बिहीबार, वैशाख १३, २०८१

काठमाडौं पर्वतीय फिल्म महोत्सव : महामारीले जुराएको जीवन बुझ्ने अवसर

जीवन, संस्कृति, भोगाइजस्ता विषय देखाउने फिल्महरुमा कुनै पनि किसिमको सीमा नहुने भएकाले यस्ता फिल्म हेर्न दर्शकलाई सधैं अवसर मिल्दैन। यस्ता फिल्महरु हलमा चल्दैनन्, अधिकांश यस्ता फिल्मको सार्वजनिक प्रदर्शन हुने भनेको महोत्सवहरुमै हो।
 |  बिहीबार, मंसिर २५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २५, २०७७

काठमाडौं– कोरोना भाइरसको महामारी नभएको भए यस वर्ष पनि काठमाडौं इन्टरनेशनल माउन्टेन फिल्म फेस्टिभल, ‘किम्फ’ संभवतः राष्ट्रिय सभा गृहमा चल्ने थियो। 

triton college

केही वर्ष काठमाडौंको राष्ट्रियसभा गृह र केही वर्ष कुमारी सिनेमा हल गरेर किम्फका १७ वटा संस्करण सम्पन्न भएका छन् । 

१८ औं संस्करणको किम्फ कोरोना महामारीका कारण केही समय द्विविधामा पर्‍यो । गर्ने कि नगर्ने, गरे कसरी गर्ने भन्ने अन्योलकै बीच किम्फ भर्चुअल माध्यमबाट हुने भएको छ। 

किम्फका अध्यक्ष वसन्त थापाका अनुसार यसपटकको महोत्सवमा कुनै स्थान र समयको छेकबार नहुँदा दर्शकहरुका लागि विशेष छ। 

‘महामारीका कारण यसपटक महोत्सवलाई भर्चुअल रुपमा गर्नुपर्ने बाध्यता आइलाग्यो तर, यसरी गर्दा कति प्रभावकारी होला, कति दर्शकले महोत्सवका फिल्महरु हेर्लान्, कस्तो प्रतिक्रिया देलान्, कति सफल होला कि असफल होला भन्ने कुनै पनि अनुमान गरेका छैनौं।’ 

corrent noodles
Metro Mart

थापाका अनुसार यसपटक  फिल्महरु वेब साइटमै राखिने भएकाले झन् धेरै दर्शकहरुले हेर्न सक्नेछन्। उनी भन्छन्, ‘हेर्न चाहने तर, तोकिएको समयमा फुर्सद नहुने, तोकिएको ठाउँमा जान नसक्नेका लागि त यसपटकको महोत्सव झनै प्रभावकारी हुने भयो ।’

भर्चुअल रुपमा आयोजना गरिंदा विदेशमा बस्ने नेपाली, नेपालप्रति रुची भएका, नेपाल आउन नपाएका तथा एकदुई पटक नेपाल आएर नेपालबारे अझै चासो बोकेर फर्किएका विदेशी सवैका लागि यसपटकको महोत्सव विशेष हुनसक्ने आयोजकको विश्वास छ ।

यसपटक प्रदर्शनका लागि छनोट भएका सवै फिल्मलाई किम्फको वेबसाइट (किम्फडटओआरजी) मा अपलोड गरिनेछ । एक पटक अपलोड गरिएका फिल्महरु ५ दिनसम्म रहनेछन्, जसलाई दर्शकले आफ्नो अनुकुलतामा मोबाइल वा कम्प्युटरबाट नि:शुल्क हेर्न सक्छन् । 

धेरै दर्शकले एकैपटक हेर्दा समस्या आउला कि भनेर यसका लागि प्राबिधिक रुपमा तयारीसमेत बढाइएको छ। यसअर्थमा महामारीको बीचमा भएको किम्फ दर्शकका लागि अझै सहज बनेर आइदिएको छ । 

दुई दशकदेखि आयोजना हुनाथलेको किम्फमा पर्वतीय जीवन, भाषा, संस्कृति र भोगाइलाई फिल्मको माध्यमबाट प्रस्तुत गरिन्छ। महोत्सवमा प्रदर्शन हुने फिल्महरु कुनै डकुमेन्ट्री हुन्छन्, कुनै ड्रामा हुन्छन्। कुनै छोटा हुन्छन्, कुनै लामा हुन्छन्। 

जीवन, संस्कृति, भोगाइजस्ता विषय देखाउने फिल्महरुमा कुनै पनि किसिमको सीमा नहुने भएकाले यस्ता फिल्म हेर्न दर्शकलाई सधैं अवसर मिल्दैन। यस्ता फिल्महरु हलमा चल्दैनन्, अधिकांश यस्ता फिल्मको सार्वजनिक प्रदर्शन हुने भनेको महोत्सवहरुमै हो।

यस्ता कतिपय फिल्मले थुप्रै अवार्डहरु पाइसक्दा पनि दर्शकहरुले हेर्न पाइरहेका हुँदैनन् । ‘यस्ता फिल्मको नियति नै त्यही हो । पुरस्कार पाएका फिल्म भन्नसाथ धेरैलाई हेर्ने रुची त हुन्छ तर प्रदर्शनका लागि विभिन्न अप्ठ्यराहरु छन्,’ अध्यक्ष थापा भन्छन्, ‘कतिपय फिल्म २० मिनेटका हुन्छन्, डकुमेन्ट्रीहरु हुन्छन्, तीनलाई फिल्म हलहरुले देखाउँदैनन् ।’

पर्वतीय फिल्म महोत्सव भनिने भएकाले कतिपयले पर्वतीय जीवनसँग जोडिएका, माउन्टेन क्लाइम्बिङ, माउन्टेन एड्भेन्चर जस्तो बुझिन्छ। तर थापा भन्छन्, ‘त्यो पनि हो तर, त्यो मात्रै होइन ।’ उनका अनुसार किम्फका फिल्ममा सांस्कृतिक विविधतालाई धेरैभन्दा धेरै समेट्न खोजिएको छ ।

‘हामी त कन्टेन्टमा फोकस भएको फिल्म हुनुपर्छ भन्छौं । यो कलाको एउटा विशिष्ट विधा हो, अभिव्यक्तिको सशक्त माध्यम हो । खाली कन्टेन्ट मात्रै भएर पनि पुग्दैन हर दृष्टिले राम्रो फिल्म हुनुपर्छ।’ थापा भन्छन् ।

यस वर्षको महोत्सवको नारा ‘तमसोमा ज्योतिर्गमय’ राखिएको छ । ‘हामीले त्यसलाई निराशा विरुद्ध र आशातर्फ भनेका छौं,  यसपटकको फेस्टिभलको उद्देश्य पनि त्यही हो,’ थापा भन्छन् ।

किम्फ विशेष मान्छेहरुका लागि मात्रै हो कि, अलि एलिट वर्गका लागि मात्रै हो कि भन्ने आरोप आउने गरेको स्मरण गर्दै थापाले यस वर्ष भर्चुअल रुपमा आयोजना गरिंदा यस्ता आशंकाहरु पनि तोडिने बताउँछन्। 

‘आम जनतालाई नै देखाउन फेस्टिभल आयोजना गरिएको हो’, थापा भन्छन् तर कतिलाई यस्ता फिल्महरु रुचीकर हुन्छन्, कतिलाई हुँदैनन्, कतिले थाहा पाउँछन् कतिले थाहा पाउँदैनन् त्यसका कारण सबैको उपस्थिति हुन नसकेको हुन सक्छ ।’

यसवर्ष अन्तर्राष्ट्रिय क्याटागोरीका १८ र राष्ट्रिय प्यनोरामाका १२ वटा फिल्म प्रदर्शन गरिंदैछ । 

उद्घाटन समारोहमा भुटानका फिन्चे रिम्पोछेले निर्देशन गरेको फिल्म प्रदर्शन हुनेछ । यो फिल्मलाई विशेष रुपमा छनोट गरिएको हो र यसपटकको किम्फको मुख्य वक्ताका रुपमा पनि रिम्पोछेले भर्चुअल माध्यमबाट सम्बोधन गर्नेछन्। 

थापा आध्यात्मिक गुरु रिम्पोछेलाई अद्भूत फिल्म बनाउने निर्देशक भन्छन्। यसअघिका तीनवटा महोत्सवमा पनि उनका फिल्म प्रदर्शन भएका थिए।

रिम्पोछेको फिल्म यसपटक नेपाली दर्शकहरुका लागि मात्रै प्रदर्शन हुनेछ । अनलाइन माध्यमबाटै प्रदर्शन हुने उक्त फिल्म विदेशीहरुका लागि देखाइने छैन।
अन्य सबै ३० वटा फिल्म भने विश्वभर जहाँबाट पनि हेर्न सकिनेछ । 

महोत्सवमा प्रतिस्पर्धीका रुपमा प्रदर्शन भएका फिल्महरुमध्ये प्रथम हुनेले १ हजार ५००, दोस्रोलाई १ हजार र तेस्रोलाई ५०० अमेरिकी डलर पुरस्कार पाउने छन्। 
महोत्सवमा नेशनल प्यानोरामामा गणेश पाण्डेको ‘सिभिल सोल्जर्स’, अंकित पौडेलको ‘संग्स अफ क्लाउड’, सिकुमा राईको ‘अरक चाना बानाओ, सीम्मा’ लगायतका फिल्महरु छन् ।

अन्तर्राष्ट्रिय क्याटागोरीमा लुकास मिलार्ड र केट स्ट्रेकरको ‘बाटो’, इस्माइल फामी लुबिसको ‘हेल्प इज अन दि वे’, अमर मैबामको ‘हाइवे अफ लाइफ’ लगायतका फिल्महरु छन् । 

यो महोत्सव डिसेम्बर १० देखि १४ सम्म अर्थात् मंसिर २५ देखि २९ गतेसम्म चल्ने छ भने फिल्महरु अपलोडको आधारमा डिसेम्बर १९ अर्थात् पुस ४ गतेसम्म हेर्न सकिनेछ ।

प्रकाशित: Dec 10, 2020| 01:48 बिहीबार, मंसिर २५, २०७७
प्रतिक्रिया दिनुहोस्