पिलिक मात्र हुन्थ्यो,’ रेग्मी सुनाउँछन्, ‘जुनकिरी देखेर नरमाउने को पो होला र ?’

अहिले बजार क्षेत्रमा हरियालीको अभाव रहेको उनी सुनाउँछन्। ‘नेपालगञ्जमा न त रुख विरुवा छन् न त हरियाली नै,’ उनी भन्छन्, ‘अनि कहाँबाट होस् जुनकिरी ।’

०००

‘जुनकिरीले हानिकारक कीराहरू खाइदिने हुँदा यसलाई गुणी कीरा मानिन्छ। साथै यसले बालीलाई रोगबाट बचाउन मद्दत गर्छ,’ पुतली विज्ञ प्राध्यापक भैया खनाल भन्छन्, ‘जुनकिरी स्वच्छ पानीको वरपर रहने हुँदा यसले पानीमा स्वस्थ्य पर्यावरणको सन्देश पनि दिन्छ।’

विश्वमा दुई हजार प्रजातिका जुनकिरी पाइए पनि नेपालमा कति प्रकारको छ भन्ने अध्ययन भएको छैन। 

विज्ञहरूका अनुसार जुनकिरी हराउँदै जानुको मुख्य तीन कारण छन्- वासस्थानको विनाश, विषादीको अत्यधिक र लापरबाह प्रयोग, तथा कृत्रिम उज्यालोले गर्दा हुने प्रदूषण ।

‘कृत्रिम बत्तीको उज्यालोले जुनकिरीको प्रकाशलाई खाइदिन्छ र यसले आफ्नो जीवनचक्र पूरा गर्न पाउँदैन,’ खनाल बताउँछन्, ‘खेतबारीमा हालिने विविध विषादीले यसको संख्या दिनदिनै घट्दैछ।’

त्रिवि प्राणीशास्त्र केन्द्रीय विभागका प्राध्यापक डा. दयाराम भुसाल जुनकिरी घट्नुको प्रमुख कारण वासस्थानको विनाशलाई ठान्छन्।

भन्छन्, ‘पहिला जंगल, सिमसार, चउर भएका ठाउँमा हामीले बस्ती बसायौं। अनि त्यहाँ रहने प्राणी कि मासिए, कि अन्यत्र लागे । जुनकिरीको हकमा पनि त्यही भयो।’

‘वन जंगल भनेको अन्य प्राणीको वासस्थानको हो,’ भुसाल भन्छन्, ‘तिनको स्थान मानिसले अतिक्रमण गर्दै लग्यो । तिनलाई पनि बस्ने ठाउँ दिनुपर्छ भनेर जैविक विविधता जोगाउने सोचअनुसारको योजना भएन। त्यसो नहुँदा धेरै जीव हराउँदै गए।’

‘जुनकिरीका लार्भा स्वच्छ नदी वा पानीका स्रोतमा हुर्कन्छन्,’ प्रा. खनाल भन्छन्, ‘अचेल नदी प्रदूषित हुँदा जुनकिरीको संख्या घट्दै गएको हो ।’

सहरीकरण बढ्दै जाँदा खोलानाला र तालतलैया सुक्दै वा घट्दै गए। ‘अब त जुनकिरी खोज्न वनजंगल र मानव अतिक्रमण नभएको तालतलैया नै पुग्नु पर्ने बेला आइसक्यो,’ खनाल भन्छन् ।

वायु प्रदूषणले पनि कीराफट्याङग्राको संख्या घट्दै गएको प्रा. भुसाल बताउँछन् ।

जुनकिरीको पर्यावरणमा आफ्नै महत्त्व छ। साना कीराहरूलाई आहारा बनाउने जुनकिरी लाटोकोसेरो र चमेरोको आहारा हो। बढ्दो सहरीकरणका कारण यी चराहरू पनि जंगल र एकलास स्थानमै सीमित भएका छन् ।

‘गाउँघरमा पनि विषादीको प्रयोग हुने गरेको छ तर त्यहाँ वायु प्रदूषण नहुँदा जुनकिरीको संख्यामा ठूलो असर परेको देखिँदैन,’ चमेरोमा अनुसन्धान गरिरहेका सञ्जन थापा भन्छन्, ‘सहरी क्षेत्रमा भने अरू प्रदूषणसँगै वायु प्रदूषणका कारणले गर्दा जनुकिरीको संख्या घट्दो देखिन्छ।’

हराउँदै गएको कीराको सूचीमा जुनकिरी मात्रै छैन। फट्याङग्रा, मौरी, बारुला, अरिङ्गाल, ग्रोब्रेकीरा, पुतली, झ्यालिन्चा पनि छन्।

‘पर्यावरणीय चक्र सन्तुलित राख्न सबै कीराको आफ्नै महत्त्व हुन्छ। एउटा कीरा विनाश हुनु भनेको पर्यावरणीय सन्तुलन खल्बलिनु हो। एकातिर आदिमकालदेखि अस्तित्वमा रहेका कीराहरू हराउँदै गएका छन् भने लामखुट्टे, झिँगालगायतका विनाशकारी कीराहरूको जगजगी बढ्दो छ,’ प्रा. भुसाल भन्छन्।

‘यदि हामीले संरक्षणमा वास्ता नगर्ने हो भने भोलिका दिनमा झिँगा र लामखुट्टेबाहेक केही पनि बाँकी हुँदैन,’ प्रा. खनाल भन्छन् ।

जुनकिरीको आनीबानी

जुनकिरीले एकआपसमा बत्तीको माध्यमले सञ्चार गर्छ। पोथीलाई आकर्षित गर्न, आफ्नो क्षेत्र निर्धारण गर्न र खतराबाट जोगिन बत्तीको उपयोग गर्छ। केही प्रजातिमा भालेले मात्रै बत्ती बाल्छ।

प्रायः भाले उड्ने गर्दछ भने पोथी रुख, पोथ्रा वा घाँसमा बसेर मनपर्दो भालेको प्रतीक्षा गर्छन्। उसले कुनै भालेलाई मनपराई भने आफ्नो बत्तीमार्फत् नै त्यसको संकेत गर्छे।

जुनकिरीले बत्तीकै सहायताले आहारा खोज्ने गर्छ। जुनकिरीको बत्तीमा अरू कीराहरू झुम्मिन्छन् र त्यही बेला जुनकिरीले तिनलाई आहारा बनाउँछ।

जुनकिरीको बत्ती शीतल बत्ती हो। अरु बत्तीले ताप सिर्जना गर्छ तर जुनकिरीको बत्तीमा ताप हुँदैन। यसको पुच्छरमा पाइने लुसिफेरास र लुसिफेरिन नामक रसायन अक्सिजनमा मिसिएपछि बत्ती बल्छ। 

जुनकिरीले एक अर्काको नक्कल गर्ने गर्छन्। पोथी जुनकिरीले मात्र होइन भाले जुनकिरीले पनि पोथीलाई आकर्षित गर्न एक अर्काको नक्कल गर्ने गर्छन्। रोचक के छ भने भाले जुनकिरीले पोथी जुनकिरीको नक्कल गरेर अरू भाले जुनकिरीलाई छक्काइदिने गर्छन्। यी सबै काम बत्तीमार्फत् नै हुन्छ।

जुनकिरीको जीवनचक्र

जुनकिरी मांसाहारी कीरा हो। यसले चिप्लेकीरा र गँड्यौला खान्छ। कतिले पराग मात्र खान्छन्। जुनकिरीको उमेर छोटो हुन्छ, लार्भाको उमेर १ देखि २ वर्ष सम्मको हुन्छ।

जुनकिरीले उष्ण मौसम तथा क्षेत्र मन पराउँछ। विशेषगरी वनक्षेत्र, सिमसार, खोलालगायतका ओसिला ठाउँमा पाइने यो कीरा अन्टार्कटिका बाहेक सबै महादेशमा पाइन्छ। 

आद्र मौसममा हुने जुनकिरी विषेशतः रुखमा बस्छ तर केही प्रजाति पानीमा पनि बस्छन् ।

जुनकिरीमा हुने रसायन क्यानसर तथा मस्कुलर डिस्ट्रोफीलगायतका रोगको अध्ययन गर्न उपयोग हुन्छ।

जुनकिरीमा हुने रसायनले बनेको विद्युतीय डिटेक्टर अन्तरिक्षयानमा जडान गरेर अन्तररिक्षमा जीवको सम्भाव्यता अध्ययन गर्ने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्