पर्सा– पर्सामा पाँच किलो चरेससहित दुई जना पक्राउ परेका छन्। सखुवा प्रसौनी गाउँपालिका–२ श्रीपुर पचगावाँबाट लागूऔषध पाँच केजी चरेससहित उनीहरु पक्राउ गरेका हुन्।
पक्राउ पर्नेमा पर्सागढी नगरपालिका–९ एकटांगाका भीम यादव र घनश्याम यादव रहेको प्रहरीले जनाएको छ।
उनीहरु मकवानपुरमा उत्पादित चरेस भारतीय नम्बरको मोटरसाइकलमा दक्षिणतर्फ जाँदै गरेको अवस्थामा पक्राउ परेका थिए।
पक्राउ परेका अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख गंगा पन्तले बताइन्।
बरामद चरेस हेटौंडा, अमलेखगन्ज, सिमरा, जितपुर भएर चल्ने यात्रुवाहक बस, मालवाहक गाडी र अन्य साना सवारीसाधनमा लुकाई–छिपाई लगिएको प्रहरी स्रोतले जनाएको छ।
सोही ठाउँबाट पर्साको जनता सडक हुँदै पर्साको पर्सागढी हरपुर, एकटांगा, बडेर्वा, मनवा, सखुवाप्रसौनी गाउँपालिकाको दोहरी, खजुरिया, सथवल, सिरही, सखवनिया, पटेर्वासुगौली गाउँपालिकाको रंगपुर, सोनवर्षा, बैरिया, कञ्चनपुर, गदियानी, मलाहीटोल देकुली, पटेर्वा, उतरसुगौली र देवरिया मोडटोल हुँदै कारोवारीले रातको समयमा भारततर्फ कटाउने गरेको स्थानीयले बताएका छन् ।