काठमाडौं– जापान सरकारले आउँदो जुलाईमा हुने टोकियो ओलम्पिक दर्शकबिना नै सम्पन्न गर्न पहल सुरु गरेको छ।
कोरोना भाइरसको महामारी आउँदो जुलाईसम्म नसकिने आकलन गर्दैै उसले दर्शक सहभागी नगराउने प्रयास थालेको हो। केही जापानी अधिकारीको भनाइ उद्धृत गर्दै क्योदो न्युजले लेखेको छ, ‘अब जुलाईसम्म पूरा विश्व महामारीबाट मुक्त भइसक्न गाह्रो छ। यसकारण २३ जुलाईबाट हुने ओलम्पिक रद्द गर्नु वा सार्नुभन्दा दर्शकविहिन गराउनु उत्तम विकल्प हुनेछ।’
जापानी अधिकारीका अनुसार सरकारले तीन बुँदाहरुमा विचार गरिरहेको छ। एक समर्थकलाई रंगशालामा बन्देज नलगाउने, दोस्रो ५० प्रतिशत दर्शकलाई अनुमति दिने वा बन्द रंगशालामा खेल गराउने।
सरकारले सुरुआती तयारी समर्थकलाई खेल हेर्ने अनुमति दिने गरी सुरु गरे पनि टोकियो र अन्य ठाउँमा फैलँदो भाइरसका कारण खेल बन्द रंगशालामा गराउनु पर्ने विचार अघि आएको छ।
जापान मेडिकल एसोसिएसनका अध्यक्ष तोसिहो नाकागावाले कोरोनाको बढ्दो प्रभावका समयमा समर्थकलाई स्वागत गर्न नकिने बताएका छन्।