सुर्खेत– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भगौडाको आरोप लगाएका छन्।
सुर्खेतमा बिहीबार नेकपा दाहाल–नेपाल समूहको सभालाई सम्बोधन गर्दै नेपालले ओली २०२८ सालको झापा आन्दोलन छोडेर भागेको बताएका हुन्।
उनले भने, ‘केपी ओली ०२८ सालमा झापा आन्दोलनबाट भागेर काठमाडौं आएका थिए, मैंले उनलाई दुई महिना डेरामा राखेको हुँ।’
नेपालले केपी शर्मा ओली कम्युनिस्ट नेता नभएर भगौडा मात्रै भएको बताएका हुन्।
ओलीले प्रतिनिधिसभा विघटन गरेर संविधान र संघीयतामाथि ‘कू’ गरेको पनि नेपालले आरोप लगाएका छन्।
उनले भने, ‘ओलीले गणतन्त्र, संघीयता र लोकतन्त्रलाई संकटमा पार्ने काम गरे।’
ओली कम्युनिस्टको आवरणमा तानाशाह बन्न खोजेको नेपालले बताएका छन्।
ओलीले सत्तामा बसिरहन गुट चलाएको, मन्त्री र केन्द्रीय सदस्य पद बाँडेको, शक्ताको दुरुपयोग गरेको पनि नेपालले बताएका छन्।