काठमाडौं– यसै सातादेखि सर्वोच्च शिखर सगरमाथाको उचाइ बढेको छ। ८६ सेन्टिमिटरले बढेर सगरमाथाको उचाइ ८ हजार ८४८.८६ मिटर भएको छ। यो तथ्यले सगरमाथा मात्रै होइन, नेपालका प्रायः सबै हिमालको उचाइ बढेको संकेत गर्छ।
भू–गर्भविद्हरुका अनुसार नेपालका हिमालको उचाइ हरेक वर्ष ४ देखि ६ मिलिमिटरका दरले बढ्ने गरेको छ। केही हिमालको उचाइ १० देखि १२ मिलिमिटरका दरले बढिरहेको विज्ञ बताउँछन्। उनीहरुका अनुसार नेपाल टिब्बेटियन र इन्डियन प्लेटको बीचमा छ। यी दुई प्लेटको टकराव निरन्तर चलिरहेको छ। यही टकरावका कारण हिमालय शृंखला निर्माण भएको थियो।
यो शृंखला निर्माण हुनुपूर्व थाइल्यान्ड, बर्मादेखि सिक्किम, भुटान, नेपाल हुँदै पाकिस्तान र अफगानिस्तानसम्म गहिरो र लामो टेथिस सागर थियो। यसले भारतीय उपमहाद्वीप र टिब्बेटियनको प्लेटलाई भिन्न बनाएर राखेको थियो। हालको हिमालयको उत्पत्ति यही सागरबाट भएको हो।
भारतीय उपमहाद्वीपको प्लेट र टिब्बेटियन प्लेटको बीचमा आपसी भौगर्भिक टक्कर हुँदा बीचको टेथिस सागरको गहिरो भूभाग भौगर्भिक हलचल, भूकम्प तथा ज्वालामुखी विस्फोट हुँदै यी दुई अजंगका प्लेटको बीचमा परेर सगरमाथासहितका हिमालय शृंखला निर्माण भएका हुन्। अहिले यिनै प्लेटको टकरावका कारण नयाँ हिमशृंखलाको उचाइ बढ्दै गएको खानी तथा भूगर्भ विभागले जनाएको छ।
विभागको भूकम्पीय अनुसन्धान महाशाखा प्रमुख मोनिका झाका अनुसार इन्डियन प्लेट प्रत्येक वर्ष चार सेन्टिमिटरका दरले टिब्बेटियन प्लेटतर्फ सरिरहेकोे छ। अध्ययनअनुसार इन्डियन प्लेट हरेक वर्ष दुई सेन्टिमिटर टिब्बेटियन प्लेटभित्र घुस्ने गरेको छ। यही कारण पहाड र हिमालहरुको उचाइ बढ्ने गरेको छ।
नेपालमा बनेका हिमाल विश्वका अन्य देशको तुलनामा नयाँ हुन्, जुन ५ करोड वर्ष पहिले मात्रै निर्माण भएका हुन्। ‘योङ माउन्टेन’ भनेर चिनिने नेपालका हिमाल बढ्ने क्रममा रहेको भू–गर्भविद्हरुको भनाइ छ। भूकम्पले यस्ता हिमालको उचाइ बढाउन र घटाउन मद्दत गर्दै आएको उनीहरु बताउँछन्।
त्यसो भए २०७२ मा गएको भूकम्पले सगरमाथाको उचाइ बढाएको हो त? भूगर्भविद्समेत रहेकी भूकम्पीय अनुसन्धान महाशाखा प्रमुख झा भन्छिन्, ‘त्यो पनि केही कारण होला तर, तर निरन्तर चलेको टिब्बेटियन र इन्डियन प्लेटको टकरावका कारण उचाइ बढेको हो।’
भूगर्भविद् अनन्त गजुरेल पनि नेपालका हिमाल कुनै एक कारणले र कुनै एउटा घटनाले मात्रै नबढेको बताउँछन्। उनका अनुसार गोरखा भूकम्पको यसमा खासै ठूलो साइनो छैन। पश्चिममा गएको भूकम्पले पूर्वमा यति ठूलो फरक नल्याउने उनको तर्क छ।
उनी पनि निरन्तर चलिराखेका प्लेटहरुबीचको संघर्षको परिणामस्वरुप सगरमाथाको उचाइ बढेको बताउँछन्। हजारौं वर्षदेखि यो क्रम चलिरहेको र यही कारण नेपालका अन्य हिमालको पनि उचाइ बढेको उनको तर्क छ।
त्यसो त नेपालमा छिटो–छिटो भौगर्भिक परिवर्तन भइरहेका छन्। सगरमाथा र अन्य हिमालको उचाइ बढ्नु यसको प्रमाण भएको भूगर्भविद् गजुरेल बताउँछन्। उनका अनुसार नेपालका पहाड र नदीले पनि नेपालमा भौगर्भिक परिवर्तन चाँडो भइराखेको प्रस्ट संकेत दिइरहेका छन्। २०–३० वर्षमै बदलिएको नदीको बहाव, फरक बनेका पहाड र अग्लिएका हिमालले नेपाल भौगर्भिक अध्येताका लागि अध्ययन गर्ने प्रयोगशाला बनेको छ।
सगरमाथाको उचाइ बढ्नु सामान्य विषय नभएको भूगर्भविद्हरुको तर्क छ। यसले नेपालका हिमाल र पहाडको विकासक्रम प्रस्ट रुपमा झल्काएको उनीहरु बताउँछन्। अध्ययनअनुसार नेपालमा अझै केही सय वर्षसम्म हिमाल निरन्तर बढ्ने र यसको विकासक्रम चलिरहनेछ। सगरमाथा अझै अग्लिनेछ।