काठमाडौं– लामो समयदेखि अनशनरत गंगामाया अधिकारीको स्वास्थ्य स्थितिप्रति संवेदनशील बन्न राष्ट्रिय मानव अधिकार आयोगले सरकारसँग आग्रह गरेको छ।
गंगामाया छोरा कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न दोषीलाई कानुनी कारबाहीको माग गर्दै अनशनमा छिन्।
गंगामाया पछिल्लोपटक २०७७ पुस ६ गतेदेखि आमरण अनशनमा छिन्। उनलाई ट्रमा सेन्टरको आकस्मिक कक्षमा राखिएको छ। चिकित्सकका अनुसार उनको स्वास्थ्य अवस्था दिनप्रतिदिन गम्भीर बन्दै गएको छ।
आयोगले गंगामायाको अनशनका सम्बन्धमा निरन्तर अनुगमन गरिरहेको जनाएको छ। यसैगरी आयोगको बागमती प्रदेश कार्यालयले गंगामायाको जीवनरक्षा, स्वास्थ्य उपचार तथा उचित बसोबासको व्यवस्था मिलाउन स्वास्थ्य तथा जनंख्या मन्त्रालय र वीर अस्पताललाई पत्राचार गरेको छ।
आयोगले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘गंगामाया अधिकारीको न्याय प्राप्तिको हक सुनिश्चित गर्दै जीवनरक्षा तथा उचित बसोबासको व्यवस्थापन गर्न, निजको जीवनरक्षाका लागि प्रभावकारी कदम चाल्न तथा यसअघि नेपाल सरकारले गरेका सम्झौताको पालना गर्न आयोग नेपाल सरकारसँग पुनः आग्रह गर्दछ।’
आयोगले गंगामायालाई अनशन जस्तो जोखिमयुक्त बाटो नरोज्न आग्रह गरेको छ।